फरक क्षमता भएकालाई सहायक सामग्री
नुवाकोट : जिल्लाको किस्पाङ गाउँपालिकाले फरक क्षमता भएकाहरूलाई पुनःस्थापना कार्यक्रम सञ्चालन गरेको छ।
जीविकोपार्जनका लागि सहायक सामग्रीका साथै शैक्षिक सामग्रीहरू प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत महाप्रसाद दंगालको भनाइ छ।
उनका अनुसार समुदायमा आधारित पुनःस्थापना कार्यक्रम अन्तर्गत १५ जनालाई सेतो छडी, व्हिलचियर, वैशाखी र १० जनालाई एक/एक वटा बाख्रा र ६ जनालाई शैक्षिक सामग्री प्रदान गरिएको छ।
सामग्री वितरण गर्दै गाउँपालिकाको उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले यसबाट फरक क्षमता भएकाहरूको जीवन सञ्चालन गर्न सहयोग पुगेको र कार्यक्रमलाई निरन्तरता दिइने बताए।