बालगृहकै बालबालिका असुरक्षित
दोलखा : दोलखा सदरमुकाम नजिकै रहेको गौरीशंकर बालगृहको व्यवस्थापनमा सरोकारवाला निकायले चासो नदिँदा समस्या देखिएको छ। विभिन्न कारणले अभिभावकविहीन भएका बालबालिकालाई आश्रय दिन बनेको गौरीशंकर बालगृहमा रहेका बालबालिकालाई उचित स्याहारसुसार र पालनपोषण गर्न नसक्दा समस्या भएको हो।
भीमेश्वर नगरपालिका–५ मा रहेको बालगृहको करिव ७७ रोपनी जग्गा छ। यसमा बनेका ४ वटा भवनहरू जीर्ण भएका छन्। २०७२ सालको भूकम्पले चिराचिरा पारेको भवनको चिसो भुइँमा रात काट्न बाध्य छन् यहाँका बालकहरू। तर, सरोकारवाला निकाय भने बेखबर जस्तै भएको छ। बालबालिकाहरूका लागि न्यानो कपडा, ओड्ने ओछ्याउनेलगायतका सामग्री उपलब्ध गराउन सरकारले कुनै चासो देखाएको छैन।
२७ वर्ष अघि २०५३ सालमा नेपाल बाल संगठनले सञ्चालन गर्ने सहमति अनुसार आधुनिक भवनहरूसहित गौरीशंकर बालगृहको स्थापना गरिएको थियो। तर, अहिले यसको अवस्था राम्रो नहुँदा अन्य निकायको आशा गर्नुपरेको छ। बालगृहमा दोलखा, रामेछाप, हुम्ला, जुम्ला, नुवाकोटलगायतका जिल्लाका २१ जना अभिभावकविहीन बालकहरू यहाँ रहेका छन्। बाल संगठनको मातहतमा रहेको गौरीशंकर बालगृहको भवन भूकम्प गएको ८ वर्ष बितिसक्दा पनि पुनर्निर्माणका लागि केन्द्रीय बाल संगठन तथा अन्य सरकारी निकायबाट पहल हुन नसक्दा बालगृहमा बस्दै आएका बालकहरू चिरा परेको जीर्ण भवनमा जोखिम मोलेर बस्नु परेको नेपाल बाल संगठन दोलखाका सभापति रामप्रसाद सापकोटाले बताए।
असुरक्षाका कारण थप बालकहरू राखिएको छैन। ‘यस्ता अन्य बालिकाहरू आए भने केन्द्रमा पठाउने गरेका छौं। कम्पाउण्ड तारजाली नहुँदा समस्या छ। यतिमात्र होइन खानेपानी र शौचालयको पनि समस्या छ, भौतिक व्यवस्थापनमा देखिएको समस्यासँगै अन्य विभिन्न समस्या छन्’, सापकोटाले भने।
भीमेश्वर नगरपालिकाको सहयोगमा भवनको केही चिरालाई टाल्ने काम भएको थियो। कम्पाउण्ड नहुँदा स्थानीयका चौपाया सरासर भित्र आउछन्। गतवर्ष कम्पाउण्डका लागि प्रदेश सरकारलाई माग गरेपछि १० लाख रुपैयाँ दिएको भए पनि त्यसले अपुग हुने देखिएपछि शौचालय निर्माण गर्न लागिएको सापकोटाले बताए।
‘पूर्णरुपले राज्यले सहयोग गरेको छैन। खानाको लागि सरकारले सहयोग त गरेको छ। तर, उनीहरूको आवश्यकता र मौसमअनुसार बालकहरूलाई न्यानो कपडा र उचित आहारजस्ता आधारभूत आवश्यक्ताका चिजहरू व्यवस्थापन गर्न कठिन भएको छ’, सापकोटाले भने। कार्यलय सहयोगी, भान्से र बालगृह प्रमुख गरी हाल बालगृहमा ३ जना कर्मचारी छन्। गत ५ महिनादेखि उनीहरूले तलब पाएका छैनन्। बालगृहमा रहेका बालकहरू महेन्द्रदय मावि माटीमा पढ्न जान्छन्। ७ वर्षदेखि बालगृहमा बस्दै आएका कुसल फूूयाँल महेन्द्रदय माविमा कक्षा ८ मा अध्ययनरत छन्। ‘७ बजे खाना खाएर स्कुल जानुपर्छ। दिउँसो भोकले पढेको बुझिँदैन। बेलुका आउँदा भोकले हिँड्न गाह्रो हुन्छ’, उनले भने।