मैले देख्न चाहेको सपना,
मैले लेख्न चाहेको जीवन
मैले मैमाथि प्रहार गर्न सक्नुपर्छ
आफैंमाथि निर्मम बन्न सक्नुपर्छ।
प्रकृति त सधैं बदलिइरहेकै छ
आउँछ जान्छ,
कसैलाई घात गर्दैन प्रकृतिले
स्वार्थका लागि देशलाई लात
मार्दैन प्रकृतिले
तर म भने तुच्छ आदत उही
चेतना खुल्न नसकेको लालच उही
परिवारबाहिर जान नसकेको
जडता उही।
यो अन्धकार र मूढता छोड्ने हो भने
समाजको उज्यालो रूपरेखा कोर्ने हो भने
धनुषबाण आफैंतिर सोझ्याउनु छ मैले
आऊ मेरो अर्जुनदृष्टि म आफैंतिर
एउटा बाण मेरो निरीहतामाथि चलाउनु छ मैले।
जसले देश जलाउनेअघि
कति बोल्दिनँ म
अर्को बाण मेरो लोभमा प्रहार
गर्नुछ मैले
जसले देशलाई ब्रिफकेसमा बाँढ्दा निरीह बन्छु म
अर्को बाण मेरो जडतामा हान्नु छ मैले
जसले मेरो विशाल आकाशलाई ड्याम्म ढाकिदिएर
सुँगुरको खोरमा पैसाको गड्डी सोहोर्ने
जडताले जकडेको छ मलाई।
मेरो विवेक, मेरो चेतना, मेरो होस
प्रेम र मैत्रीलाई क्वाप्प खाई मलाई मुर्दा बनाउने
जडतामाथि निशाना लगाउनुछ मैले
यसैले नयाँ वर्षमा मेरो मार्गदर्शक स्वयं बन्नु छ
मेरा सारा मैला पखाल्ने शिवको जटाबाट
निस्कने जल स्वयं बन्नु छ
यथार्थमा धनुषबाणको निशाना लगाउनु छ
म स्वयंमाथि।