मटिहानी नगरपालिकाले खुलायो जग्गाको कित्ताकाट
ढल्केवर : महोत्तरीको मटिहानी नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल सोमबार एक कार्यक्रमका बीच भू-उपयोगक्षेत्र वर्गीकरणको कार्य सम्पन्नको सार्वजनिकीकरण गरेसँगै कित्ताकाट खुलेको हो ।
भू-उपयोग नियमावली २०७९ को नियम ५ उपनियम ९१० ले दिएको अधिकार प्रयोग गरी पालिकाको स्थानीय भू-उपयोग परिषद्ले क्षेत्राधिकार भित्रको जग्गाको भू-उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरेको मटिहानी नगरपालिकाका इन्जीनियर विमलेश साहले बताए ।
मटिहानी नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि क्षेत्रतर्फ १६८६.७१८ हेक्टर, व्यवसायिक क्षेत्रतर्फ १७.६२८ हेक्टर, साँस्कृतिक क्षेत्रतर्फ २.४०० हेक्टर, नदीजन्यरपोखरी क्षेत्रतर्फ ६४.७७६ हेक्टर, औद्योगिक क्षेत्रतर्फ २६.८४२ हेकटर, सार्वजनिक क्षेत्रतर्फ ६५.६९४ हेक्टर र आवासीय क्षेत्रतर्फ १०५४.७७४ हेक्टर जग्गा वर्गीकरण गरेको छ ।
मटिहानी नगरपालिकाले वर्गीकरण गरेको जग्गाहरु जम्मा ३४ हजार ३ सय ९७ कित्ता रहेको र मंगलबारदेखि सबै जग्गाको कित्ताकाट खुल्ला भएको जानकारी गराइएको छ ।