धनगढी उपमहानगरपालिकामा सेवाग्राहीका लागि खानेपानी, टिभी र फ्रि वाईफाई
धनगढी : धनगढी उपमहानगरपालिकामा सेवाग्राहीका लागि खानेपानी, टिभी र फ्रि वाइफाई गरिएको छ। महानगरपालिकाले स्थापना गरेको सेवाग्राही कक्षको सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका छन्।
सेवाग्राही कक्षमा दुई वटा एसी र ६ वटा पंखा जडान गरिएका छन्। बस्नका लागि सोफा, चिसो र तातोपानीको व्यवस्था गरिएको छ। ६४ इञ्चको टिभी र कक्षभित्रै डिजिटल नागरिक वडापत्र पनि राखिएको छ।
उपमहानगरपालिकाको २२ लाख ५१ हजार तीन सय ६१ रुपैयाँको लागतमा निर्माण गरिएको प्रतिक्षालयमा पानी, डिजिटल नागरिक वडापत्र, एसी, टेलिभिजन र निःशुल्क वाईफाईको व्यवस्था पनि गरिएको छ।
उपमहानगरले निर्माण गरी सञ्चालनमा ल्याएको सेवाग्राही कक्ष प्रशंसनीय रहेको मुख्यमन्त्री शाहको भनाइ छ। उनले सेवाग्राही प्रतिक्षालयबाट सेवाका बारेमा जानकारी लिन सक्ने बताए। धनगढी उपमहानगरपालिकासँग सहकार्य गरेर विकास निर्माण गर्ने उनले बताए।
नगरप्रमुख गोपाल हमालले चालू आर्थिक वर्षको बजेटबाट प्रतिक्षालय निर्माण गरिएको बताए। उनले धनगढी उपमहानगरपालिकाले प्रदेशका अन्य स्थानीय तहहरूलाई पनि सन्देश दिन चाहेको नगरप्रमुख हमालले बताए।