कृषि उद्यमी र किसानलाई प्रोत्साहित गर्न बैंकहरूलाई गर्भनर अधिकारीको निर्देशन
वीरगन्ज : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी कृषि उद्यमी र व्यावसायिक किसानलाई प्रोत्साहित गर्न बैंकर्सहरूलाई निर्देशन दिएका छन्।
सोमबार वीरगन्जमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी कृषि उद्यमी र किसान अगुवाहरूले बैंकहरूले कृषिजन्य उद्योग र व्यावसायिक कृषि कार्यकालागि ऋण लगानी गर्न आनाकानी गर्ने गरेको गुनासो गरेका थिए।
उनीहरूको गुनासो सुनेपछि कार्यक्रममा सहभागी बैंकर्सहरूलाई निर्देशन दिँदै गर्भनर अधिकारीले यस्तो निर्देशन दिएका हुन्। गर्भनर अधिकारीले कृषि उद्यमी र व्यवसायिक कृषि गरिरहेका किसानलाई प्रोत्साहित गर्ने नीति राष्ट्र बैंकका साथै सरकारको पनि रहेको बताए।
बैंकबाट कृषि कर्मका लागि ऋण लिन केही अप्ठ्याराहरू अझैपनि रहेको गुनासो आइरहेकाले त्यसप्रति ध्यान दिन उनले बैंकर्सहरूलाइ निर्देशन दिए।
यद्यपि कृषि सहुलियतको ऋण दुरुपयोग हुन नदिनका लागि नेपाल राष्ट्र बैंकले केही कडाइसहितको नीति नियम बनाएको उनले स्पष्ट पारे।
तर कृषि कर्मका लागि लिएको सहुलियतको ऋण अन्य प्रायोजनमा लगानी गरिएको पाइए त्यो राष्ट्र बैंकलाई सह्य नहुने चेतावनी पनि उनले दिए। सहुलियतको कृषि ऋणको दुरुपयोग नहोस् भन्नका लागि राष्ट्र बैंकले केहि कडा नीति बनाएको उनले प्रष्ट पारे।
अधिकारीले पनि बैंकहरूको सेवा अहिलेपनि सोचेअनुसारको सहज र सरल हुन नसकेको स्वीकारे। उनले भने,‘ व्यापक सुधारको आवश्यकता छ, त्यसमापनि मधेस प्रदेशमा बढी समस्या छ, हाम्रो उद्देश्य भनेको बैंकसम्म ग्राहकको पहुचँ सरल र सिधा हुनुपर्छ, बिचौलिया मार्फत हुनु हुँदैन , यसबारे बैंकर्सहरूले पनि ध्यान दिनुपर्छ।'
कार्यक्रममा वीरगन्ज क्षेत्रमा कृषिजन्य उद्योग र फार्म सन्चालन गरेका तथा व्यावसायिक कृषि कर्म गर्दै आएका किसानहरूले बैंकहरूले कृषि क्षेत्रमा लगानी गर्न आनाकानी गर्दै आएको भन्दै गर्भनर अधिकारीको ध्यानाकर्षण गराएका थिए।
उनीहरूले बैंकहरूले कृषिमा ऋण लगानी गर्नै नचाहने र ऋण दिएपनि आवश्यकता भन्दा निक्कै थोरै दिने गरेको लगायतका गुनासा गरेका थिए।
ऋण लगानीका लागि बैंकहरूको प्रक्रिया पनि झन्झटिलो रहेको उनीहरूको दुखेसो थियो। साथै उनीहरूले कृषिजन्य उद्योग र कृषि कर्मका लागि बैंकहरूले लगानी गर्ने ऋणमा थप सहुलियत उपलब्ध गराउनुपर्ने माग पनि गरे।