रामेछापमा म्याद गुज्रेका सामग्री जफत गरी नष्ट
रामेछाप : रामेछापको सदरमुकाम मन्थलीमा म्याद गुज्रेका सामग्री जफत गरी नष्ट गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेको संयोजकत्वमा संयुक्त अनुगमन टोलीले बजार अनुगमन गर्दा म्याद गुज्रेका र खान अयोग्य रहेका सामान बरामद गरी नष्ट गराइएको हो।
तीन वटा समूहमा अनुगमनमा खटिएको टोलीले खाद्यान्न, हार्डवेयर र कस्मेटिक पसलमा अनुगमन गरेको थियो। जसमध्ये खाद्यान्नका १५, वटा हार्डवेयर ११ वटा र कस्मेटिक्स ३५ वटा पसलमा अनुगमन गरेको सहाय प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।
अनुगमनका क्रममा म्याद नाघेका, कागजात नभएका र उद्देश्य भन्दा फरक व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई जरिवाना समेत गराइएको घिमिरेले बताए।
अनुगमनका उपभोक्ता हित विपरीत सामान बिक्री वितरण गरेका १९ जना व्यवसायीलाई २ लाख ५६ हजार जरिवाना समेत तिराइएको घिमिरेले जानकारी दिए।