नवलपरासीमा शिखर शैली मन्दिरका भग्नावेश भेटिए
परासी : नवलपरासीको सुनवल नगरपालिका–११ भूमहीस्थित बाबा बर्दगोरिया मन्दिर क्षेत्रमा शिखर शैली मन्दिरका भग्नावशेषहरू भेटिएका छन्।
पुरातात्विक विभागले गरेको उत्खननका क्रममा ति भग्नावशेषहरू फेला परेका हुन्। स्थानीयहरूले खन्ने क्रममा देवीका मूर्तिहरू फेला पार्न थालेपछि पुरातत्व विभागलाई विगत केही वर्षदेखि त्यस क्षेत्रको उत्खनन् गर्न माग हुँदै आएको थियो।
अहिले त्यस क्षेत्रको १२ दिनअघिबाट आएका पुरातत्व विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको चार सदस्यीय टोलीले उत्खनन् गरिरहेको छ। मन्दिर क्षेत्रको तीन स्थानबाट टोलीले उत्खनन् सुरु गरेको हो।
उत्खननका क्रममा त्यस क्षेत्रमा शिखर शैली मन्दिरमा प्रयोग हुने वस्तुहरूका अंश (गजुरहरू, कार्नेसहरू, एसडीहरू, पिलर, बेस लगायतका सामान र संरचना ) हरू फेला परेको पुरातत्वविद् ज्ञवालीले बताए।
शिखर शैली मन्दिर सुलुत्त परेर माथि चुलिँदै गएका, झलक्क हेर्दा खरजस्तो देखिने छाना नभएको तर घाम पानीबाट भित्र सुरक्षित हुने किसिमबाट बनाइएको मन्दिर हो। पाटनको महाबौद्ध मन्दिर, कृष्ण मन्दिर र पशुपतिको प्राङ्गणमा रहेको ब्रह्मा मन्दिरलगायतका मन्दिर शिखर शैलीमा निर्माण गरिएका हुन्।
शिखर शैली मन्दिरका भग्नावशेषसँगै त्यस क्षेत्रको उत्खननका क्रममा झण्डै १ मिटर लम्बाइ, २० सेमि चौडाइ र ५ सेमि मोटाई भएको इँटाबाट बनेको इनार र देवीका मूर्तिहरू फेला परेका छन्।
मन्दिर क्षेत्रको सांस्कृतिक इतिहास केलाउँदा यहाँ पाइएका प्राचीन वस्तुहरू १५ देखि १६ औं शताब्दीका रहेको ज्ञवालीले बताए। यस क्षेत्रमा १३ देखि १४ औं शताब्दीमा मन्दिर बनेको अनुमान लगाउन सकिने उनले बताए।
शिखर शैली मन्दिरको भग्नावशेष अहिले यत्रतत्र फैलिएकोले अब यस क्षेत्रको भौतिक सर्वेक्षण (जियोफिजिक्स) गरी क्षेत्रफल यकिन गर्न तत्काल आवश्यक रहेको पुरातत्वविद् ज्ञवालीले बताए। ‘जमिनभित्रको लेयर पत्ता लगाएर काम गर्ने क्रममा जमिन तल अरू सामान पनि रहेको पाइयो, त्यसका लागि जियोफिजिक्स आवश्यक छ,’ उनले भने।
टोलीले अबको तीन दिनसम्म काम गर्ने र जियोफिजिक्स आवश्यक रहेको रायसहितको प्रतिवेदन विभागमा दिइने ज्ञवालीले बताए। पहिलो पटक यसवर्ष उत्खनन् सुरु गरिएकाले प्रतिवेदनका आधारमा अर्को वर्षदेखि पुनः उत्खनन् हुन सक्ने उनले बताए। यहाँ फेला परेका वस्तुअंशहरूलाई टोलीले मन्दिर व्यवस्थापन समितिको जिम्मा लगाएर जाने छ।
स्थानीयले देवीका मूर्तिहरू पाउनुअघि मन्दिर क्षेत्र नजिक रहेको भलुही खोला किनारमा २०५२ सालमा प्राचीन ताम्रपत्र भेटिएको थियो। त्यस ताम्रपत्रलाई पुरातात्विक विभाग पठाइएको थियो। १२१२ साल माघ महिनामा लेखिएको उक्त ताम्रपत्रमा तत्कालीन राजा जयादित्य देव उल्लेख गरिएको छ।
१२ बुँद्दाको अक्षराकांश पद्दतिमा रहेको उक्त ताम्रपत्रमा उल्लेख भएका तत्कालीन राजा त्यस समयमा भएको अभिलेख नपाइएकाले त्यो पुष्टि हुन नसकेको र अनुसन्धान भइरहेको पुरातत्वविद्ध ज्ञवालीले बताए। यद्यपि त्यो महत्वपूर्ण रहेको उनले बताए। ताम्रपत्र पाएपछि स्थानीयले चासो दिएर खोजी गर्न थालेपछि त्यहाँ देवीका विभिन्न मूर्तिहरू फेला पर्न थालेका हुन्।
यो मन्दिर शिवधामका रुपमा परिचित छ। किंवदन्तीअनुसार त्यस क्षेत्रमा विजय नाम गरेका राजा बस्ने र उनले सयौं गाईहरू पाल्ने गरेको उल्लेख छ। त्यस क्षेत्रमा निर्माण गरिएको मन्दिरमा बसाहा (साँढे) रहेको थियो। पछि त्यसलाई शिवधामका रूपमा विस्तार गरिएको किंवदन्तीमा उल्लेख भएको बाबा बर्दगोरिया धाम संरक्षण समितिका अध्यक्ष नरपति पाण्डेले जानकारी दिए।
मन्दिर नजिकै रहेको अमर पोखरीको जलले नुहाएमा चर्म रोग निको हुने विश्वासले पनि यस क्षेत्रको महत्व थप रहेको पाण्डेले बताए। तीज र शिवरात्रिका दिन नेपालका विभिन्न ठाउँदेखि भारतसम्मका तीर्थालुहरू यस मन्दिरमा दर्शनका लागि आउने गर्दछन्।