विवाह मण्डपबाटै बेहुला पक्राउ
झापा : झापाको गौरादहमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१ निवासी साजनकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरिएको डीएसपी रिजालले बताए। जेठी श्रीमतीले आफ्नो श्रीमानले झापामा दोस्रो विवाह गर्न खोजेको भन्दै आजै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए।
सोही उजुरीका आधारमा चौधरीलाई पक्राउ गरिएको डीएसपी रिजालले बताए। जन्तीसहित आएका चौधरी गौरादह–२ एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी विवाह समारोहमा पुगेका थिए।
विवाह मण्डपबाटै बेहुला पक्राउ परेपछि बेहुली पक्ष र जन्तीको बिचल्ली भएको थियो। बेहुलीका परिवारजनलाई बेहुला विवाहित रहेको जानकारी थियो कि थिएन भनेर प्रहरीले थप छानबिन गरिरहेको छ।
यता पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।