चोरी र लुटपाटले त्रसित सौरपानी पुग्यो जिल्लाको सुरक्षा टिम
गोरखा : विगत केही महिनादेखि चोरी र लुटपाटका घटनाले त्रसित बनेको सौरपानी गाउँको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीको टिम त्यसतर्फ पुगेको छ।
जिल्ला सुरक्षा समितिका संयोजक प्रजिअ दिनेशसागर भुसाल, जिल्ला प्रहरी प्रमुख अनुपम श्रेष्ठसहितको टिम बारपाक सुलीकोट-४ सौरपानी पुगेर स्थानीयवासीसँग अन्तरक्रिया गरेका हुन्।
रातदिन चोरी तथा लुटपाट हुने गरेकाले स्थानीयवासी त्रसित भएका र कतिपय बसाइँसमेत सरेको बारे सूचना आएपछि आफूहरू त्यसतर्फ गएर स्थानीयवासीसँग अन्तरक्रिया गरेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए। स्थानीयवासीको मागअनुसार सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए।
बढी संवेदनशील ठाउँहरूको पहिचान गरी जिल्ला प्रहरी कार्यालयले थप सुरक्षा टोली परिचालन गरेको एसपी अनुपम श्रेष्ठले बताए। ‘स्थानीय सौरपानी प्रहरी चौकीमा प्रहरीको जनशक्ति बढाएका छौँ,’ एसपी श्रेष्ठले भने, ‘राति र दिउँसो सादा पोशाकमा हतियारसहितको सुरक्षा टोली परिचालन गरेका छौँ।’ केही व्यक्ति पक्राउ पनि परेको र थप नतिजा छिट्टै देखिने उनले बताए।
वरिपरिकै र चिनजानकै मानिसहरू घटनामा संलग्न रहेको अनुमान गरिएको भनाइ प्रजिअ भुसालको छ। ‘घटनामा संलग्नहरू चिनेकै मानिसहरू हुन् भन्ने अनुमान गरेका छौं’, उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ सो क्षेत्रमा थप सुरक्षाकर्मी खटाएर गस्ती बढाउन निर्देशन दिएको उनले बताए।
चोर र लुटपाटको घटना बढ्न थालेपछि स्थानीयवासी स्वयंले गाउँगस्ती गर्न थालेको उनले बताए। ‘गाउँलेहरू आफै सात/सात जनाको टिम बनाएर गस्ती गर्नुहुँदो रहेछ। हामीले पनि प्रत्येक टिममा तीन जनाका दरले प्रहरी परिचालन गर्न आग्रह गरेका छौँ’, उनले भने।
उक्त टोलीलाई इलाका प्रहरी कार्यालय जौवारीको टोलीले थप मद्दत गर्ने बताइएको छ। गस्तीमा खटिएका प्रहरी टोली स्थानीयसँगै गाउँमै बस्ने व्यवस्था मिलाइएको प्रजिअ भुसालले जानकारी दिए।
गस्तीका लागि आवश्यक सहयोग र समन्वय गरिदिन गाउँपालिकालाई समेत अनुरोध गरिएको उनले बताए। वडा कार्यालयमा भएको छलफलमा स्थानीयवासी, गाउँपालिकाका प्रमुख विष्णु भट्ट, वडाअध्यक्षसहित जिल्ला सुरक्षा समितिले छलफल गरेका हुन्।