क्वारेन्टाइनको भवनमा बोर्ड राखियो
टीकापुर : कैलालीको खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइनको माग गर्दै आन्दोलनमा उत्रिएको टीकापुर उद्योग वाणिज्य संघले सत्तीस्थित क्वारेन्टाइनको कार्यालयमा बोर्ड राखेको छ।
२०५२ सालबाट क्वारेन्टाइन कार्यालय स्थापना भएको सत्तीस्थित भवनमा संघले क्वारेन्टाइन कार्यालयको बोर्ड राखेको हो। २०५२ सालदेखि २०५९ सम्म सञ्चालनमा रहेको क्वारेन्टाइन कार्यालय द्वन्द्वकालमा धनगढी विस्थापित भएको थियो।
टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाले क्वारेन्टाइन पुनःस्थापनाका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिनु परेको बताए।
क्वारेन्टाइन नहुँदा भारतीय सीमावर्ती बजारबाट तरकारी, फलफूल, खाद्यजन्य सामग्री तथा पशुहरू ल्याउन समस्या हुने गरेको छ। यहाँका व्यवसायीहरू क्वारेन्टाइन नहुँदा नेपालगञ्ज र धनगढी जान बाध्य छन्। खाद्यान्नको कारोबार गर्दै आइरहेका राइस मिलका सञ्चालकहरूसमेत महँगो भाडा तिरेर अन्यत्रको भन्सारबाट सामान ल्याउनु परेको बताउँछन्।
मूल भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा लक्ष्य अनुसारको राजश्वसमेत उठ्न नसकेको सत्ती भन्सार कार्यालयले जनाएको छ।