सरकारले बढाएको करबाट उद्योगी व्यवसायीलाई मार
परासी : चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले बढाएको करबाट उद्योगी व्यवसायीहरू मारमा परेको बताएका छन्।
नवलपरासी चेम्बर्स अफ कमर्सको प्रथम साधारणसभा एवं अधिवेशन उद्घाटन गर्न शनिबार नवलपरासी पुगेका उनले कर बढाउँदा उद्योगी व्यवसायीहरू हत्तोत्साहित भएको बताए।
सरकारले कर घटाएर उद्योगी व्यवसायीहरूलाई राहत दिने अपेक्षा गरिरहेका बेला कर बढाएर लगानीको वातावरण बिगारेको उनको आरोप थियो। ‘राज्यले कर बढाएर देशभित्रका उद्योगी व्यवसायीहरू निराश भएका छन्। यस्तो अवस्थामा विदेशी लगानीको अपेक्षा कसरी गर्न सकिन्छ ? ’उनले भने।
स्थानीय स्तरमा ‘थ्रि पि’ का आधारमा लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। ‘स्थानीय तहमा अब पब्लिक, प्राइभेट र पाटनर सीपका माध्यमबाट लगानी गर्न सकिने छ त्यसका लागि स्थानीय सरकारले वातावरण बनाउन पर्यो,’ उनले भने।
उनले बैंकले व्यवसायीहरूलाई पक्षपात गरेको गुनासो गरे। सानालाई ऐन र ठूलालाई चैन बनाएको भन्दै बैंकले कर्जा दिँदा सम्बन्धका आधारमा बेस रेटमा शून्य दशमलव ५ प्रतिशत प्रिमियम लिने र सम्बन्ध नभएका व्यवसायीहरूलाई ५ प्रतिशत लिने गरेको बताए ।
लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक प्रसाद पोखरेलले नेपालको राजनीति थितिमा नभएका कारण उद्योगी व्यवसायीहरूले दुःख पाइरहनु परेको बताए।