बजेट सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न एमाले सांसदहरूलाई ओलीको निर्देशन
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
आइतबार सातै प्रदेशका नेकपा एमालेबाट निर्वाचित प्रदेश सभासदहरूसँग भर्चुअल बैठकमा निर्देशनात्मक सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट छलफलमा भाग लिँदा विरोधका नाममा विरोध नभइ देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्नेगरी आवाज उठाउन आग्रह गरेका हुन्।
उनले भने,'देशको बजेट सरकार सञ्चालन,भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्छ। तर त्यसरी नबनाइ सरकारमा रहेका मानिसहरूको स्वार्थमा प्रेरित बनाइएको छ। बजेटका गलत कुराहरूलाई सच्याउन बाध्य पार्नेगरी विरोधमा उत्रिनुहोस्। '
अध्यक्ष ओलीले बजेट विनियोजन पैतृक सम्पत्तीजस्तो गरी मुख्यमन्त्री र अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर बजेटको दुरूपयोग भएको आरोप लगाए। उनले कुनै पनि हालतमा यथास्थितमा बजेट पास गर्न नहुने बताए।
उनले कोशी प्रदेश नामाकरण र त्यसपछि उत्पन्न परिस्थितिका सन्दर्भमा पनि पार्टीको धारणा राखेका थिए। प्रदेश सभाको दुई तिहाइले विधिवत् ढंगले निर्णय गरेको कोशी नामाकरणलाई लिएर झमेला निकाल्न खोजिएको बताउँदै अध्यक्ष ओलीले कोशी सभ्यतासँग जोडिएको र यसले त्यस प्रदेशलाई सम्पूर्णरुपमा समेट्ने दावी गरे।
उनले संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर अनुचित ढंगले नाम परिवर्तन नहुने र साम्प्रदायिक,हिंसात्समक र अराजक गतिविधि एमालेलाई स्वीकार्य नहुने बताए।
कोशी प्रदेश सरकारमा देखिएको समस्या समाधान गरिने र नेकपा एमाले नेतृत्वको सरकार कायम रहनेमा जोड दिए। बैठकमा प्रदेशसभा संसदीय दलका नेताहरूले आ-आफ्ना प्रदेशमा सरकारद्वारा प्रस्तुत नीति,कार्यक्रम र बजेटका सम्बन्धमा जानकारी गराएका थिए।