बालविवाह रोक्न धामी र पण्डित नै सक्रिय
वीरेन्द्रनगर : कालिकोटमा बालविवाह रोक्नका लागि देवताका धामी, झाँक्री र विवाह गराउने पण्डित नै सक्रिय हुन थालेका छन्।
पछिल्ला समय स्थानीय सरकार र बालविवाह बिरुद्ध अभियान चलाइरहेका गैरसरकारी निकायहरूको सहजीकरणमा बालविवाह रोक्न देवताका धामी र विवाह गरिदिने पण्डित नै सक्रिय हुन थालेका हुन्।
जिल्लाको शुभकालिका गाउँपालिकामा शनिबार गाउँपालिकामा रहेको सबै धाँमी झाँक्री र पण्डितहरूले बालविवाह विरुद्ध एक भएर लाग्ने प्रतिबद्धता जनाए।
धाँमी झाँक्री तथा पण्डितहरूको भेलामा बालविवाह कोही कसैले गर्ने र गराउने छैनौँ, २० वर्ष नपुगेकालाई लगन दिने छैनौँ, लगन माग्ने आउनेलाई दुलाह र दुलहीको जन्मदर्ता माग्नेछौँ, बालविवाह विरुद्धको अभियानको नेतृत्व धामी झाँक्री र पण्डितहरूले नै गर्नेछौँ र कसैले बालविवाह गर्न लागे सम्बन्धित ठाउँमा जानकारी गर्ने प्रतिबद्धता जनाएका हुन्।
गाउँपालिका अध्यक्ष गोविन्द आचार्यले बालविवाह, छाउपडी प्रथा, घरेलु हिंसा जस्ता सामाजिक विकृति मुक्त गाउँपालिका बनाउने अभियानमा धाँमी, झाँक्री र पण्डितहरूको साथले उत्साह थपिएको बताए।
उनले भने, 'हामी हिंसा र विभेद मुक्त समाज बनाउने अभियानमा छौँ। यो अभियानलाई सफल बनाउनका लागि सबैको सहयोगको अपेक्षा गरेका छौँ।'
गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले सामाजिक विकृतिहरूका कारण महिला, दलित, बालबालिका जस्ता लक्षित समूहहरूले समस्या भोग्नु परेको बताउँदै यसका बिरुद्ध कडा रुपमा लाग्ने बताइन्। उनले भनिन्, 'हामीले सुरुवातमा सबैलाई सचेतना जोगाउछौँ। सबै पक्षहरूसँग छलफल गरेर बालविवाह, छाउपडी प्रथा, बहुविवाह, लैंगिक हिंसा जस्ता सामाजिक विकृति विरुद्धको अभियान थाल्छौँ। तर सचेत बनाउँदा बनाउदै पनि कसैले हिंसा र विभेद गरे कडा रुपमा कानुनी कारबाही गर्ने व्यवस्था मिलाउछौँ।'
नेपाली कांग्रेसका उपसभापति नन्दबहादुर शाहीले बालविवाह कानुनी र सामाजिक अपराध भएकाले हामी त्यसलाई अन्त्य गर्न लागिरहेको बताए।
उनले भने, 'विभेद र हिंसा गर्ने जोकोही भएपनि राजनीतिक संरक्षण हुँदैन। सरकार, स्थानीय नागरिक, पण्डित र धामीहरू सबैले थालेको यो सामाजिक विकृति विरुद्धको अभियानमा नेपाली कांग्रेसले पनि ऐक्यबद्धता जनाउँछ। विभेद र हिंसा गर्नेलाई कुनै पनि पार्टीले राजनीतिक संरक्षण गर्नु हुँदैन।'
कार्यक्रममा २० वर्ष पुग्दा पनि विवाह नगरेर बसेका ६ जना किसोरीहरूलाई सम्मान गर्नुका साथै सामाजिक विकृति विरुद्धका देउडा, एकल गीत लगायतका सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो।