नेपाली भू-भाग सट्टापट्टाबारे अरुले नै निर्णय गराएका छन्, प्रमाण देखाउन सक्छु : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा आफूले कुनै पनि एजेण्डामा सट्टापट्टा नगरेको बताएका छन् । बुधबार राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री 'प्रचण्ड'ले कालापानी,लिपुलेक र लिम्पियाधुरालाई जोडेर सट्टापट्टाको कुरा उठेपनि त्यो सत्य नभएको दावी गरे।
नेपाल र भारतबीच राम्रो विश्वासको वातावरण बनाएर मात्र कालापानी,लिपुलेक र लिम्पियाधुराको विवाद हल गर्न सकिने प्रचण्डको भनाइ छ ।
प्रचण्डले भने,‘साथीहरूले सट्टापट्टाको कुरा गर्नुभएको छ । मैले भनेको नै होइन,मैले अहिले प्रमाण ठ्याक्कै देखाउन त सकिन । समय सायद आउँछ,मैले प्रमाण पनि देखाउन सक्छु । अहिले जोजो पार्टी नेताहरुले सट्टापट्टा भन्ने शब्द ल्याउनुएको छ । आफै गर्न हुन थिएन भन्नुभएको छ, उहाँहरुले सट्टापट्टाको कुरा निर्णय गराउनुभएको छ । कुनै दिन समय आउँला ।’
कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको र यो समस्या छिटो हल गर्नुपर्छ भनेर आफूले विषय उठाएको बताए । नेपालको राष्ट्रिय हितका पक्षमा र नेपाली जनताको बृहत्तर विकास र समृद्धिको निम्ति विवेकले भ्याएको जति काम गरेको उनको भनाइ छ।