अनलाइन जुवामा कलाकार पनि पक्राउ, के हो वानएक्स बेट ?
काठमाडौं : अवैध ‘वान एक्स बेट’ अनलाइन जुवाको प्रचार प्रचारमा देखिएपछि कलाकारहरू बल्छी ध्रुवे, राजु मास्टर, म्याकुरीसहित ८ जना पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीका अनुसार पक्राउ पर्नेमा ५ जना कलाकार तथा ३ जना युट्यूवर रहेका छन्। उनीहरू एउटै टिमको भएको खुलेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलाकारहरू राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई बिहीबार पक्राउ गरेको छ। यस्तै, युट्यूवमा चर्चा कमाएका जलन घर्ती, गणेश देवकोटा र अलिस राईलाई पनि काठमाडौंबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीकाअनुसार, कलाकार तथा युट्यूवरले बेटिङलाई प्रमोसन गर्दै आएका थिए। यसबापत उनीहरूले ५ देखि ४० लाखसम्म कमिसन बुझेको पाइएको छ। कमिसनबापतको रकम उनीहरूलाई वान एक्स बेट कम्पनीबाटै प्राप्त हुन्थ्यो। उनीहरूले आफ्नो नाममा रहेको फेसबुक पेज तथा युट्यूवमार्फत बेटिङको ‘अनलाइन जुवाको’ प्रचार प्रसार गर्थे। बेटिङ अत्यन्तै लाभदायक भएको भन्दै खेल्नका लागि आग्रहसमेत गर्थे।
हास्य शृंखला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुवे’को भूमिका निर्वाह गरेपछि मरिचमान श्रेष्ठ चर्चामा आएका थिए। उनी अहिले हल्का रमाइलो र जुठे टेली श्रृंखलामा अभिनय गरिरहेका छन्।
‘उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार ‘वान एक्स बेट’ नामक प्रतिबन्धित अनलाइन बेटिङ एपमार्फत अबैध कारोबार गरेको आरोपमा यो गिरोहमाथि प्रहरीले निगरानी गरिरहेको थियो। यसैक्रममा प्रचारमा कलाकार र युट्यूवर पनि संलग्न भएको प्रमाण प्रहरीले फेला पारेको थियो।
प्रहरीले ७४ करोड बढीको अनलाइन जुवा खेलाएको आरोपमा बुधबार मात्रै ५ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ। यही घटनाको अनुसन्धान गर्दे जाँदा कलाकारहरूको पनि संलग्नता देखिएका थप प्रमाण भेटिएको थियो। कलाकारहरूले वान एक्स बेटमा सट्टेबाजी खेलाउने र युट्यूवमा यसको विज्ञापन गर्ने गरेका थिए। उनीहरूले युट्यूवमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेका थिए। नेपालमा अबैध रहेको अनलाइन जुवा खेल्न उनीहरूले विज्ञापनमार्फत युवाहरूलाई आकर्षण गरेको आरोप छ।
अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसी भन्छन्, ‘कलाकारहरू आर्थिक प्रलोभनमा परेको देखिन्छ। कमिसन आउने भएपछि उक्त काम के हो भन्ने बुझ्दै नवुझी प्रचार तथा प्रमोसनमा लागेको देखिन्छ। कतिपय देशमा यो खेल खेल्न कानुन अनुसार नै छुट भए पनि नेपालमा भने अनलाइन जुवा खेल्न र खेलाउन पाइँदैन। उनीहरूविरुद्ध सट्टेबाजी गर्न वा गराउन नहुने कसु्रमा अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।
के हो वानएक्स बेट ?
वानएक्स बेट अनलाइन बेटिङ (सट्टेबाजी) प्लेटफर्म हो। यहाँ प्रयोगकर्ताले पुरै खेलको नतिजा वा खेलका विभिन्न समयावधिमा हुने गतिविधिको अनुमान गरेर जुवा झैं दाउ राख्नुपर्ने हुन्छ। यदि नतिजा मिलेको खण्डमा तोकेको गुणाको रकम फिर्ता पाइन्छ। यदि नमिलेको अवस्थामा आफूले बाजी राखेको सबै रकम जान्छ। अनुमानकै आधारमा खेलिने यो खेलमा एकैपटक हजारौं मानिसहरू सहभागी हुन सक्छन्। यही प्लेटफर्ममै विविध प्रलोभन दिएर लक्की ड्र मार्फत् पनि विजेता घोषणा पनि गरिन्छ।
विभिन्न ठाउँ र देशअनुसार त्यहाँका कुनै व्यक्ति कम्पनीको एजेन्टका रूपमा काम गर्छन्। उनीहरूले नै पैसा उठाउन, पठाउन र कारोबार गर्नका लागि विभिन्न बंैकहरूसंग लिंक राख्छन्। यस्ता एजेन्टहरूले विभिन्न व्यक्तिको नागरिकतालगायतका अन्य कागजात राखी नक्कली नाममा खाता खोल्ने र यो खेल खेल्ने, खेलाउने गर्छन्।
वानएक्स बेटको एप्लिेकेसनमार्फत् बाजी राख्न पाइन्छ भने विभिन्न प्रकारका अनलाइन गेम खेलेर रकम जित्न सकिन्छ।