काभ्रेमा वृत्त मार्गनिर्देशन तथा दुई दिन रोजगार मेला हुँदै
काभ्रे : जिल्लाको बनेपामा पहिलो पटक वृत्त मार्गनिर्देशन तथा रोजगार मेला हुने भएको छ। पनौती नगरपालिका र बनेपा नगरपालिकाको संयुक्त आयोजनामा यही जेठ २६ र २७ गते बनेपामा रोजगार मेला हुने भएको हो।
बिहीबार बनेपा नगरपालिकामा वृत्त मार्गनिर्देशन तथा रोजगार मेला बारे पत्रकार सम्मेलन गर्दै रोजगारको खोजीमा रहेका युवाहरू, विद्यार्थीहरूलाई उनीहरूको वृत्ति मार्गनिर्देशन गर्ने तथा उनीहरूको भेट रोजगारदाता र सेवा प्रदान गर्ने सरकारी गैह्र सरकारी निकायहरूसँग जोड्नका लागि मेला आयोजना गर्न लागेको बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले जानकारी दिए।
मेलाले रोजगार खोज्ने र रोजगार दिनेहरूलाई एकै स्थानमा ल्याई युवाहरू बीच पुलको काम गर्ने भएकाले धेरै युवाले लाभ लिन सक्ने मेयर शाक्यले जानकारी दिए।
मेलामा प्राविधिक तथा व्यावसायिक तालिम दिने शिक्षालयहरू, काभ्रे उद्योग वाणिज्य संघ, पनौती उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ काभ्रे, होटल महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, कम्प्युटर महासंघ, लगायत अन्य विभिन्न संघ संस्था तथा सरोकारवालाहरूको सहकार्यमा सञ्चालन हुने छ।
मेलाबाट वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी, सीपमूलक तालिम दिने संस्थाहरूको प्रदर्शनी र तालिमबारे जानकारी, रोजगार सम्बन्धी सूचना दिनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क, निःशुल्क सञ्चालन हुने रहेको छ। कार्यस्थलमा आधारित सीपमूलक तालिमहरू सम्बन्धी जानकारी, रोजगारको अवसर प्राप्त गर्न सकिने र स्थानीय उत्पादनहरू प्रदर्शनी जस्ता सेवाहरू प्राप्त हुने आयोजकले जनाएको छ।
मेलामा विभिन्न उद्योग व्यवसायहरूबाट १८ वटा, विभिन्न उद्योग संघ, संस्थाहरू बाट ९ वटा, अटो मोबाइल व्यवसायी तथा संघ, महासंघबाट ३ वटा, घरेलु तथा साना उद्योग, लघु उद्योगहरूबाट ६ वटा, सामाजिक विकास मन्त्रालय/दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो बाट १ वटा, प्राविधिक शिक्षालयहरूबाट ६ वटा, इन्सोरेन्स कम्पनीहरू लगायतका ५ वटा गरी जम्मा ४८ वटा स्टलहरू रहने छ।
मेलामा करिब १० हजारको सहभागिता रहने ३ हजार युवाले वृत्ति परामर्श सेवा लिने अनुमान गरिएको आयोजकले जनाएको छ।