मधेस सरकारले ल्यायो ४४ अर्ब ११ करोडको बजेट
जनकपुरधाम : मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको छ।
शुक्रबार अर्थमन्त्री संजयकुमार यादवले प्रस्तुत गरेको वार्षिक आयव्यय विवरणमा चालु तर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात ४१.३० प्रतिशत रकम विनियोजन गरिएको छ।
यसैगरी पूँजीगततर्फ पूँजीगत तर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात ५८.२५ प्रतिशत, वित्तीय व्यवस्थातर्फ २० करोड अर्थात ०.४५ प्रतिशत विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतको राजश्वबाट ४ अर्व ३७ करोड ८१ लाख २ हजार, नेपाल सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त ११ अर्व ३८ करोड १९ लाख र समानीकरणवापत प्राप्त अनुदान ७ अर्व ४१ करोड ५० लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात १२ अर्व ९० करोड ११ लाख, विशेष अनुदान ४९ करोड, समपुरक अनुदान ९८ करोड, संघीय सरकारबाट सशर्त योजनाका लागि प्राप्त अनुदान ४ अर्व ५६ करोड ८५ लाख गरी जम्मा ४४ अर्व ११ करोड ४६ लाख ३२ हजार व्यहोर्दा २ अर्व न्यून हुने देखिन्छ। सो न्यून पूर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक बर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ। मधेस प्रदेश सरकारले यसअघि आर्थिक वर्ष २०७६/७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो। जसमा चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ छुट्याइएको थियो।
मधेस प्रदेश सरकारले २०७७/७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार र २०७८/७९ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो भने चालू आर्थिक वर्ष २०७९/८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याइएको थियो।