राष्ट्रिय कविता प्रतियोगितामा भट्टराई प्रथम
गोरखा : तनहुँमा सम्पन्न राष्ट्रिय कविता प्रतियोगितामा सिराहाका अविनाश भट्टराईले प्रथम स्थान हासिल गरेका छन्।
देश तथा विदेशबाट प्रतियोगितामा सहभागी दुईसय ३७ वटा कवितामध्य भट्टराईको ‘जिन्दगी एउटा पत्रिका हो’ शीर्षकको कविता प्रथम भएको संयोजन तथा मूल्यांकन समितिका संयोजक रमेश पौडेलले जानकारी दिए।
गण्डकी वाङ्मय प्रतिष्ठानले दमौलीमा आयोजना गरेको दोस्रो साहित्य सम्मेलनको पहिलो दिन शुक्रबार पुरस्कृतहरूको नाम घोषणा गरिएको थियो। सो प्रतियोगितामा सङ्खुवासभाका सिजन श्रेष्ठको ‘पहेलो माटो’ शीर्षकको कविता द्वितीय र झापाका केशव भट्टराईको ‘अपेक्षा’ शीर्षकको कविता तृतीय भएको पौडेलले जानकारी दिए्।
त्यस्तै रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, मोरङका पूजा आराधना, तनहूँका प्रकाश रम्घाली, गोरखाका भरतबाबु ढकाल र सिन्धुपाल्चोकका सुन्दर शिरिषले सान्त्वना पुरस्कार प्राप्त गरेका संयोजक पौडेलले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुनेले ५५ हजार पुरस्कार प्राप्त गरेका छन् भने, द्वितीय हुनेले ४० हजार, तृतीय हुनेले २५ हजार र सान्त्वना हुनेले जनही १० हजार रुपैयाँ पुरस्कार पाएका छन्। उनीहरूलाई शनिबार दोस्रो दिन प्रमुख अतिथि सरुभक्ताले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ।
कविता प्रतियोगितामा कविहरू श्रवण मुकारुङ, भूपिन खड्का र प्रभा भट्टराईले मूल्यांकन गरेका थिए। साथै पहिलो दिन शुक्रबार कास्कीका नारायणप्रसाद गौतमलाई गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिएको थियो।
गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष सागर उदासको अध्यक्षतामा सम्पन्न सो सम्मेलनमा प्रतियोगितामा सहभागी २३७ कवितामध्ये उत्कृष्ठ ६५ वटा कविता समेटेर प्रकाशन गरिएको स्मारिका पनि शुक्रबार विमोचन गरिएको थियो।