मनकामनामा जीप दुर्घटना : घाइतेको नाम खुल्यो, मृतकको सनाखत हुन बाँकी
गोरखा : गोरखाको मनकामना सिलिङमा शुक्रबार बिहान भएको दुर्घटनामा परी घाइते हुनेहरुको पहिचान खुलेको छ ।
दुलहा दुलहीसहित सहिदलखन ३ कोटगाउँबाट १९ जना जन्ती बोकेर सहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नंबरको बोलेरो जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान करिब दुई बजे दुर्घटना भएको थियो ।
सडकबाट करिब एकसय पचास मिटर तल खसेर भएको बोलेरो जीप दुर्घटनामा घाइते भएकामध्ये एकजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने १२ जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । दुई जना सकुशल रहेका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए । आफू भर्खर घटनास्थल पुगेकाले मृतकको पहिचान नखुलिसकेको उनले जानकारी दिए ।
घाइतेहरुमध्ये सबैजना सहिदलखन ५ पोखरीडाँडाका रहेका छन् । स्थानीय लालु थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सोही ठाउँ निबासी सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना, प्रतीक रानाको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।