असन्तुलित जनसंख्या
जनसंख्याको सन्तुलन खल्बलिन नदिन बेलामा ध्यान पुर्याइएन भने दीर्घकालमा आपत् आइलाग्दा आश्चर्य मान्नुपर्ने छैन। तर, त्यो मुलुकका लागि दुर्भाग्य हुनेछ।
पानी ओरालो बग्छ। मानिस पनि अवसरको खोजीमा बगिरहन्छ। जता अवसर हुन्छ, त्यतै जान्छ मान्छे। जसरी पानी एकै ठाउँमा थुप्रिँदा ताल जम्छ वा सागर बन्छ, समुद्र बन्छ। मानिसहरू जम्मा हुँदै जाँदा सहर बन्छ। सहर बन्नु नराम्रो होइन तर जनसंख्याको थुप्रोमात्रै एकै ठाउँमा लाग्यो भने त्यसले सिर्जना गर्ने समस्या अनेक हुन सक्छन्। बसोबास व्यवस्थित बनाउनु निकै ठूलो चुनौतीपूर्ण काम हो। पछिल्लो समय नेपालको जनसंख्या पानी झैं आरोलो लागिरहेको छ। पहाड र हिमाली भेगबाट जनसंख्या तराई मधेसमा थुप्रिँदो छ। जसै जनसंख्या मधेस झर्दाे छ, पहाड र हिमालका घरहरू रित्तारित्ता र सुनसान हुँदैछन्। खेतबारी बाँझो बन्दैछन्। अनि तराईमा चाहिँ खेतीयोग्य जमिन मासिएर घडेरी बन्दैछन्।
कृषि जमिन कतै मासिने र कतै बाँझो हुनुको मतलब हो उत्पादन घट्नु। खाद्यान्न अभाव हुनु हो। पहाड र हिमालतिर सडक सञ्जाल धमाधम विस्तार भइरहेको छ। बिजुलीका तारहरू टाँगिएका छन्। खानेपानीका पाइपहरू बिछ्याइएका छन्। तर पनि शिक्षा र स्वास्थ्यलगायत सहज पहँुचको खोजीमा, रोजगारी र उद्यम व्यवसायको अवसर हेर्दै मानिस भने धमाधम तराई मधेस झरिरहेका छन्। हालै सार्वजनिक जनगणनाको तथ्यांकले भन्छ– हिमाली प्रदेशमा ६.०८ प्रतिशत जनसंख्या छ जबकि मुलुकको कुल भूभागको ३५ प्रतिशत क्षेत्रफल हिमाली प्रदेशको हो। ४२ प्रतिशत क्षेत्रफल भएको पहाडी प्रदेशमा ४०.१६ प्रतिशत जनसंख्या छ। सबैभन्दा थोरै अर्थात् २३ प्रतिशत भूगोल हो तराईको। त्यही छ मुलुकको आधाभन्दा बेसी जनसंख्या अर्थात् ५३.६
नेपालीको बसोबास।
जनसंख्या एकै ठाउँ हुँदा सेवासुविधा एकत्रित गर्न सहज पनि हुन्छ तर सन्तुलन कायम गर्न सकिएन भने द्वन्द्व सिर्जना हुन पनि बेर लाग्दैन। जनसंख्या शक्ति पनि हो, स्रोत पनि हो र जोखिम पनि। त्यसैले जनसंख्या व्यवस्थापन गरिनुपर्छ। मानिसलाई डोर्याएर कतै लगेर राख्न सकिन्न। राज्यको नीतिले जनसंख्या व्यवस्थापन गर्न सकिन्छ। पहाड र हिमालमा स्वास्थ्य र शिक्षाको पहुँच बढाउन सक्नुपर्छ। उद्यमशीलताको अवसर सिर्जना गरिनुपर्छ। कृषिलाई व्यवसायीकरण गर्ने, खानेपानी र सिँचाइको व्यवस्था गर्ने हो भने नेपालका पहाड र हिमाली क्षेत्रमा बसोबास गरिरहन जो कोही पनि राजी हुन्छ। पर्यटनको सम्भावना पनि उत्तिकै छ, हाम्रा पहाडी हिमाली क्षेत्रमा। आखिर मौसमका हिसाबमा पनि पहाडी र हिमालीहरू उपयुक्त बासस्थान हुन्।
जनसंख्याको सन्तुलन खल्बलिन नदिन बेलामा ध्यान पुर्याइएन भने दीर्घकालमा आपत् आइलाग्दा आश्चर्य मान्नुपर्ने छैन। तर, त्यो मुलुकका लागि दुर्भाग्य हुनेछ।