रैथाने बाली पछ्याउँदै मुस्ताङका किसान
जोमसोम : हिमाली जिल्ला मुस्ताङमा सदियौंदेखि घरायसी प्रयोजनका लागि रैथाने बालीको खेतीपाती गर्दै आइरहेका कृषक पछिल्लो समय व्यावसायिक बन्न थालेका छन्। पछिल्लो समय सडक यातायातको सहजतासँगै पर्यटकीय जिल्लाको रूपमा स्थापित हुन थालेपछि जिल्लाका कृषकहरू रैथाने बालीप्रति थप आकर्षित हुन थालेका हुन्।
अहिले मुस्ताङका कृषकहरूलाई रैथाने बाली जौ थन्क्याउन भ्याइनभ्याइँ छ। यहाँका कृषकले रैथाने बाली जौ थन्क्याइसकेको १५ दिनपछि असारमा फेरि रैथाने बाली उवा थन्क्याउन जुट्छन्। यहाँ उत्पादन हुने रैथाने बाली उवा, जौ, फापर, सिमी र लसुन आदिको जिल्लामा सहजै बिक्री वितरण हुन्छ। त्यसैले कृषकहरूले रैथाने बाली संरक्षण र उत्पादनमा जोड दिएका हुन्। यहाँका कृषकले रैथाने बाली उवा, जौ, फापर आदिको विभिन्न परिकार बनाएर पनि बिक्री गर्छन्। कतिपयले कोसेली घरमा प्याकेजिङ गरी बिक्री गर्छन्। रैथाने बालीको खेती प्रणाली बढी परिश्रम र भन्झटिलो भए पनि श्रमअनुसारको मूल्य पाउन थालेपछि जिल्लाका कृषकहरूले रैथाने बाली विस्तार तथा खेतीलाई निरन्तरता दिइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले बताए।
रैथाने बालीको सम्भावना नहुँदा मुस्ताङका कृषकले व्यक्तिगत र घरायसी खर्चको जोहो गर्न रैथानी बाली लगाउने गर्थे। यसरी लगाइएको रैथाने उत्पादनको घरेलु मदिरा, सातु बनाउन र ढिँडो खानका लागि प्रयोग गरिन्थ्यो। अहिले पनि यहाँका कृषकले मदिरामै उवा र जौ प्रयोग गर्छन्। यसको प्रशोधन र थप बजारीकरण गर्न सकिएमा रैथाने बाली विस्तार र प्रवद्र्धन हुने विश्वास गरिएको छ। वैज्ञानिक र आधुनिक प्रकारको खेती प्रणालीको माध्यमबाट कृषि कर्म गर्न सहज बन्दै जान थालेपछि पछिल्लो समय कृषकहरूले रैथाने बाली संरक्षण र उत्पादनमा जोड दिन थालेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। केन्द्रले रैथाने बाली संरक्षण तथा विस्तार गर्दै कृषकहरूलाई उत्प्रेरित गराउन बजार प्रवद्र्धन, प्रशोधन र बाली थन्क्याउन चाहिने उपकरण उपलब्ध गराउँदै आइरहेको छ।
मुस्ताङका कृषकहरूले स्याउ बगैंचाभित्र रैथाने बाली लगाएर दोहोरो मुनाफा लिने गरेको पाइएको छ। स्याउको बोटलाई असर नपर्ने गरी खाली भागमा उवा, फापर, जौ, आलु, सिमी, भोटे लसुन र अन्य मौसमअनुसारको हरियो सागसब्जी लगाउने गर्छन्।
यहाँका रैथाने बाली उत्पादन मुस्ताङकै ब्रान्डका रूपमा परिचित छ। उवा र जौ एक रैथाने प्रजाति हो। उवा बालीलाई स्थानीय भाषामा करुने र अंग्रेजी भाषामा नेक्ड बार्ली भनिन्छ। समुद्री सतहको १९८४ मिटरको उचाइदेखि ३८ सय मिटर उचाइको जमिनमा उवा खेती गरिन्छ। उवा र जौ खेती मुस्ताङको घाँसादेखि उपल्लो मुस्ताङमा पनि गरिन्छ। मध्य र तल्लो मुस्ताङमा मंसिर महिनाको अन्तिमदेखि पुस महिनासम्म र उपल्लो मुस्ताङमा चैत्र र वैशाख महिनामा खेतबारीमा छर्ने गरिन्छ। यसरी भूगोलअनुसार फरक–फरक समयमा लगाइने जौ खेती जेठको अन्तिम र उवा असारको दोस्रो हप्तामा थन्क्याउने गरिन्छ। उपल्लो मुस्ताङमा असोजमा थन्क्याइन्छ। यसको दानालाई भुटेर पिठो बनाउने तथा रक्सी तथा जाँड बनाउन पनि प्रयोग गरिन्छ।
रैथाने बाली उवा र जौ अन्य खेतीभन्दा केही बढी झन्झटिलो भएको घरपझोङ—३ स्याङका कृषक रोशन थकालीले बताए। उनले बर्सेनि उवा र जौ बाली मंसिर र पुस महिनामा लगाएर जेठ असारमा पाक्ने बताए। उनका अनुसार कृषकले स्याउ बोट भित्र पनि यो बाली लगाउन मिल्ने भएकाले कृषकलाई दोहोरो फाइदा हुने गरेको उनको भनाइ छ। यहाँका कृषक अझै प्रविधिमा रूपान्तरण हुन सकेका छैन, परम्परागत शैलीमा उवा, जौ काट्ने र केस्रा छुट्याउने गर्छन्, यो प्रविधि झन्झिटिलो छ,’ कृषक थकालीले भने, केही ठाउँमा उवा र जौको केस्रा छुट्ट्याउने मेसिन आएको छ, अब बाली काट्नेदेखि थन्क्याउने सबै काम प्रविधिबाटै भएमा कृषकलाई सहज हुन्छ।’ उनले खेतबाट उवा र जौ काटेपछि २÷४ दिनसम्म घाममा सुकाउनु पर्ने बताए।
यसैगरी रैथाने बालीअन्तर्गत मुस्ताङमा मिठे फापर र तिते फापर लगाउने प्रचलन छ। यो खेती समुद्री सतहदेखि १९८४ मिटरदेखि ३९ सय मिटरको उचाइसम्म हुन्छ। फापर तल्लो मुस्ताङमा उवा र जौ थन्क्याएपछि असार र साउन महिनामा रोपेर असोज÷कात्तिकमा भिœयाइने गरिन्छ। उपल्लो मुस्ताङमा वैशाखमा रोपेर कात्तिक महिनामा भिœयाइन्छ। यसको दाना हलुका कालो रङको हुन्छ। फापरको केस्रा पिसेर पिठो बनाइन्छ। यसको पिठो ढिँडो र रोटीमा प्रयोग हुन्छ। यसका अतिरिक्त रैथाने सिमी पनि २ हजारदेखि ३ हजार मिटरको उचाइमा हुन्छ। सिमी घरपझोङ गाउँपालिकामा जेठको अन्तिममा र बारागुङ मुक्ति क्षेत्र र थासाङ गाउँपालिकामा वैशाखमा लगाएर भदौदेखि असोजसम्ममा थन्क्याइन्छ। मुस्ताङी भोटे लसुन पनि २ हजारदेखि ३५ सय मिटरको उचाइमा हुन्छ। लसुन मंसिरमा लगाएर जेठमा भिœयाइन्छ।
यस्तै रैथाने बालीअन्तर्गत नपर्ने भए पनि मुस्ताङी आलु सहर बजारका पारखीले औधी रुचाउँछन्। यो बाली पनि २ हजारदेखि ४ हजार मिटरको उचाइमा लगाइन्छ। मुस्ताङी सेतो आलु यहाँको लोकल आलु हो।
कृषि ज्ञान केन्द्र मुस्ताङको आर्थिक वर्ष २०७८÷०७९ को तथ्यांकअनुसार हिमाली जिल्ला मुस्ताङको १०५ हेक्टर क्षेत्रफलमा लगाइएको जौ खेतीबाट १९६ मेट्रिकटन जौ उत्पादन भएको थियो। १५० हेक्टर जमिनमा लगाइएको उवा खेतीबाट ३ सय मेट्रिकटन उवा उत्पादन भएको थियो।
यसैगरी ३०६ हेक्टर जमिनमा लगाएको आलु खेतीबाट ९१३८ मेट्रिकटन आलु उत्पादन भएको थियो भने ८० हेक्टर जमिनमा १२४ मेट्रिकटन सिमी उत्पादन भएको थियो। लसुन ११६ हेक्टर जमिनमा लगाउँदा ११७ मेट्रिकटन उत्पादन भएको थियो।