गौशालामा १ अर्बको सौन्दर्यीकरण
गौशाला (महोत्तरी) : जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा परिचित रहेको गौशाला बजारलाई सौन्दर्यीकरणका लागि प्रारम्भिक कार्यको सुरुवात भएको छ। १ सय करोड अर्थात् १ अर्बको लगानीमा गौशाला बजारमा अत्याधुनिक ढल निकास तथा नाला निर्माणको कार्य हुने भएको छ।
केही दिन अगाडि गौशाला नगरपालिकासँग सहकार्यका लागि सम्झौता गरेर काठमाडौंस्थित खानेपानी तथा सरसफाई आयोजनाको कार्यालय पानीपोखरीले डीपीआर निर्माणको काम अगाडि बढाइएको नगरप्रमुख डा दीपेन्द्र महतोले बताए।
१ सय करोड अर्थात १ अर्ब रुपैयाँको योजना रहेको सो कार्यका लागि गौशाला नगरपालिकाले १५ प्रतिशत रकम व्यहोर्ने भएको नगरप्रमुख महतोले जानकारी दिए। अगामी आर्थिक वर्ष २०८०/०८१ को नगरस्तरीय योजनामार्फत सो रकम उपलब्ध गराउने नगरप्रमुख महतोको भनाई रहेको छ।
डीपीआर तयार भइसकेपछि गौशाला बजार अत्याधुनिक सहरका रूपमा परिणत हुने गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसीले जानकारी दिए।
सो कार्यका लागि आयोजनाले करिब २ वर्षको अवधिमा कार्य सम्पन्न गर्ने गौशाला नगरपालिकाले जनाएको छ। व्यवस्थित ढल निकास नहुँदा पछिल्लो समय गौशाला बजार अस्तव्यस्त बन्दै गएको छ। बजारक्षेत्र फोहोरमय बन्नुका साथै नालाको निकास नभएकै कारण स्थानीयहरू दुर्गन्धमय वातावरणमा जीवन बिताउन बाध्य भएका छन्।