देशको चिन्ता हामीलाई पनि छ

देशको चिन्ता हामीलाई पनि छ

आजको नेपाली समाज र भोलिका दिनको अवस्थालाई हामीले यसरी देश बाहिर बसेकाहरूलाई ढोका बन्द गरेर वा जात काडेर त ‘सुखी र समृद्घ नेपाली’ कसरी सम्भव होला र ?

 

 

लेखनाथ भण्डारी

एकदिन एकजना साथीले म्यासेज गर्नुभयो, ‘कस्तो लाग्यो यो टिप्पणी ?’ राम्रा गीतका सर्जक, लेखक पत्रकारका रूपमा परिचित रमण घिमिरेको फेसबुक स्टाटस रहेछ, ‘देश बाहिर बसेर देशको यति धेरै चिन्ता नगर, देश बनाए÷बिगारे जे गरे पनि हामी नै गर्छौं तर देशको मायामा गोहीको आँसु नझार।’ यस्तै सन्देशको घिमिरेको स्टाटस अन्यथा नमान्नु होला। त्यही स्टाटसलाई कविद्वय राजेन्द्र शलभ र विधान आचार्यलगायतले राम्रो कविता भनेका छन्। शलभले लेखेका छन्, ‘कटु र मीठो यथार्थ कवितामार्फत आयो, बधाई छ कवि।’ आचार्यले त झनै पछुतो प्रकट गर्दै लेखेका छन्, ‘यस्तै सोचेर पनि लेख्ने आँट नगर्ने, भन्ने साहस नगर्ने म बुद्धुलाई बेस्सरी झकुल्यायो रमण यस कविताले।’
जनसंख्या र समाजशास्त्र प्राध्यापन गर्ने विज्ञ आचार्यलाई थाहा नभएको होला भन्ने लाग्दैन, मानव जातिको विकास र सभ्यताको प्रस्थानबिन्दु हो, बसाइँसराइ वा स्थानान्तरण। तर उनले देशबाहिर बसेकाहरूले देशप्रति राखेको चासो, चिन्ता र मायालाई चिमोट्न नसकेकोमा जुन पछुतो गरे त्यो देशबाहिर बस्नेहरूको घाउमा नुनचुक हो। उनको यसमा पछुतोभन्दा विचार गर्नुपर्ने घिमिरेको आक्रोशप्रति सान्त्वना थियो। देश छोड्नु र देशको चिन्ता चासो फरक मामला हुन्। कुनै घटना विशेष वा व्यक्तिका कारण कवि घिमिरे आवेगमै आए पनि दुःख यसमा बढी छ। आचार्यले घरपरिवारका देश बाहिर बसेका आफन्तहरूका निस्वार्थ मनको घाउमा मित्रलाई अघि सारेर नुनचुक छर्ने काम किन 
एकैचोटी गर्नु भयो ?
लाग्दैन, मित्रताको मापदण्ड कुनै मित्रले कुनै कारणवश आवेगमा आएर केही अन्यथा लेखे वा बोले पनि आगोमा घिउ थप्ने ! काम सही हो। हुन त यसमा उनीहरू दुवैले आवेगमा आएको होइन र घिउ थपेको पनि छैन भन्नुहोला। तर आजको नेपाली समाज र भोलिका दिनको अवस्थालाई हामीले यसरी देश बाहिर बसेकाहरूलाई ढोका बन्द गरेर वा जात काडेर त ‘सुखी र समृद्ध नेपाली’ कसरी सम्भव होला र ? रहरले होस् वा बाध्यता, जसले देश छोडेका छन् ती कसैले पनि देशको कुभलो गरेर भागेका वा राज्यले देशको कुभलो गरिस् भनेर लखेटिएका होइनन्। देश बाहिर रहेबसेकाहरू कसैले चाहेर पनि देशको कुभलो गर्न सक्दैनन् वा गरेका छैनन्। कुनै व्यक्तिले कुनै देशको सार्वजनिक भए गरेका सामाजिक विषयमा बोल्नु र लेख्नु स्वाभाविक हो। तर जन्मभूमिप्रति आफ्नै घरपरिवारका सदस्यहरूको सद्भाव र चासोलाई ‘गोहीका आँसु’ करार गर्न किन प्रयास गरिरहनु भएको छ रमण दाइहरू ?
जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छ कवि भन्ने चेतना प्रवाह गर्ने कविले आप्रवासनलाई यति धेरै नकारात्मक टिप्पणीमा खुम्चिनुभन्दा ‘बसुधैव कुटुम्बकम’मा विश्वास गर्नुपर्ने थियो। स्पष्टीकरण दिन सक्नुहुन्छ– ‘लेखनाथ तँलाई नै भनेको हो र ?’
यो त एउटा प्रवृत्तिको कुरामात्र हो। तर देश बाहिर बसेकाहरूले देशविरुद्ध घात गरेको अवस्थामा बाहेक राखेको चासो चिन्तालाई 
‘गोहीका आँसु वा बनाउन बिगार्न जे मन लाग्छ म नै गर्छु’ भनेर भन्न मिल्दै मिल्दैन। देश बाहिर बसेर नै वा फर्केर देशका लागि केही गर्छु भन्नेहरूलाई यसले हतोत्साहित गर्छ।
झापा जिल्लाको सन्दर्भमा पत्रकारिता र साहित्यको गोरेटोमा म एस.एल. शर्मा, भवानी घिमिरे, नकुल काजी, चूडामणि रेग्मी, डिल्लीराम निर्भीक, तारा बराल, कृष्ण धरावासी, लीला उदासी, गञ्जबहादुर दाहाललगायत र काठमाडौंमा विष्णुविभु घिमिरे, विधान आचार्य, राजेन्द्र शलभ, रमण घिमिरेलगायतकै हात समातेर हुर्केको हुँ। हामी कोही एकाध वर्षअघि वा पछि स्वदेश वा विदेश त गरिरहेकै छौं नि। होइन र ? शलभलाई न्युयोर्कमा भेटेको थिएँ। कुनै समय, काठमाडौंका सडकमा थियौं भने आचार्य नेपाल बाहिर। कवि घिमिरेलाई सम्झना हुनुपर्छ, विश्व काव्य यात्रामा तपाईंहरू न्युयोर्क आउँदा क्रुज कविता वाचनका श्रोताका रूपमा न्युयोर्कवासी नेपालीका अतिरिक्त वासिङ्टन डीसी आसपासका नेपाली पनि सहभागी थिए।
हामी कसैले पनि ती देशको मल्टिपल भिसाको पासपोर्ट गोजीमा राखेर नेपालमा बस्नु र कसैले त्यही पासपोर्टको भिसामा विदेशमा बस्नुमा कति ठूलो अन्तर छ र ? रोल्पाबाट काठमाडौं आइपुग्न अहिले पनि २४ घण्टा लाग्छ भने २२ घण्टामा त अमेरिका नै आइपुगियो नि ! लीला लेखनका अध्येता रत्नमणि नेपाल एक प्रसंगमा गत हप्ता सुनाउँदै थिए, ‘हामी कति नै पो टाढा छौं र ? हामीले कति पल्ट कर्णालीमा पाइला टेकेका छौं र कति पटक विदेश बसे भनेर ‘जात काडिएका’ नेपाली बसोबास गरेका मुलुकहरूमा ? हामीले आआफ्नो बायोडाटामा कर्णाली वा मुस्ताङ यति पटक गएको भनेर लेखेका छौं ? वा विदेश भ्रमणको विवरण र त्यहाँको दीक्षाको विवरण भरेका छौं ?
धरावासीसँग गतसाता मात्र कवि तुलसी दिवस र नेपालसँगको लीला लेखन चर्चा सम्बन्धित कार्यक्रममा भेट भएको थियो। तारा दाइलाई रमण दाइको कविता सेयर गरेको थिएँ, ‘विदेशमा बसेर देशको कसैले चिन्ता ग¥यो त के बिगा¥यो ? देशभित्रै बसेर पनि देशको हितमा काम नगर्नेसँग होस् वा देशमा नराम्रो नगर, राम्रो गर भनेर सोध्न र प्रश्न गर्न किन नहुने ? यो अलिक अतिवादी राष्ट्रवाद भयो कि ? हामीले नबुझेको हो कि विद्वान् दाइहरूले ? तारा नेपाल–अमेरिका ओहोरदोहोर गरिरहन्छन्।
देश किन छोडें ? रहर वा बाध्यता पनि थिएन। देश छोडेकोमा खुसी पनि छैन र फर्किहाल्न सक्ने अवस्था पनि छैन। समकालीन नेपाली समाजको समुन्नतिका लागि केही गर्न नसकेकोमा पछुतो छ। तर यो पनि हो। देशका कुनै पनि समस्या देश छोडेकाहरूका कारण उत्पन्न भएका होइनन्। देशका लागि आवश्यक नागरिक नपुगेर पनि देश पछाडि परेको होइन। हप्ता दिन नै मनमा कुरा खेलिरह्यो। हिजो मध्यरातमा लेख्दा लेख्दै छोडेको यो ड्राफ्ट कसरी टुंग्याउने ? जसरी लेख्दैछु, त्यसरी लेखेर आफूले वर्षौं पहिले छोडेको भूगोल रुँघेर बस्नु हुने अग्रजहरूसँग सबाल–जवाफ वा मन दुःखाएर हुन्छ र ? भोलि साह्रो गाह्रो पर्दा माफी मिनाहा माग्दै जाने ठाउँ पनि त राख्नु प¥यो। न मन बुझाउने ठाउँ छ न रुने छुट !
सम्भव हुन्थ्यो भने त आफ्नो जन्मघर र गाउँमै जीवन आमा–बुवाकै काखमा हाँसीखेली जीवन बिताउन सके कति रमाइलो हुन्थ्यो हो ! जन्मघर र गाउँ छोडे पनि देश नै किन छोड्नु पथ्यो र ? तर मानव जातिको विकास र सभ्यताको प्रस्थानबिन्दु हो, बसाइँसराइ वा स्थानान्तरण। यो सन्दर्भ संकेतमात्र हो। यी सबै प्रक्रियाको वर्णन गरेर अग्रजहरूलाई अनुजहरूले ओठे जवाफ लगाउनु शोभनीय हुँदैन। देश कहाँदेखि कहाँसम्म हो ? म जन्मेको भोजपुर, रमण दाइको इलाम वा विधान दाइको तनहुँ। हो, जन्मभूमिको सम्झना, माया र सद्भाव र राष्ट्रियता सबैलाई उत्तिकै प्यारो हुन्छ। यस्तो पनि लाग्छ– नेपाली समाजको वर्तमान अवस्थाका बारेमा हजारौं माइल टाढा बसेर पूर्वस्मृतिका भरमा धारणा बनाउनु र टिप्पणी गर्नु अनुमानित आग्रह मात्र हुन सक्छ। आफू हजारौं माइल टाढा पुग्दा पनि आफूले छोडेको समाज र भूगोल यथास्थितिमै उभिएर हाम्रा पर्खाइमा विरही गीत गाएर रोइरहोस् भन्न कसरी मिल्छ ? तर देशको चासो, चिन्ता र सम्बृद्धिको कामना वा कमी, कमजोरीमाथि औंला उठाउन नै 
नहुने त कहाँ हो र ?
हामी नेपाली मेचीका हौं वा महाकालीका तर सबै एकै छानोमुनि हुर्केका र एकै चुल्होमा मानोमुठ्ठी बाँडेर खाएका हौं। कोही १९ वा २० हुन सक्छौं तर म ९९ वा १०० र अरू १ वा शून्य नै हुन् भनेर सोच्यौं भने आज हामी चढेको जहाज अझै भुमरीमा फस्दै जानेछ। हाम्रा साझा प्राथमिकता पहिल्याउन, 
साझा आवश्यकता पूरा गर्न र साझा कमजोरी सच्याउन एकअर्कालाई निषेध गरेर सम्भव छैन। जो जहाँ छौं, सबैले सकेको र जानेको मित्रवत् वातावरणमा प्रयास गरौं।
हामी सबैको जीवनयात्रा निकाश खोज्दै नदीजस्तै बगिरहन्छ। म भोजपुरमा जन्में, हुर्कें। भोजपुरबाट पैदल हिँडेरै झापा पुगें। झापाबाट बस चढेर काठमाडौं छिरें। काठमाडौंबाट जहाजमा उडेर अमेरिकामा झरें। पानीले खोज्ने वा समात्ने पनि पानी नै त हो। त्यसैले बगेको पानी पुग्ने त सागरमै हो। हिँडिरहँदा हामी मानिसले भेट्ने र खोज्ने मानिस नै हो। दाइहरू यता आउँदा भाइहरू कता छौ ? भनेर सोध्नुहुन्छ। म (हामी) उता जाँदा दाइहरू कता हुनुहुन्छ ? भनेर खोज्छु (खोज्छौं)। न त बग्दैमा पानीको गुण बदलिन्छ न त 
हिँड्दैमा जीवनको परिभाषा ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.