अर्को मिति सहमतिमा तय गरिने

कोसी प्रदेश सरकार र पहिचान पक्षधरबीच पहिलो चरणको वार्ता सकियो

कोसी प्रदेश सरकार र पहिचान पक्षधरबीच पहिलो चरणको वार्ता सकियो
तस्बिर : अन्नपूर्ण

विराटनगर  : कोसी प्रदेश सरकार र पहिचान पक्षधरबीच सोमबार भएको पहिलो चरणको वार्ता सकिएको छ ।  दुवै पक्षबीच हुने वार्ताको अर्को मिति आपसी सहमतिमा तय गरिने भएको छ । प्रदेश राजधानी विराटनगरस्थित बिग होटलमा बिहान लगभग ९ बजेतिर वार्ता सुरु भएको थियो । वार्तामा ४ घण्टाजति घनिभूत छलफल भएको जनाइएको छ । दिउँसो १ बजेतिर पहिलो चरणको वार्ता सम्पन्न भएको दुवै पक्षले जनाएका छन् । 

प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेपछि त्यसको विरोधमा पहिचान पक्षधर आन्दोलित छन् । कोसी नाम खारेजी र बहुपहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै निरन्तर आन्दोलन हुन थालेपछि सरकारले वार्ताको आह्वान गरेको थियो । प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि आन्दोलनरत पहिचानवादीसँग सरकारले पहिलोपटक औपचारिक वार्ता गरेको हो । 

वार्तामा पहिचान पक्षधरको आन्दोलन, उनीहरूले राखेका माग, सरकारले गर्नसक्ने सम्बोधनलगायतका विषयमा छलफल भएको जनाइएको छ । वार्तामा सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रदेशका सिँचाई खानेपानी तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बो तथा सदस्यहरु उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सहभागी भएका थिए । 

आन्दोलनकारीका तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, ग्याल्जे शेर्पा, कुमार लिङ्देन ‘मिराक’, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जबेगू सहभागी भए । सरकारले औपचारिक आह्वान गरेपछि त्यसलाई स्वीकार गर्दै पहिचान पक्षधरका तर्फबाट पनि आइतबार वार्ता समिति बनाइएको थियो । 

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति घोषणा गरेर पहिचान पक्षधर आन्दोलित छन् । विराटनगर केन्द्रित आन्दोलन गरिरहेका उनीहरुले राजनीतिक दलका शीर्ष नेता तथा कोसीको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्यलाई जिल्ला प्रवेशमा रोक लगाउने गरिरहेका छन् । 

पहिलो चरणको वार्ता सकिएपछि दुवै पक्षले वार्ताको सुरुवात र छलफल शौहार्दपूर्ण तरिकाले भएको उल्लेख गरे । फेरि वार्तामार्फत नै अघि बढ्ने र दुवै पक्षको आपसी सल्लाह एवं सहमतिमा मिति तय गरिने सरकारी वार्ता टोलीका संयोजक मेन्याङ्बोले बताए । उनले पहिलो चरणको वार्तामा विषय प्रवेश भएको र पुनः वार्तामा बस्ने सहमति भएको उल्लेख गरे ।  

पहिचान पक्षधर वार्ता टोली सदस्य रामभक्त कुरुङबाङले फेरि बस्ने सहमति गरेर पहिलो चरणको वार्ता सम्पन्न गरिएको जानकारी दिए । उनले सरकारसँग वार्ता प्रारम्भ भएको र छलफल सकारात्मक दिशामा अघि बढेको बताए । वार्तामार्फत नै समस्याको समाधान गरेर अघि बढ्ने निस्कर्ष निकालिएको कुरुङबाङको भनाइ छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.