सिँचाइ आयोजनाको मूल नहरबाटै खेतमा पानी
टीकापुर : राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको मुल नहरबाट किसानका खेतसम्म पानी सञ्चालन भएको छ। निर्माण सुरु गरिएको झण्डै १२ वर्षपछि आयोजनाको मुल नहरबाट किसानका खेतसम्म कर्णाली नदीको पानी पुगेको हो।
आयोजनाले जेठ ३१ गते साँझ मूल नहरबाट पानी छोडेर रानी, जमरा र कुलरिया शाखा तथा विभिन्न उपशाखा नहरबाट किसानका खेतसम्म पानी छोडेको हो।
आर्थिक वर्ष २०६७/०६८ बाट निर्माण सुरु भएको आयोजनाले यसअघि मूल नहरमा पानी छोडेर परीक्षण गरेको थियो। यसपटक मूल नहरबाट पानी ल्याई तीनवटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको आयोजना प्रमुख केदारकुमार श्रेष्ठले जानकारी दिए।
‘हामीले मुल नहरबाट पानी छोडेर किसानको खेतसम्म तीनवटै शाखा कुला र उपशाखा कुलाहरूबाट पुर्याएका छौं’ आयोजना प्रमुख श्रेष्ठले भने ‘पुरानो प्रणालीबाट पानी आइरहेका रानी, जमरा र कुलरिया कुलाका मुहान बन्द गरिसकिएको छ। अब नियन्त्रित रूपमा किसानको आवश्यकता आधारमा आयोजनाबाट पानी खेतसम्म पुग्नेछ।’
श्रेष्ठका अनुसार रानी, जमरा र कुलरिया कुला प्रणालीबाट १४ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ। थप छ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले विस्तार गरिएको लम्की शाखा नहरबाट समेत साताभित्रै पानी छोडिने आयोजना प्रमुख श्रेष्ठले बताए।
‘दुई दिनभित्रै हामी लम्की शाखा नहरबाट समेत चुहास्थित पथरैया नदीमा पानी छोडिरहेका छौं’ श्रेष्ठले भने ‘उक्त नहरबाटै सिँचाइ हुनका लागि हाल संरचना निर्माण नभए पनि पथरैया नदीमा पानी छोड्दा पथरैया सिँचाइ आयोजनाबाट समेत किसानले सिँचाइ सुविधा पाउनेछ।’
आयोजनाका शाखा तथा उपशाखाहरूमा कुलो प्रणाली विस्तारका लागि समेत काम गरिरहेको छ। यसअघि कर्णाली नदीबाट अस्थायी मुहान निर्माण गर्दै बर्सेनि रानी, जमरा र कुलरिया नदीमा पानी ल्याउने गरिन्थ्यो। पुरानो मुहानबाट पानी ल्याउँदा अनियन्त्रित भई कटान हुने, कुलाका संरचना फुट्ने जस्ता समस्या किसानहरूले झेल्दै आएका थिए।
हरेक वर्ष कुलाको मुहान खन्न हजारौं किसानले बेगारी गर्नुपर्थ्यो। ‘आयोजना सञ्चालन भएपछि बनाइएका संरचनाहरूबाट आवश्यकताको आधारमा पानी ल्याउन सजिलो हुनेछ’ टीकापुर नगरपालिका-१ का किसान धनबहादुर चौधरीले भने ‘आज बिहानै हाम्रो खेतसम्म पानी पुगिसकेको छ, अब किसानलाई सिँचाइका लागि सहज हुन्छ।’
मुल नहरबाट पानी सञ्चालन भएपछि बाह्रै महिना सिँचाइ सुविधा पुग्ने किसानहरू बताउँछन्। कैलालीमा झण्डै ३८ हजार ३ शय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य आयोजनाको छ।
आयोजनाले पहिलो चरण २०६७/०६८ देखि २०७४/०७५ मा विश्व बैंकको १२ अर्ब ३७ करोड ७५ लाख रुपैयाँ लागतमा निर्माण कार्य गरेको छ भने दोस्रो चरण २०७४/०७५ देखि २०८०/०८१ मा थप १५ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ छुट्याएको छ। हाल दोस्रो चरणका निर्माण कार्यहरू भइरहेका छन्।