एआईजीको नेतृत्वमा बन्यो छानबिन समिति

एआईजीको नेतृत्वमा बन्यो छानबिन समिति
फाइल तस्बिर।
सुन्नुहोस्

झापा : झापामा सशस्त्र प्रहरीका इन्सपेक्टर नमप्रभाव राईले आफ्नै संगठनका सहकर्मीलाई पानीमा चोबल्दै, खेदाउँदै निर्घात कुटपिट गरेको घटना बाहिरिएलगतै सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले विशेष छानबिन समिति गठन गरेको छ।

सशस्त्रका एआईजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन भएको सशस्त्र प्रहरी बल नेपाल मुख्यालयका प्रवक्ता तथा एसएसपी राजेन्द्र खड्काले अन्नपूर्णलाई बताए। 

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह वाहिनी सुनसरीका डीआईजी अन्जनीकुमार पोखरेलले घटना भएको भोलिपल्ट बुधबार नै बाहिनीका एसपी विक्रम हुमागाइँको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेका थिए। 

डीआईजी पोखरेलकै निर्देशनमा इन्सपेक्टर राईसहित टोली सादा पोशाकमा खटिँदा संगठनकै बदनाम हुनेगरी घटना घटेकाले मुख्यालयले एआईजी गौतमको नेतृत्वमा छानबिन समिति बनाएको हो। 

एआईजीको नेतृत्वमा गठित छानबिन समितिले इन्सपेक्टर राईलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाउन सक्छ,’ प्रवक्ता खड्काले भने, ‘त्यो अधिकार छानबिन समितिलाई दिइएको छ, अब समितिले कसरी प्रक्रिया अघि बढाउँछ, त्यो समितिको कुरा हो।’ 

‘छानबिन समितिको प्रतिवेदनको आधारमा कुटपिट घटनामा संलग्न कर्मचारीलाई विभागीय कारबाही हुन्छ, त्यसमा कुनै द्विविधा नै छैन,’ उनले भने, ‘सादा पोशाकमा सशस्त्र प्रहरी खटाउन नपाउने संगठनको नीति छ। तर, विशेष काम प्रयोजनका लागि संगठनबाट स्वीकृति लिएर दुई-चार दिनका लागि मात्र सादा पोशाकमा खटाउन चाहिँ पाइन्छ। सादा पोशाकमा खटाउनेलाई विशेष सूचना संकलनका पठाउन गरिन्छ,’ प्रवक्ता खडकाले भने, ‘नियमावली विपरीत संगठनको बदनाम हुने गरी पैसा उठाउन चाहिँ सादा पोशाकमा खटाउन पठाइँदैन।’ 

‘झापा घटनाको हकमा किन र के प्रयोजनका लागि बाहिनीले इन्सपेक्टर राईसहितको टोलीलाई खटाएको हो, स्वीकृति लिएर हो कि नलिई हो, त्यो एआईजी नेतृत्वको समितिले अवश्य छानबिन गर्छ,’ उनले भने। एआईजी नेतृत्वको समिति शुक्रबार पूर्व आउँदैछ। 

इन्सपेक्टर राईको कुटपिटबाट घाइते भएका पाँच जना सशस्त्रलाई बराह वाहिनी सुनसरीमा राखेर उपचार भइरहेको जनाइएको छ। ‘घाइतेहरूको उपचार नभएको हाल्ला मात्र हो,’ उनले भने, ‘बाहिनीमा हाम्रै एक जना चिकित्सक छन्, आवश्यक परेको खण्डमा बाहिरका चिकित्सक बोलाएर पनि घाइतेहरूको उपचार गराइन्छ।’

मंगलबार राति करिब साढे १० बजेको समयमा मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दामा सादा पोशाकमा रहेका इन्सपेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलाले गाई गोरु कटाएको भन्दै ड्युटीमा खटिएका सशस्त्रका वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरू गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीलाई मेची नदीको पानीमा चोबल्दै, खेदाउँदै भाटैभाटाले कुटेका थिए। कुटाइ खानेहरू सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत थिए। 

सादा पोशाकमा आएका इन्सपेक्टर राईसहितको टोलीले बर्दीधारी सशस्त्रलाई सार्वजनिक स्थलमा कुटपिट गरिरहेको देखेपछि त्यहाँँका स्थानीय प्रतिकारमा उत्रिए। स्थानीयले कुटपिटमा संलग्न इन्स्पेक्टर राईसहितको टोलीमाथि नै खनिएका थिए। त्यसपछि घटनास्थल तनावग्रस्त बनेको थियो। स्थानीयले सशस्त्रको बीएबी ३२४६ नम्बरको गाडी तोडफोड गर्दै इन्स्पेक्टर राईसहितको टोलीलाई कारबाहीको माग गर्दै चर्को नाराबाजीसमेत गरेको प्रत्यक्षदर्शीहरू बताउँछन्। 

‘इन्स्पेक्टर राई र जवान तामाङ विवादित कर्मचारी’

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह वाहिनी सुनसरीका डीआईजी अन्जनीकुमार पोखरेलले सादा पोशाक ‘घुमुवा’ मा खटाइएका इन्सपेक्टर नमप्रभाव राई र सशस्त्र जवान रामसुन्दर तामाङ विवादित कर्मचारी हुन्। 

इन्सपेक्टर राई यसअघि मोरङमा बसेका थिए। बिओपी सिक्टीको इन्चार्ज हुँदा इन्सपेक्टर राईले मोरङको दक्षिणी क्षेत्रबाट तस्करी गराएको आरोपमा विवादमा परेका थिए। बराह वाहिनी सुनसरीका तत्कालीन डीआईजी कमल गिरीले इन्सपेक्टर राईलाई कारबाही स्वरूप बाहिनी तानेका थिए। गिरीको सरुवा भएलगतै बराह बाहिनीमा डिआईजी पोखरेल आए। डीआईजी पोखरेल आएपछि राईलाई घुमुवा प्रहरीको इन्चार्ज बनाए। राईले डीआईजीको नाम बेचेर तस्करहरूबाट लाइनमार्फत रकम संकलन गर्दै हिँडेको पनि सुरक्षास्रोतको दाबी छ।

त्यस्तै, डीआईजी पोखरेलले सादा पोशाकमा खटाएका अर्को ‘घुमुवा’ सशस्त्र जवान तामाङको ससुराली घर झापाको मेचीनगर हो। बिओपी कांकडभिट्टामा २ वर्षअघि आएका तामाङले बिओपीमा भान्सा चलाउने (कोट मास्टर) को जिम्मेवारी पाए। भान्सा चलाउन थालेपछि तामाङको घुलमिल तस्कर तथा व्यापारीसँग नजिकियो। तामाङले बिओपी इन्चार्जलाई खुसी पार्न रकम पनि संकलन गर्न थाले। 

दुई महिनाअघि मेचीनगरको सतिघट्टामा तामाङले जबरजस्ती घरभित्र पसेर सरसामान खोसाखोस गर्न खोज्दा व्यापारीले उनलाई हातपात गरेका थिए। 

घटना विवादित बनेपछि तामाङलाई डीआईजी पोखरेलले तत्काल बाहिनी तानेका थिए। त्यसको केही दिनपश्चात् डीआईजी पोखरेल समक्ष तामाङले घरायसी समस्या देखाउँदै पुनः काँकडभिट्टा आए। डीआईजीले पठाएको भन्दै तामाङले अर्कै गतिविधि देखाउन थालेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.