मकवानपुरगढीमा बेथितिका चाङ : महालेखाले उठायो प्रश्न
हेटौंडा : मकवानपुरगढी गाउँपालिकाले बील भरपाइ नगरी रकम भुक्तानी गरेको तथ्य खुलेको छ । पालिकाले आर्थिक वर्ष २०७८/०७९ मा गोठ सुधार कार्यक्रमअन्तरगत रविन्द्र हुमागाईंलाई बील भरपाइ बेगर १ लाख ९ हजार ४५० रुपैयाँ भुक्तानी गरेको तथ्य फेला परेको हो ।
बील भरपाइ नगरी रकम भुक्तानी भएपछि महालेखा परिक्षकको कार्यालयले बील भरपाइ नभएको खण्डमा सो रकम असुल हुनुपर्ने जनाएको छ । महालेखाको प्रतिवेदनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ को उपनियम १० अनुसार जिम्मेवार व्यक्तिले सरकारी रकम खर्च लेख्नुपूर्व त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बील भरइई र काजगात संलग्न भए वा नभएको एकिन गरी संलग्न कागजात अनुसार भुक्तानी दिन रित पुगे नपुगेको जाँच गर्नुपर्ने उल्लेख गरेको छ ।
दोहोरो सामाजिक सुरक्षा भत्ता,मृत्यु भएका व्यक्तिको नाम हटाइएन
गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणमा समेत लापरबाही गरेको खुलेको छ । मकवानपुरगढी–३ का हरिप्रसाद दुलाललाई दोहोरो रुपमा सामाजिक सुरक्षा भत्ता वितरण भएको महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । उनलाई पालिकाले दोहोरो १२ हजार भुक्तानी गरेको छ ।
त्यस्तै सामाजिक सुरक्षा भत्ता वितरणको क्रममा मृत्यु भइसकेका व्यक्तिको पनि भत्ता वितरणको सूचिबाट नाम नहटाइएको पाइएको छ । गाउँपालिका र वडाहरुले एमआइएस प्रणाली समयमा नै अपडेट नगर्ने, पूर्ण विवरण नराख्ने एमआइएस अभिलेख तथा मुलखातामा समयमै अभिलेख कट्टि नगर्ने गरेको पाइएको हो ।
महालेखाले पालिकालाई लाभग्राहीको नाम, दर्ता र नविकरण लगत कट्टा तोकिएको मितिभित्रै परिचयपत्र अनिवार्य रुपमा नविकरण गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्न, प्रत्येक वर्ष लगत अध्यावधिक संख्या एकिन गर्न, नियमित अनुगमन गर्न, केन्द्रित सूचना प्रणालीमा प्रविष्ट गरी अध्यावधिक गर्न निर्देशनसमेत दिएको छ ।
व्यक्ति र संस्था तोकेर गाई बाँडियो
गाउँपालिकाले वडा कार्यालयमार्फत् गाई खरिद् गरेर कृषकलाई वितरण गरेकोमा समेत महालेखाले प्रश्न उठाएको छ । गाई वितरणको लागि नियम, आधारसमेत नबनाई व्यक्ति र संस्था तोकेर गाई वितरण गरेको भन्दै महालेखाले प्रश्न उठाएको हो ।
पालिकाले लागत साझेदारीमा गाई प्रवद्र्धनका लागि विभिन्न कृषक समूह सहकारीलाई अनुदान उपलब्ध गराएकोमा पटके निर्णयका आधार वितरण गरेको छ । ‘खरिदको लागत अनुमान, स्पेशिफिकेशन नबनाउँदा खरिद मूल्य पटकै पिच्छे फरक परेकोले खरिद मितव्यही छ भन्न सकिने आधार छैन । वितरण गरिएका गाईको स्वास्थ्यका बारेमा पशु चिकित्सकबाट प्रमाणित गराई वितरण गर्नु गराउनुपर्नेमा सो गरेको पाइएन । खरिद गरिएका गाईको बीमा पनि गरिएको छैन । विगतमा त्यस्तै सर्तमा कति कृषकलाई गाई वितरण गरिएको थियो त्यसको कुनै विवरण अध्यावधिक छैन ,'महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
कृषक छनौटका आधारहरु के–के हुन्, के कसरी मुल्यांकन भई उक्त संस्था वा कृषक छनौट भए, सो खुल्ने आधार नदेखिएको भन्दै महालेखाले आधार आवश्यक भएको अन्यथा सो रकम असुल गर्नुपर्ने उल्लेख गरेको छ ।
महालेखाले लेखापरिक्षणको क्रममा नमुना छनौटको आधारमा ज्ञानु पशुपालन फर्म,शक्तिस्वरी गाई फर्म, लक्ष्मी नारायण एग्रो लाइभरस्टक फर्मको परिक्षण गरेको थियो ।