प्रधानन्यायाधीशसँग सांसदको सवालजवाफ आज
काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग संसदीय सुनुवाइ आज समितिले सवाल जवाफ गर्ने भएको छ। बिहिवार बसेको बैठकमा कार्कीलाई प्रश्न सोध्ने र जवाफ माग्ने कार्यक्रम शुक्रबार ८ बजेलाई सारिएको हो। कार्कीले आफ्नो कार्ययोजना र योग्यता प्रस्तुत गरेका छन् । संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो योजना पेश गर्दै कार्कीले बिचौलियाको रूपमा पहिचान भएका व्यक्तिहरूको गतिविधि सूक्ष्म निगरानीमा राख्ने बताए। कार्कीले न्यायपालिका सुधारका लागि सहकार्य,समन्वय र सहकारितामा आधारित दस्ताबेज बनाउने सोच राखेको पनि बताए।
उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताए। गोला प्रथा लागु भएपछि न्यायिक विचलन कम हुँदै गएको र स्वच्छता गर्ने दिशामा अगाडि बढेको उनको भनाइ छ। शुक्रवार समितिमा रहेका १५ सदस्यहरूले कार्कीसँग प्रश्नोत्तर गर्नेछन् ।
समितिमा कांग्रेसबाट रमेश लेखक, इश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी छन्। एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल सदस्य छन् ।
माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा, रास्वपाबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाबाट प्रकाश अधिकारी सदस्य छन् ।
गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका हरिकृष्ण कार्की संसदीय सुनुवाइ समितिबाट अनुमोदित भए राष्ट्रपतिबाट नियुक्त हुनेछन्।