मानविकीको साख
त्रिभुवन विश्वविद्यालयको लामो इतिहास बोकेको मानविकी तथा सामाजिक शास्त्र संकायमा चिन्ताजनक रूपमा विद्यार्थी घटेर संकाय खण्डहर बन्न लागेको तर्फ चिन्ता र चासो बढेको छ। यो प्रवृत्ति संसारभरका विश्वविद्यालयहरूमा नै व्याप्त रहेको पछिल्ला अध्ययन अनुसन्धानहरूले देखाएको छ। त्यसो त त्रिवि मात्र हैन आज अन्य विश्वविद्यालयहरूमा समेत यो समस्या छ।
नेपालमा शिक्षा लिने दिने प्रकृयालाई अधिक मात्रामा आर्थिक लाभ–हानिको दृष्टिकोणबाट विश्लेषण गर्न थालिएको छ। यसले बोकेको मानवतावादलाई अवमूल्यन गरेर मानिसलाई भौतिकवादी बनाएको छ। कसैले मानविकीको अध्ययन पश्चात तुरुन्तै प्रतिफल पाइहाल्दैन होला। तर पनि मानिसभित्र रहेको अनेकन सम्भाव्यतालाई प्रष्फुटन गराउँछ। यसरी एउटा सभ्य र सुसंस्कृत नागरिक बन्न मानविकीले सघाउने कुरा बिर्सनु हुँदैन। मानविकीका विषयमा जीवन, जगत् र संस्कृति बुझ्ने क्षमता छ।
समाजका हरेक अवयवलाई एकअर्कासँग जोड्नेमात्र नभएर जीवन जीउने कलासमेत मानविकीले प्रदान गर्छ। यो समाज बुझ्ने विज्ञान भएकाले यसको महत्त्वलाई कतैबाट कुण्ठित पार्नु हँुदैन। हाम्रो समाज विविधतामा आधारित भएकाले पनि मानविकीको महत्त्व छ। यसले विद्यार्थीलाई प्रश्न गर्न सिकाउँछ। जब प्रश्न गर्ने क्षमता विद्यार्थीमा हुन्छ, समाधान पनि सजिलै निस्कन्छ। तसर्थ अहिलेको युवा पिँढीलाई मानविकीको महत्त्व बुझाइ समाजप्रति प्रतिबद्ध बनाउनु जरुरी छ। समाज विविध वर्गमा विभाजित छ भन्ने कुराको अनुसन्धानमा मानविकीको अध्ययनले सहयोग पु¥याउँछ।
मानविकीको ज्ञानको क्षेत्र फराकिलो र अनुसन्धानमूलक छ। यसले मानिसलाई सामाजिक परिवेशमा बाँच्न सिकाउँछ। यसको महिमा अपार छ। यसले नयाँ नयाँ ज्ञानका क्षेत्र पहिल्याइ त्यसलाई विकास र विस्तार गर्न मार्ग प्रसस्त गर्छ। प्राचीन युगदेखि अहिलेको उत्तर–आधुनिक युगसम्म आइपुग्दा मानवीय ज्ञानका क्षेत्रमा भएका उल्लेख्य अनुसन्धान र योगदानलाई आधार बनाई मानवताका न्यूनतम मूल्यमान्यतालाई आत्मसाथ गर्छ। यसरी एउटा सुसंस्कृत मानव जगत्को निर्माण गर्नुपर्छ भन्ने मान्यता मानविकीले राख्छ।
केही वर्षअगाडि बेलायतमा गरिएको एक सर्भेक्षणले देशको समग्र रोजगारीको अवस्थामा करिब ६० प्रतिशत मानविकी अध्ययन गर्ने विद्यार्थीले पूर्ति गरेको देखाएको छ। पश्चिमा मुलुकहरूले मानविकीका विषयहरूलाई उच्च महत्त्वका साथ अध्ययन अध्यापन गराउँछन्। तर हाम्रो विश्वविद्यालयमा भने मानविकीले विश्वव्यापी महिमा क्रमशः गुमाउँदै गएको छ। मानव संशाधनको ठुलो हिस्सा मानविकीले पूरा गरेको यथार्थता बिर्सनु हुँदैन। मानविकी नै त्यस्तो एउटा संकाय हो, जसले मानवभित्र रहेको मानवतालाई बुझेर समकालीन समाजमा आफूलाई सामञ्जस्यपूर्ण जीवन जिउन सक्षम बनाउँछ।
यसकारण मानविकीको बहुआयामिक महत्त्वलाई जोगाइराख्न दृढ इच्छाशक्तिका साथ देशको बौद्धिक वर्गले दबाब दिनु जरुरी छ। मानविकीको महत्त्व र यसको गहिराइ त्यसले मात्र राम्रोसँग बुझ्न सक्छ, जसले यसलाई नजिकबाट अध्ययन अनुसन्धान गरेको छ। कला–साहित्य, संस्कृति, दर्शन, तर्कशास्त्र, मनोविज्ञान, अर्थशास्त्र, राजनीतिशास्त्र जस्ता विषयले मानवीय मूल्यमान्यता, परम्परा, संस्कृति एवं मानिसभित्र भएका सम्भाव्यतालाई एकीकृत गराई मानवबीच एकता गराइदिन्छ। मानिसलाई सृजनशील, संवेदनशील, तार्किक एवं कल्पनाशील बनाउन मानविकीले खेल्ने भूमिकालाई विर्सनु हुँदैन। आजको चरम उपयोगितावादी संस्कृतिको प्रभावले मानविकीका विषयहरू प्रभावहीन बन्दैछन्।
विश्वविद्यालयका तथ्यांकहरूले पनि मानविकी संकायका कतिपय विभाग बन्द भइसकेको देखाएको छ। कतिपयमा अत्यन्तै न्यून विद्यार्थी भर्ना भएका कारण मर्जरमा जाने तयारीमा छन्। यो सबैको दोष देशको उच्च शिक्षाको नीतिनिर्माताले लिनुपर्ने देखिन्छ। किन विश्वविद्यालयका पदाधिकारीहरू मानविकीको घट्दो साखलाई जोगाउन आतुर देखिँदैनन् ? मानविकीको साख घट्नुमा एउटा÷दुईवटा कारणमात्र छैनन्। यसमा सबैको दोष देखिन्छ। समयमा पाठ्यक्रम परिमार्जन नहुनु, शिक्षकलाई पाठ्यक्रमसम्बन्धी अभिमुखीकरण एवं पाठ्यक्रम प्रवोधिकरण नहुनु, पर्याप्त मात्रामा पाठ्यपुस्तक बजारमा नआउनु, तालिम, गोष्ठी, छलफलमा सिकेका कुरा कक्षाकोठामा प्रयोग नहुनु र शिक्षण सिकाइमा उही पुरानै पद्धति (प्रवचन विधि)को प्रयोगले यो संकायप्रति विकर्षण बढ्दो छ।
शैक्षिक योजनाकारहरू आज यो संकायलाई पूरै बेवास्ता गरेर आर्थिक दृष्टिकोणबाट बढी फाइदा पुग्ने विषयप्रति मोहित देखिन्छन्। विद्यार्थी र अविभावकलाई मानविकीको महत्त्व र यसमा प्रयुक्त ज्ञानको व्यापकतालाई बुझाउन नसक्दा यसको महत्त्व क्रमशः घटेको छ। मानवतावाद र मानविकी विषयको महत्त्वलाई झर्लंग पार्न पुनर्जागरण कालमा पश्चिमा जगत्का साहित्यकारहरूले मानवलाई केबल मानवमात्र सीमित नराखी अनन्त सम्भाव्यता बोकेको पूर्ण मानिसका रूपमा चित्रण गरेको कुरालाई बुझाउन सक्नुपर्छ।
मानव हरेक विषयको केन्द्र बिन्दुमा रहेको उनीहरूले व्याख्या गरेका छन्। तर अहिले हाम्रो शिक्षा पद्धतिमा मानविकी पढ्नेभन्दा नाक खुम्च्याउने यसमा कुनै भविष्य छैन भन्ने अवस्था देखिएको छ। पढिसकेपछि रोजगारी पाउन गाह्रो हुन्छ भन्नेजस्ता नकारात्मक दृष्टिकोणले पनि यसको साख घटेको छ। मानविकीले ज्ञानका हरेक तह र तप्कामा आफ्नो प्रभावलाई पुष्टि गरेको छ। यसको अनुसन्धानको क्षेत्र ज्यादै व्यापक र फराकिलो छ। मानविकी कुनै खास क्षेत्रको खण्डित ज्ञानमा सीमित छैन। यसले सर्वांगीण पक्षलाई समेटेर एकीकृत ज्ञान प्रदान गरेको विषय छर्लंग छ। हिजोका दिनमा विश्वविद्यालयमा अत्याधिक चाप हुने संकायमा पथ्र्यो मानविकी।
देशका लागि एक सबल र दक्ष जनशक्ति उत्पादन गर्ने निकायका रूपमा रहेको यो संकायको साख यसरी खस्कनुमा सम्बन्धित पक्षको चिन्ताको विषय बन्नुपर्छ। यसको आकर्षणलाई अक्षुग्ण राख्न नयाँ विषयहरू थपेर होस् वा प्रविधिमैत्री बनाएर, टिकाउनु जरुरी छ। मानविकीका कार्यक्रमहरू आज किन उपेक्षित र आकर्षणविहीन बन्न पुगेका छन् ? यस विषयका गम्भीर बहस चलाएर उपयुक्त निर्णय लिनुपर्छ। त्रिवि व्यवस्थापकीय पक्ष र प्रशासनिक पक्षले पनि यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने देखिन्छ। विद्यार्थीका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था गरेर पनि विद्यार्थी संख्या बढाउन सकिन्छ। शोध, अनुसन्धान एवं पुनर्ताजगीकरणजस्ता गतिविधि आवश्यक छ। निष्कर्षमा, समग्र त्रिवि नै अस्तव्यस्त भइरहेको बेलामा कुनै एउटा संकाय विशेषलाई मात्र महत्त्व दिनु सान्दर्भिक नहोला। तर पनि राष्ट्रिय मानव संस्शाधन उत्पादनको क्षेत्रमा मानविकीले खेलेको अहं भूमिकालाई भने बिर्सन सकिँदैन।