बागलुङ जीप दुर्घटनाः दुवै जना मृतकको पहिचान खुल्यो

बागलुङ : बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँ ठुलढुङ्गामा भएको पिकअप जीप दुर्घटनामा मृत्यु भएका दुई पुरुषको पहिचान खुलेको छ।
दुर्घटनामा परेर मृत्यु हुनेमा बागलुङ नगरपालिका-२ मा रहेको सम्झना स्टोर्सका मार्केटिङ कर्मचारी जैमिनी नगरपालिका-१० रांगखानीका दुर्गा पौडेल र चालक पर्वत जिल्लाको कुश्मा नगरपालिका-१ मालढुंगाका राजेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए।
जुत्ता चप्पल बिक्रीका लागि दुई दिनअघि गलकोट गएको ग १ च ९४८५ नम्बरको जीप बुधबार बिहान फर्किँदै गर्दा काठेखोला-५ मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा दुर्घटना भएको थियो। जीप लोकमार्गबाट झण्डै पाँच सय मिटर तल खसेको प्रनाउ केसीले बताए।
मृतक दुवैको लाशलाई पोष्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइने प्रनाउ केसीले बताए। उनले दुर्घटनाको कारण नखुलेको बताए।
प्रतिक्रिया दिनुहोस !
