मौरीको घारमा नि महको चाका,
कोरली गाईको नौनी है घिउ,
फिलुंगे पेले नि तेलको धारो,
तसला भरियो मेरी आमै, तसला भरियो।
गोडैमा लगाउन पठाउनु पर्ने,
तेलैको गरियो मेरी आमै, तेलैको गरियो।
खुदो र सक्खर घुमाको रोटी,
थुन्सेमा भरेर मेरी आमै, थुन्सेमा भरेर।
पठाउन लागेको यो कान्छी छोरी,
साइत हेरेर मेरी आमै, साइत हेरेर।
ढाकरै माथि नि कोसेली पात,
बोकेर कान्छा दाइ मेरी आमै, बोकेर कान्छा दाइ।
शुभसाइत गरेर बाटो है लागे,
मैतालु अघि लाई मेरी आमै, मैतालु अघि लाई।
बाटो छ लामो नि चर्किन्छ घाम,
शीतलमा बसेर मेरी आमै, शीतलमा बसेर।
सुस्तरी हिँडे पुगिन्न कान्छी,
लौ भयो अबेर मेरी आमै, लौ भयो अबेर।