क्यान्सर कहर
क्यान्सरले जीवनको क्षतिसँगै परिवारलाई ऋणको भारी थपिदिने गरेको छ। क्यान्सरको उपचारले बिपन्न परिवारलाई कुन स्थितिमा ल्याइपुर्याउँछ भन्ने उदाहरण हो, कपिलवस्तुको सोम्डी गाउँपालिका–७ कोपवाका हनुमान धोबीको परिवार।
गलत खानपान र बदलिँदो जीवनशैली रोगलाई आमन्त्रण गर्ने मुख्य कारण हो। यही कारण क्यान्सरले मानिसलाई मृत्युको मुखसम्म पुर्याउने गरेको छ। क्यान्सर लागेपछि उपचारको क्रममा ९० प्रतिशत मानिसको मृत्यु हुने गरेको छ। पाँचदेखि १० प्रतिशत क्यान्सरमात्र वंशाणुगत कारणले हुन्छ। क्यान्सर पत्ता लाग्न समय लाग्ने र पत्ता लाग्दासम्म उपचारमा ढिलाइ भइसक्ने समस्या अझै छ। त्यसैले स्वास्थ्य सावधानी नै क्यान्सर लाग्न नदिने मुख्य उपाय हो। त्यसका लागि मादक पदार्थको सेवन नगर्ने, स्वस्थ खानपान र शारीरिक अभ्यासमा ध्यान दिनुपर्छ।
क्यान्सरले जीवनको क्षतिसँगै परिवारलाई ऋणको भारी थपिदिने गरेको छ। क्यान्सरको उपचारले बिपन्न परिवारलाई कुन स्थितिमा ल्याइपुर्याउँछ भन्ने उदाहरण हो, कपिलवस्तुको सोम्डी गाउँपालिका–७ कोपवाका हनुमान धोबीको परिवार। उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। धनसम्पत्ति सकेपछि धोबीका छोरा शत्रुघन बुवाको उपचारको खर्च जोह गर्न भरतपुरमै कवाडी संकलनको काम गर्छन्। उनीजस्तै अर्का उदाहरण हुन्, बाँके उडरापुरका फैयाज बेहना। उनको उपचारमा घरबारी सकिसकेको छ। यी त केवल प्रतिनिधि पात्रमात्र हुन्।
आखिर जीवनको क्षतिसँगै परिवारलाई उठ्नै मुस्किल हुने गरी ऋणको बोझ थप्ने क्यान्सरविरुद्ध हामी किन सचेत छैनौं ? यसबारे सरकारी तवरबाट सचेतना बढाउनु जरुरी छ। आमनागरिक स्वयं पनि सचेत हुन अत्यावश्यक छ। पछिल्लो आँकडाहरू अनुसार क्यान्सरका बिरामी बढ्दो क्रममा छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दैनिक ९ सय बिरामी परीक्षणका लागि पुग्छन्। तीमध्ये १० देखि ३५ जनामा क्यान्सर देखिने तथ्यांक अस्पतालको छ। बर्सेनि १ लाख ६५ हजार बिरामी यो अस्पतालमा आउने गरेका छन्।
सबैभन्दा बढी मुख, छाती, पाठेघर र स्तरको क्यान्सरका बिरामी धेरै छन्। त्यसैले राज्यले सचेतना वृद्धिसँगै क्यान्सरको उपचार सहजताका लागि धेरै स्थानमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्न जरुरी छ। क्यान्सर पत्ता लागेपछि तीनवटा उपचार विधि छन्। पहिलो शल्यक्रिया, त्यसपछि बायोप्सी र तेस्रो विधि रेडिएसन (सेकाइ) हो। सबै पक्ष विचारेर आजैबाट सम्बन्धित सबै क्षेत्र आजैदेखि सचेत हुँदैन रोकथाम र निदानका लागि आवाज उठाउने र अभियान चलाउनेतर्फ लाग्नु उत्तम विकल्प हो। सरकार हरपल यसमा सचेत हुनैपर्छ। अल्प र दीर्घकालीन योजना बनाएर काम गर्नुपर्छ।