डोटी साक्षर जिल्ला घोषणा
डोटी : डोटी साक्षर जिल्ला घोषणा भएको छ। ‘साक्षरता सिकाई क्षेत्रमा रूपान्तरण’ भन्ने मुल मन्त्रका साथ बिहीबार जिल्लालाई साक्षर जिल्ला घोषणा गरेको हो।
१५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६ दशमलव ५५ प्रतिशत नागरिक साक्षर भएसँगै एक समारोहको आयोजना गरी जिल्लालाई साक्षर घोषणा गरिएको हो।
यो भित्र एक लाख ३९ हजार एक सय ६१ नागरिक पर्दछन्। जिल्लाभरी सो उमेर समूहका चार हजार नौ सय ७० जना अझै निरक्षर रहेको बताइएको छ। डोटी जिल्ला देशको ६३ औँ जिल्लाका रूपमा साक्षर जिल्ला घोषणा भएको छ।
साक्षर जिल्ला घोषणा हुनका लागि विभिन्न १२ सूचक पूरा हुनुपर्ने र ती सूचक पूरा भएसँगै जिल्लालाई साक्षर घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख रामदत्त भट्टले बताए।
डोटीले २०७६ सालभित्र जिल्लालाई साक्षर घोषणा गर्ने लक्ष्य राखिएको भए पनि कोभिड–१९ को महामारी तथा अन्य विभिन्न कारणले ढिलो गरी साक्षर घोषणा गरिएको प्रमुख भट्टले बताए।
जिल्लाका नौवटै पालिका साक्षर घोषणा भएपश्चात जिल्लालाई घोषणा गरिएको हो। सुदूरपश्चिम प्रदेशको अन्तिम जिल्ला भएकाले अब छिट्टै साक्षर प्रदेश घोषणा हुने शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गादत्त बिष्टले बताए।