सहकारीले करोडौं रकम फिर्ता नगरेको भन्दै बचतकर्ताको प्रदर्शन

सहकारीले करोडौं रकम फिर्ता नगरेको भन्दै बचतकर्ताको प्रदर्शन

वीरगन्ज : वीरगन्ज-१० आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले करोडौं रकम फिर्ता नगरेको भन्दै पीडित बचतकर्ताहरूले प्रदर्शन गर्दै धर्ना दिएका छन्।

काठमाडौंको कालिमाटीमा प्रमुख कार्यालय भएको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको वीरगन्जस्थित शाखाले बचत गरेको रकम फिर्ता नगरेको भन्दै बिहीबार सयौंको संख्यामा पुगेका बचतकर्ताहरूले प्रदर्शन गर्दै धर्ना दिएका हुन्।

सहकारीमा जम्मा गरिएको बचतकर्ताको एक अर्ब भन्दा पनि बढी रकम सहकारीका सञ्चालकले फिर्ता नगरेको बचतकर्ताहरूको आरोप छ। सहकारीमा बचत गरेको रकम झिक्न जाँदा संस्थामा हाल रकम नभएको भन्दै कर्मचारीले फिर्ता पठाइदिने गरेको बचतकर्ताहरूको गुनासो छ।

सहकारीको वीरगन्ज शाखाकी प्रमुख कार्यकारी अधिकृत तस्बिरन खातुन पनि हाल सम्पर्क विहीन रहेको उनीहरूको भनाइ छ।

सहकारीमा जम्मा गरेको रकम झिक्न एक महिनादेखि सहकारीको कार्यालय धाउँदा पनि पैसा फिर्ता नपाएपछि बिहिबार बचतकर्ताहरूले सहकारीमा पुगेर प्रदर्शन गर्दै धर्ना दिएका हुन्।

धर्नामा सहभागीहरूले  'खुद्रा व्यापारीले प्रति दिन जम्मा गरेको रकम फिर्ता पाउँ', 'सञ्चालक समितिको सदस्यहरूको नाम फोन नम्बर र ठेगाना सार्वजनिक गरी पाउँ', 'घरमा विवाह संस्कारका लागि जम्मा गरेको बचत रकम फिर्ता पाउँ', 'स्वास्थ्य तथा उपचारको लागी बचत गरेको मुद्दती रकम फिर्ता पाउँ' लगायत नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए।

बचतकर्ताहरूका अनुसार एक वर्षदेखि सहकारीका कर्मचारीले जम्मा भएको पैसा फिर्ता दिएका छैनन्। स्वास्थ्य उपचारको लागि थोरै थोरै गरेर जम्मा गरेको पैसा आवश्यकता परेको बेला फिर्ता नपाउँदा आफू बिचल्लीमा बचतकर्ता अंकित अग्रवालले बताए। 

‘आँखाको उपचारका लागि ठूलो रकम चाहिन्छ भनेर प्रत्येक महिना मिहिनेत गरेर कमाएको २०/२५ हजार जम्मा गर्दै आएको थिए। १० लाख जती एफडी पनि गरेको छु,’ अग्रवालले भने, ‘आज उपचार गराउने समय आउँदा सहकारीले पैसा दिरहेको छैन। अब मैले आफ्नो उपचार कसरी गराउने ?’

केही महिना अगाडिसम्म सहकारीले दैनिक पाँच हजारको दरले पैसा दिए पनि पछिल्लो समय त्यो पनि नपाएको बचतकर्ताहरूको गुनासो छ। ‘हामीहरू पैसा माग्न पुगेपछि पाँच/पाँच हजारको दरले दिन्छौँ भनेर शाखा प्रमुखले भनेकी थिइन्। केही त्यसैगरी पैसा पायो पनि,’ बचतकर्ता विक्रम सर्राफले भने, ‘अहिले त्यो पनि पाउन छोडेको छ। अति भएपछि हामी आज धर्ना दिन बाध्य भयौँ।’

छोरीको विवाहका लागि जम्मा गरेको पैसा पनि सहकारीले फिर्ता नगरेको अर्का बचतकर्ता रामबाबु कलवारले बताए। ‘जग्गा बेचेर श्रीमतीका नाममा खाता खोली ६ लाख रुपैयाँ जम्मा गरेको छु, प्रत्येक दिन ५००/१००० को दरले पनि पैसा जम्मा गर्दै आएको थिए,’ कलवारले सुनाए, ‘अहिले छोरीको विवाहको बेला पैसा पाउन सकिरहेको छैन। सञ्चालकहरूको अत्तोपत्तो छैन, वीरगन्ज शाखाका प्रमुखहरू पनि सम्पर्कविहीन छन्।’

सहकारीको वीरगन्ज शाखाका सहायक ऋण अधिकृत रवीन्द्र यादवले भने सहकारीका सञ्चालकहरू फरार नभएको बताए। बचतकर्ताहरूको पैसा फिर्ता दिन ढिलाइ भएको स्वीकार्दै उनले भने, ‘बजारमा चलिरहेको आर्थिक मन्दीका कारण समस्या भएको हो। हामी सञ्चालकहरूसँग निरन्तर सम्पर्कमा छौँ, अर्को सातादेखि पैसा बचतकर्ताहरूले पैसा फिर्ता पाउनु हुन्छ,’। सहकारी मर्जरको प्रक्रियामा रहेको कारण पनि बचतकर्ताको पैसा फिर्ता गर्न ढिलाइ भएको यादवले बताए।

यता वीरगन्ज महाागरपालिका कार्यालयले पनि सहकारीका सञ्चालकलाई सात दिन भित्र हाजिर हुन सार्वजनिक सूचनामार्फत दोश्रोपटक निर्देशन दिएको छ।

महानगरपालिका कार्यालयमा सहकारी विरुद्ध २० भन्दा बढी बचतकर्ताहरूको उजुरी परेपछि  यसअघि महानगरपालिकाले जेष्ठ १६ गतेभित्र सञ्चालकहरूलाई महानगरपालिकामा उपस्थित हुन पत्र काटेको थियो।

तर उक्त समयभित्र सहकारी सञ्चालकहरू उपस्थिति नभएपछि जेष्ठ ३१ गते फेरि महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गर्दै सात दिनभित्र महानगरपालिका कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो।

अबपनि सहकारीका सञ्चालक उपस्थिति नभएमा सहकारी ऐन तथा नियमावली बमोजिम उक्त सहकारी विरुद्ध  महानगरपालिकाले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने घिमिरेले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.