अन्यथा नमान्नु होला
अथवा देश उमार्ने बिउ त हाम्रो हातमा छ त्यसैले तिमी देशको यति साह्रो चिन्ता नगर
रहरले होस् कि
अथवा ठूलो कुनै महत्त्वाकांक्षाले होस्
आखिर पुगी त सक्यौ हान्निएर
अस्ट्रेलिया, अमेरिका
अनि फेरि किन गुनासो देश बनेन भनेर ?
देश बने पनि
देश बिग्रे पनि
तिमी निमित्त हुँदै होइन
तिमी त रमिते मात्र हौ
तिमीले पातालमा
हनुमानचालिसा पढेर
यहाँ देश बन्दैन
देश त हामी बनाउँछौं
बिगारे पनि हामी नै बिगार्छौं
किनभने
देश खन्ने कोदालो
देश चिल्याउने खुर्पा
अथवा
देश उमार्ने बिउ त
हाम्रो हातमा छ
त्यसैले तिमी
देशको यति साह्रो चिन्ता नगर
चिन्ता पनि हामी गर्छौं
चिन्तन पनि हामी गर्छौं
त्यहाँबाट तिमीले
गोहीको आँसु झार्दा
यहाँ देश डुब्दैन
हो,
यो तिम्रो पनि देश हो
तर तिम्रा एकालापले
यस देशको चोला फेरिँदैन
आफ्नो सुखसयल खोज्दै परदेशिनेले
देशको दुःख किन रुनु ?
तिमी उतैका भइसकेका छौ रहरले
उतैको ज्यालादारी गर्छौं
उतैको मानो खान्छौ
उतैको ‘गीता’ गाएर आनन्दित हुन्छौ
यहाँको चिन्ता
हामीलाई छोडिदेऊ
बनाउन सके बनाउँला देशलाई
सकेनौं भने पनि
देश सप्रेन भनेर
भुइँचालो आउँदाजस्तो
भागेर पलायन हुँदैनौं
यहीँ किलो गाडेर बस्छौं
मेरो भावनालाई
जति नै लान्छना लगाएर
फलाक, सराप, धारेहात लगाऊ
र, भन– देश मेरो पनि हो
तर तिमीलाई नै थाहा छ
दुइटा नाउमा खुट्टा राख्नुको
परिणाम के हुन्छ !
कविकै फेसबुकबाट