गर्मीले धानका ब्याड चिरैचिरा
परासी : खडेरीका कारण नवलपरासीका किसानहरूले लगाएको धान बिउ सुक्न थालेका छन्। अत्यधिक गर्मीसँगै परेको खडेरीले किसानहरूले राखेको धानको ब्याड चिराचिरा पर्न थालेका छन्। यसले किसानहरूलाई चिन्तित बनाएको छ।
पानी नपरे पनि जिल्लाका अधिकांश किसानहरूले धानको बिउ राखिसकेको कृषि ज्ञान केन्द्र परासीका प्रमुख सन्तोष चौधरीले बताए। पानी नपरेर चिन्तित बनेका किसानहरूले पम्पसेटबाट सिँचाइ गरेर धानको बिउ राखेका हुन्। पानी नपरेकाले केही किसानहरूले ब्याडमा पम्पसेटबाटै पानी लगाएका छन्।
तर गर्मीसँगै परेको खडेरीले चापाकालहरू समेत सुक्न थालेपछि ब्याडमा पानी राख्नसमेत समस्या भएको चौधरीले बताए। ‘अधिकांश किसानहरूले पम्पसेटबाटै सिँचाइ गर्दै आएका छन्। अहिले ५० प्रतिशतभन्दा बढी चापाकलमा पानी सुकिसक्यो। जसले गर्दा पम्पसेटबाट पनि सिँचाइ गर्न नपाउँदा ब्याड चिराचिरा पर्न थालेका छन्,’ चौधरीले भने।
पाँच दिनदेखि परासी क्षेत्रको तापक्रम ४२ देखि ४३ डिग्रीसम्म पुगेको छ। जिल्लाको कुल ४१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २१ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती हुँदै आएको छ। विगतका वर्षहरूमा सामान्य पानी परेपछि जेठको अन्तिम साताबाट धान रोपाई सुरु हुने गरेको थियो।
तर अहिले पानी पर्ने सम्भावना नदेखिएकाले यसवर्ष उक्त समयमा रोपाई सुरु हुन नसक्ने र धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।