प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन
झापा : झापाको भद्रपुर–८ स्थित प्रादेशिक अस्पतालको नयाँ भवनमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गर्दा सो भवन गुणस्तरहीन बनेको पाइएको छ।
सङ्घीय सरकारको करोडौँ लगानीमा ६ वर्षअघिदेखि निर्माण कार्य थालिएको प्रादेशिक अस्पतालको नवनिर्मित भवन उद्घाटन र हस्तान्तरण नहुँदै छतबाट पानी रसाउन थालेपछि अहिले सर्वत्र विरोध भइरहेको छ।
रंगरोगन गरी बाहिरबाट चिटिक्क बनाइएको नवनिर्मित अस्पतालको भवनभित्र छतको पानी रसाएर चुहिन थालिएको, ठाउँ–ठाउँमा वाल चर्किएको, अल्मुनियका झ्याल ढोका कमसल लगाएको, पानीका पाइप र विद्युतीय जडानमा समेत लापरबाही गरिएको देखिन्छ।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय झापाको रेखदेखमा बनेको सो अस्पतालको ठेक्का श्री कन्टेक प्राली काठमाडौंले २०७४ साल कार्तिक ३० गतेमा लिएको थियो।
निर्माण कम्पनीले सो भवन २०७९ साल भाद्र २५ गते सम्पन्न गरेको थियो।
५० शय्याको अस्पताल बनाउन निर्माण कम्पनीले २२ करोड ६१ लाख ३७ हजार ३५२ रुपैयाँमा ठेक्का लिएको भवन निर्माण आयोजना कार्यालय झापाले जनाएको छ। अस्पतालको नयाँ भवनमा ६ वटा ब्लक बनाइएको छ।
भवन निर्माण सम्पन्न भइसकेको भन्दै सघन सहरी तथा भवन निर्माण आयोजना प्रमुख रूपक आचार्यले सो भवन अस्पतालका प्रमुख डा. जयकुमार ठाकुरलाई जेठ २२ गते हस्तान्तरण गरेका थिए।
अस्पताल प्रशासनले नयाँ भवनको स्थलगत अनुगमन नै नगरी हतारमा आफ्नो स्वामित्वमा लिएपछि स्थानीयले त्यसको चर्को विरोध गरेका थिए। छतबाट पानी रसाएर कोठाहरूमा चुहिन थालेको, अन्य कामहरू समेत गुणस्तरहीन भएको भन्दै अस्पताल प्रशासन, भद्रपुर नगरपालिका र आयोजना कार्यालयलाई यहाँ स्थानीय युवाहरूले ज्ञापन पत्र समेत बुझाएका थिए।
कोसी प्रदेश सरकारको एक मात्र प्रादेशिक अस्पतालको नयाँ भवनप्रति सम्बन्धित पक्षले समेत बेवास्ता गरेको उनीहरूको आरोप छ। यता आयोजना प्रमुख सघन शहरी तथा भवन निर्माण आयोजना प्रमुख आचार्यले नवनिर्मित अस्पताल भवन हस्तान्तरण गर्ने क्रममा गम्भीर त्रुटि फेला परेको स्वीकारेका छन्। अस्पताल बनाउने निर्माण व्यवसायीबाट लापरबाही भएको बताउँदै उनले भने, ‘निर्माण कम्पनीलाई स्पष्टीकरण सोध्नेदेखि पुनः निर्माण गर्न निर्देशन दिइसकेका छौँ।’
निर्माण कम्पनी मात्र नभई आयोजनाबाट पनि दुई जना प्राविधिक कर्मचारी भवन रेखदेखका लागि खटाइएको थियो। ‘निर्माण कम्पनी दोषी भइहाले, प्राविधिक कर्मचारी पनि उतिकै दोषी हुन्,’ उनले भने, ‘यस बारेमा आयोजनाले छुट्टै छानबिन गर्छ।’ भर्खरै तीन महिना अघि झापा आएकोले आफू आउनुभन्दा अघि नै भवनको काम सकिसकेको उनको भनाइ छ। अस्पतालको अनुगमनमा जाँदा धेरै त्रुटि फेला परेको थियो। त्यसलाई तत्काल निर्माण कम्पनीलाई सच्याउन पनि लगाएको थियौँ। ‘छतबाट पानी रसाएको भर्खरै देखिएको हो,’ उनले भने।
भवनको छानबिन गरी कानुनी दायरामा ल्याउन माग
प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन बनेको भन्दै चौतर्फी विरोध र आलोचनापछि प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिपछि हटेका छन्।
समितिले बुधवार विज्ञप्ति जारी गर्दै भवन निर्माण प्रक्रियामा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको कुनै संलग्नता नभएको स्पष्ट पार्दै भवन निर्माणको क्रममा देखिएको त्रुटि र प्राविधिकहरूको संलग्नता सम्बन्धमा छानबिन गरी सम्बन्धित ठेकेदार तथा अनुगमन सुपरिवेक्षण गर्ने पक्षलाई कानुनी दायरामा ल्याई क्षतिपूर्ति समेत असुल उपर गर्न सरकारसँग माग गरिएको भनिएको छ।
समितिले नवनिर्मित अस्पतालको भवनमा देखिएको लापरबाही र असाधारण त्रुटिहरू निराकरण नभएसम्म सेवा प्रवाह गर्न नसकिने समेत विज्ञप्तिमा उल्लेख गरेको छ।
अस्पतालको पुरानो भवन जीर्ण, खरिद गरिएका उपकरणहरू बिग्रने र बिरामीहरूको चाप पनि बढ्दै गएकोले हस्तान्तरण प्रक्रियामा रहेको प्रादेशिक अस्पतालको नयाँ भवन अनुगमन गर्दा भवन कमसल बनेको र पानी चुहिने समस्या रहेको समितिले स्वीकार गरेको छ।
असारको पहिलो सातामा आएकै वर्षे झरीको पानी रसाएर चुहिएको, आइसियु कक्षमै छतबाट पानी चुहेको, छानाको फाइवर कमसल भएको र तीन वटा सेक्सनको छानाको जडानबाट पानी चुहिएको विज्ञप्तिमा उल्लेख छ।
२०८० जेठ २२ गते बसेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकमा हस्तान्तरण प्रक्रियाका विषयमा छलफल मात्र भएको जनाउँदै विज्ञप्ति भनिएको छ, अस्पतालको झ्याल ढोकाको सामग्री कमसल भएको, शौचालयमा धेरै समस्या देखिएको लगायतका विषय उठान हुँदा उक्त समस्या समाधान गर्ने र अन्य समस्याहरू भए ठेकेदारले धरौटी स्वरूप राखेको रकमबाटै आवश्यक व्यवस्थापन गर्ने गरी अघि बढ्ने छलफल भएको पनि जनाइएको छ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ बराल, भद्रपुर नगरपालिकाका प्रमुख तथा व्यवस्थापन समितिका पदेन सदस्य गणेश पोखरेल, समितिका सदस्यहरू लक्ष्मण पोखरेल, लक्ष्मण पाठक, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्का, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल र कुलबहादुर पौडेलले हस्ताक्षर गरी सो विज्ञप्ति मार्फत यथार्थ जानकारी गराउने प्रयास गरेका हुन्।