सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्षमाथि बोतल प्रहार
रामेछाप : खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठमाथि बोतल प्रहार भएको छ। पालिकाको आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका सबालको जवाफ दिँदै गरेको अवस्थामा उनीमाथि मिनिरर वाटरको बोतल प्रहार गरिएको हो।
नेपाली का्ग्रेस खाँडादेवी वडा नं ६ का स्थानीय नेता सौरभ केसी र नेपाली कांग्रेस खाँडादेवी गाउँपालिका वडा नं ६ का इकाई सभापति मनोज बुढाथोकीको नेतृत्वमा आएका स्थानीयको समूहले श्रेष्ठमाथि बोतल प्रहार गएका थिए।
सार्वजनिक सुनुवाइमा उठेका सबालको जवाफ दिँदै गरेका श्रेष्ठलाई बोतलले लागेको थियो। बोतल प्रहारबाट अध्यक्ष श्रेष्ठलाई केही नभएको पालिकाले जनाएको छ। पालिका अध्यक्ष श्रेष्ठले पूर्वाग्रह राखेर वडा नं ६ को रातो किताबमा रहेको बजेट कटौती गरेको भन्दै आक्रोशित भएको भिडले अध्यक्ष श्रेष्ठलाई बोतल प्रहार गरेका थिए।
रातो किताबको ३० लाख बजेट उपभोक्ता समितिले गर्नेगरी वडाले सिफारिस गरेको भए पनि पालिका अध्यक्ष श्रेष्ठले सम्झौता नगरिदिएको वडा नं ६ का वडा अध्यक्ष नारायण कार्कीले जानकारी दिए।
यता पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले भने आफ्नो कुरामा विमति राख्नु स्वाभाविक भएको र घटनालाई सामान्यरूपमा लिएको प्रतिक्रिया दिए। अध्यक्ष श्रेष्ठ भन्छन्, 'असमत पक्षको पनि मागलाई सम्बोधन गरेर अगाडि बढ्ने सहमति भएको छ सोहि अनुसार पालिकाको गतिविधि अगाडि बढ्ने छ।'