जाजरकोटमा सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर
जाजरकोट : भेरी नगरपालिका ११ स्थिति जगतिपुर सामुदायिक वन लागेको आगो नियन्त्रण बाहिर गएको छ । वडाको दक्षिण पूर्वी क्षेत्रबाट तीन दिनदेखि फैलिएको आगो नियन्त्रण बाहिर गएको हो ।
विकट भूगोलका कारण स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेनाले अथक प्रयास गरेपनि नियन्त्रण बाहिर गएको स्थानीय केशवप्रसाद शर्माले बताए । उनका अनुसार उक्त वन क्षेत्र भित्र २०७६ साल देखि एभरेस्ट कम्पनी र जगतिपुर सामुदायिक वन उपभोक्ता समिति भेरी ११ बीच सम्झौता भइ खोटो निकाल्ने कार्य भइरहेको थियो ।
खोटोमा कसैले आगो लगाइदिएको हुनसक्ने प्रहरीको अनुमान छ । खोटो प्रज्ज्वलनशील पदार्थ हो । खोटोमा लागेको आगो वनभरी फैलिएको हो । वनबाट बस्तीमा आगो पस्न सक्ने खतरा रहेको स्थानीयको भनाइ छ ।
सामुदायिक वन क्षेत्रभित्र २०० देखि २५० संकलित टिना खोटो जलेर नस्ट हुनुका साथै १२०० बढी सल्लीमा लगाएका गमलाहरु नष्ट भएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गणेश आचार्यले जानकारी दिए । उनका अनुसार वनमा आगोका कारण वन सखाप भएर लाखौंको क्षति भएको छ ।