विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री

काभ्रे : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन्।
आइतबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त (दोस्रो चरण) समारोहमा बोल्दै प्रधानमन्त्रीले विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताएका हुन्।
दीक्षान्त समारोहमा प्रधानमन्त्रीले भने, 'हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ। खासगरी विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ। स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने हुन्छ। अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधन र स्रोतको सही सदुपयोग हुँदैन।'
सरकारले पनि विश्वविद्यालय तहको अध्ययन र अनुसन्धानलाई सवल बनाउन सरकारका अनुसन्धान सम्बन्धी कार्यहरू विश्वविद्यालयहरूबाट गराउने निर्णय गरिसकेको हुनाले प्राध्यापकहरूमा राज्यका लागि योगदान गर्ने प्रत्यक्ष अवसर मिल्ने आशा लिएको बताए।
विदेश पलायन हुने युवा र विदेशी मुद्रालाई केही हदसम्म भए पनि रोक्न प्रशंसनीय योगदान गरेको विश्वविद्यालयले आफ्ना क्षमतावान् अब्बल स्नातकहरूलाई प्रारम्भिक रोजगारीसमेत दिने प्रस्तावना गरेको र यसलाई सरकारले अत्यन्त सकारात्मक कदमका रूपमा लिएको बताए।
काठमाडौं विश्वविद्यालयले आफ्नो स्थापनाको ३२ वर्षमा विभिन्न संकायमा ४१ हजारभन्दा बढी जनशक्ति उत्पादन गरेको छ।
प्रतिक्रिया दिनुहोस !
