लुम्बिनी सरकारले ४० अर्ब हारीहारीको बजेट ल्याउँदै
दाङ : लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउने भएको छ । जेठ २६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेशले संविधानले निर्धारण गरेको समय सीमा आज आर्थिक वर्ष २०८०/२०८१को बजेट ल्याउन लागेको हो । प्रदेशसभाको दोस्रो अधिवेसनको ११ औं बैठकमा बजेट सार्वजनिक गरिने भएको हो ।
आर्थिक मामिलामन्त्री धनबहादुर मास्र्कीले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्ने छन् । यस वर्ष ४० अर्ब हाराहारीको प्रदेश बजेट आउने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा ४२ अर्ब बरावरको बजेट थियो।
संघीय सरकारले समेत प्रदेको अनुदान सिलिङ घटाएर पठाए पछि प्रदेश बजेटमा समेत त्यो प्रभाव देखिएको छ । आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारलाई झण्डै चार अर्ब बजेट कम छुट्याएको छ ।
चालु आर्थिक वर्षमा समानिकरणतर्फ आठ अर्ब ५४ करोड बजेट छ । अहिले आठ अर्ब १४ करोड ८३ लाख बजेट प्राप्त भएको छ । सशर्ततर्फ आठ अर्ब ७१ करोड बजेट थियो । अहिले पाँच अर्ब ८३ करोड ५९ लाख बजेट प्राप्त भएको छ ।
समपुरकतर्फ ७३ करोड ९० लाख बजेट थियो । अहिले ८४ करोड बजेट छ । विशेष अनुदानको लागि ८८ करोड ३५ लाख बजेट थियो भने अहिले ५६ करोड बजेट प्राप्त भएको छ ।
प्रत्यक्ष लाभ प्राप्त हुने र उपलब्धि देखिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बनाइएको छ। रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारी भएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको थियो ।