कोरला सडकको ७४ करोड बजेट फिर्ता
जोमसोम : राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनालाई चालू आर्थिक वर्ष सडकतर्फ विनियोजन गरिएको १ अर्ब ३३ करोड बजेटमा ७३ करोड ६९ लाख रुपैयाँ बजेट फिर्ता भएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष विनियोजन गरेको सडकतर्फको बजेट रकमान्तर गरेको हो।
सडकतर्फको बजेट आधाभन्दा बढी घटेसँगै आयोजनाको सडकतर्फ चालू वर्षको बजेट ५९ करोड ३१ लाख रुपैयाँमा सीमित भएको हो। जसमध्ये १० करोड रुपैयाँ बजेट अर्थ मन्त्रालयले रोक्का गरिराखेको छ। राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत पछिल्लो समय सडकतर्फ तीन योजना थपिएका थिए। सुरुवाती चरणमा सडक स्तरोन्नति सुरु गरिएको बेनी—जोमसोम सडक ४ खण्ड र जोमसोम—कोरला ७ खण्डमा सडक स्तरोन्नति सुरु गरिएको थियो। बेनी—जोमसोम ७६ किमि सडकको तेस्रो खण्ड कैकु—खन्ती २५ किमि डीबीएसडी कालोपत्रे सडक सम्पन्न भइसकेको छ भने अन्य तीन खण्ड निर्माणाधीन अवस्थामा छन्।
पछिल्ला पटक थपिएको मालढुंगा—बेनी १३ किमि कालोपत्रे सडक, बेनी—गलेश्वर ३ किमि कालोपत्रे सडक र जोमसोम—कागबेनी १३ किमि कालोपत्रे निर्माणाधीन अवस्थामा छन्।
राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजनामा ठेक्का सम्झौता गरी निर्माणको काम ढिलासुस्ती गर्ने निर्माण कम्पनीका कारण बजेट फिर्ता हुन पुगेको आयोजना प्रमुख जगत प्रजापतिले उल्लेख गरे। कोरोना कहरको जोखिम रोकिँदासमेत निर्माण कम्पनीले सडक निर्माणलाई प्राथमिकता नदिँदा बजेट खर्च नसक्दा बजेट फिर्ता गएको उनले बताए।
आयोजनाअन्तर्गत सडकतर्फको बजेट फिर्ता गए पनि पुलतर्फको बजेट यथावत् रहेको आयोजनाका लेखापाल ईश्वर गैरेले जानकारी दिए। चालू वर्ष पुल र पुल पुलेसातर्फ ५ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन भएको लेखापाल गैरेले बताए। उनका अनुसार सडकतर्फको बजेट ५९ करोड ६९ लाख र पुलपुलेसातर्फको बजेट ५ करोड ७६ लाख गरी आयोजनाको चालू वर्षको कुल बजेट ६५ करोड ७ लाख रुपैयाँ रहेको छ।
चालू आर्थिक वर्ष २०७९÷०८० का लागि घटेपछिको बजेटमा आयोजनाले जेठ महिनासम्ममा ५८.५३ प्रतिशत वित्तीय प्रगति भएको लेखापाल गैरैले जानकारी दिए। लेखापाल गैरेका अनुसार सडकतर्फ ३५ करोड र पुलतर्फ २ करोड ९२ लाख गरी ३८ करोड ९ लाख रुपैयाँ बजेट खर्च भएको हो।
राष्ट्रिय गौरवको सडकअन्तर्गत गत वर्षसम्ममा सडक र पुलतर्फ गरी ५ अर्ब ९७ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले बताएको छ। कोरला सडकको हालसम्मको कुल भौतिक प्रगति ७६ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ७० प्रतिशत रहेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईंले जानकारी दिए। उनले आयोजनाअन्तर्गत जोमसोम—कोरला ग्राभेल सडकको ७ खण्डमध्ये ६ खण्ड आयोजनालाई हस्तान्तरण भइसकेको बताए। पुलतर्फ गलेश्वरदेखि कोरलासम्म २० वटा रहेकोमा ६ पुल आयोजनालाई हस्तान्तरण भइसकेका छन् भने आधा दर्जन पुल निर्माणको अन्तिम चरणमा रहेको इन्जिनियर चापागार्इंको भनाइ छ। चालू आर्थिक वर्षमा थासाङ—३ लेतेको सेतुखोला पुलको ठेक्का सम्झौता भई काम अघि बढेको उनले बताए।
आव २०७३÷७४ मा ठेक्का सम्झौता भई सडक स्तरोन्नति सुरु गरिएको उपल्लो मुस्ताङको चराङ—छोसेर ग्राभेल सडक निर्माण कम्पनीका कारण अझै अलपत्र छ। २०७६ सालमै एकै पटक सुरु गरिएको ७ खण्डको सडक निर्माणमध्ये ६ खण्ड हस्तान्तरण भइसक्दा निर्माण कम्पनीको बेवास्ताले चराङ—छोसेर २५ किमि सडक सम्पन्न हुन नसकेको हो। तामाङ गौरी पावती जेभी ठेक्का कन्स्ट्रक्सनले जिम्मा लिएको सो सडकको भौतिक प्रगति ७० प्रतिशत रहँदा सडक अलपत्र पारिएको हो। यसैगरी राष्ट्रिय गौरवको सडकअन्तर्गत जोमसोम—कागबेनी कालोपत्रे सडक पनि निर्माण कम्पनीका कारण ढिलासुस्ती भएको छ। सो सडकको सम्झौता अवधि सकिन चार महिना बाँकी रहँदा हालको भौतिक प्रगति १० प्रतिशत मात्र छ।
आयोजनाले बेनी—जोमसोम सडकको दोस्रो खण्डको घाँसा—काभ्रेभीर ३ किमि सडकमा डीबीएसडी कालोपत्रेकोे काम अघि बढेको जनाइएको छ। यसैगरी म्याग्दी र मुस्ताङको सबैभन्दा जोखिमयुक्त स्थान काभ्रेभीर सडकमा २१ सय मिटर आरसीसी सडक विस्तार गर्नुपर्नेमा ८ सय मिटर आरसीसी भइसकेको जनाएको छ।