बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित भए : मुख्यमन्त्री शर्मा
वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित भएको बताएका छन्। नागरिक लगानी कोषको कर्णालीमा स्थापना भएको शाखा उद्घाटन मुख्यमन्त्री शर्माले यस्तो बताएका हुन्।
उनले बैक तथा वित्तीय संस्थाहरू निश्चित घराना, भुगोल र सहर केन्द्रित भएका कारण ग्रामीण अर्थतन्त्रको विकासमा चुनौती थपिएको बताए। उनले भने, 'हाम्रा प्राकृतिक श्रोत साधनको परिचालन, स्थानीय उत्पादन वृद्धि गर्नका लागि बैक तथा वित्तीय संस्थाहरू ग्रामीण स्तरसम्म पुग्नुपर्ने थियो। तर त्यसो भएको छैन। लगानी भएपनि उत्पादन भन्दा बाहिर भएका कारण ग्रामीण अर्थतन्त्र खस्किँदो अवस्थामा छ। बैंक तथा वित्तीय संस्थाहरूले हाम्रा लगानीका क्षेत्रहरू चिन्न सकेका छैनन्। नागरिक र राज्यको लगानी सुरक्षित गर्ने र सहि ठाउँमा लगानी गरेर उत्पादन वृद्धि गर्ने तिर नागरिक लगानी कोष लाग्नुपर्छ।'
उनले प्रदेश सरकारले समृद्धि कर्णाली अभियान थालेर वर्षमा १० हजार बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ आफ्ना नीति तथा कार्यक्रमहरू अगाडि बढाइरहेको बताउँदै त्यसमा पनि कोषको सहयोगको खाँचो रहेको बताए। उनले भने, 'समृद्धिको अभियानमा सबै सरोकारवाला निकायहरू एकताबद्ध भएर लागौँ। ग्रामीण उत्पादनहरू वृद्धि गरी बेरोजगार समस्या समाधान गरी मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गर्नुछ। कर्णालीका धेरै प्राकृतिक श्रोत र साधनहरूको सदुपयोग भएको छैन। त्यस तर्फ प्रदेश सरकार लागिरहेको छ।'
नागरिक लगानी कोषका अध्यक्ष सूर्यबहादुर थापाले नागरिक लगानी कोषले सरकारी जागिर, निजी क्षेत्रमा काम गर्ने र विदेशमा रहेका समेतको बचतलाई प्राथमिकता दिएर आर्थिक जोखिम व्यवस्थापनमा सहयोग गरिरहेको बताए।
उनले अब नागरिक लगानी कोषसँग सम्बन्धित कामका लागि कोही कसैले पनि केन्द्रीय राजधानी पुग्नुपर्ने समस्याको समाधान भएको पनि बताए।