मकवानपुरमा डेढ करोडको कपडा बरामद, दुई भारतीय नागरिक पक्राउ
हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब डेढ करोड मूल्य बराबरको कपडासहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।
हेटौंडा–१५ रातोमाटेमा भारतबाट भन्सार छली ल्याएको ९० बोरा कपडासहित ट्रक र दुई जना मानिस नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक (प्रवत्ता) टेकबहादुर कार्कीले जानकारी दिए।
प्रहरीले सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बी आर ०६ जी ई ५०५३ नम्बरको ट्रकलाई हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट नियन्त्रणमा लिएको थियो।
विशेष सूचनाका आधारमा उक्त ट्रकलाई राकेर चेकजाँच गर्दा चारैतिरबाट प्याजको १६८ वटा बोराहरुले छोपी बीच भागमा लुकाएर ल्याएको अवस्थामा ९० बोरा कपडा बरामद गरिएको हो।
प्रवक्ता कार्कीका अनुसार ट्रकमा रहेको पाईन्टको कपडा एक करोड २८ लाख ९६ हजार रुपैयाँ, सुटको कपडा ३ लाख रुपैयाँ, सर्टको कपडा १६ लाख ७६ हजार २५० रुपैयाँ, सेरवानी कुर्था एक लाख ३ हजार रुपैयाँ र कोरा कपडा ५ लाख २५ हजार ४४७ रुपैयाँ मुल्य रहेको छ।
त्यसैगरी १६८ वटा बोरामा रहेको ८४ कुन्टल प्याजको मूल्य २ लाख ५२ हजार रुपैयाँ रहेको पनि प्रवक्ता कार्कीले जानकारी दिए।
नियन्त्रणमा लिएको उक्त कपडाको बजार मूल्य एक करोड ५५ लाख ६९७ रुपयाँ बराबर रहेको र १६८ बोरा प्याजको भने प्रतिकिलो ५० दरले प्याजको भन्सार काटिएको प्रवक्ता कार्कीले बताए।
अवैध कपडा सहित ट्रक चालक भारत पन्जाब प्रान्त लोदियाना ग्राम रसलपुर वडा नम्बर–७ बस्ने ३३ वर्षीयका रन्जौद सिंह र सह–चालक विहार प्रान्त मोजफरपुर माहामाद बस्ने २६ वर्षीयका सुधिर कुमार सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।