सभापतिले नेतृत्व हस्तान्तरण गरेर पार्टीबाट प्रधानमन्त्री बन्नेलाई मार्ग प्रशस्त गरिदिनुपर्छ : गगन थापा

सभापतिले नेतृत्व हस्तान्तरण गरेर पार्टीबाट प्रधानमन्त्री बन्नेलाई मार्ग प्रशस्त गरिदिनुपर्छ : गगन थापा
विराटनगर विमानस्थलमा कांग्रेस महामन्त्री गगन थापा।

विराटनगर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरणका लागि सकारात्मक बन्न सुझाव दिएका छन्।

देउवाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नुपर्ने उनको आशय छ। विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै थापाले कांग्रेस पार्टीले नयाँ नेतृत्व खोजिरहेको उल्लेख गरे। अर्कोतर्फ कांग्रेसबाट नयाँ व्यक्ति प्रधानमन्त्री होउन् भन्ने चाहना जनताको रहेको उनले बताए। 

‘पार्टीले नयाँ नेतृत्व खोजेको छ,’ उनले भने, ‘जनताले कांग्रेसबाट नयाँ व्यक्ति प्रधानमन्त्री होउन् भन्ने चाहेका छन्।’ पार्टी र जनताको चाहना अनुसार नेतृत्व परिवर्तनका लागि सकारात्मक हुन देउवालाई थापाको आग्रह छ। 

नेतृत्व हस्तान्तरण गर्न देउवा तयार हुनुपर्ने चाहना आफूले पनि राखेको थापा बताउँछन्। ‘पार्टी सभापति बनेर उहाँ (देउवा)ले अहिलेसम्म जेजति गर्नु भयो। ठूलो योगदान पुर्‍याउनु भयो,’ उनले भने, ‘यसप्रति हामी आभारी छौँ। तर, कांग्रेसका समर्थक, शुभेच्छुक र जनताको चाहना अनुसार उहाँले नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा उचित हुने देखिन्छ।’ अब मैले नै नेतृत्व गरेर पार्टी सम्हाल्नुपर्छ भन्ने सोचाइबाट देउवा बाहिर निस्कनुपर्नेमा उनको जोड छ। 
जतिसक्दो छिटो नेतृत्व हस्तान्तरण गर्दा देउवा र पार्टीकै हितमा हुने थापाको कथन छ। ‘उहाँले ५ पटक प्रधानमन्त्री बनेर देश र जनताका लागि थुप्रै काम गर्नु भएको छ। उहाँप्रति सम्मान छ,’ थापाले भने, ‘अब देउवाले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पार्टीका तर्फबाट प्रधानमन्त्री बन्नेलाई मार्ग प्रशस्त गर्नुपर्छ। 

पार्टी नेतृत्व र प्रधानमन्त्रीमा जोपनि आउन सक्छन्।’ उनले आफू नै नेतृत्वमा आउनुपर्छ भन्ने नलागेको पनि स्पष्ट पारे। नेतृत्व परिवर्तन भयो भने आजका दिनमा आएका चुनौती पार लगाउन सकिने र नेतृत्व परिवर्तन नभएमा चुनौतीले झन् थिच्ने उनको भनाइ छ। 

‘यात्रामा अगाडि बढ्दै जाँदा नाफा वा घाटाको कुरा छैन। ठीक जुन कुरा लागेको छ, त्यसमा अगाडि बढ्दै जाने हो। कर्म गर्दा फलको आशा गर्ने हैन,’ थापाले भने, ‘मेरा पनि चाहनाहरू छन्। आफ्नो चाहनालाई व्यवहारमा परिणत गर्ने छु। सबैसँग खुला कुराकानी गरेर अघि बढ्ने हो।’ उनले पार्टीभित्र आफ्नो र डाक्टर शेखर कोइरालाको सम्बन्ध झन् प्रगाढ बनेर गएको पनि बताए। 

‘हाम्रो सम्बन्धमा कुनै कमी हुने छैन। बरु पार्टीको १५ औं महाधिवेशनसम्म पुग्दा अरू साथीहरू जोडिन्छन्। भएका छुटिन्नौं,’ उनले भने, ‘तर, पार्टी सभापति देउवा र नेता शेखर नजिक भएको बारेमा मैले धेरै टिप्पणी गर्न मिल्दैन। सभापति ज्यूका सम्बन्धमा मेरो व्यक्तिगत आग्रहपूर्वाग्रह केही छैन। भोलिका दिनमा पनि हुने छैन।’ 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.