गुणस्तरिय शिक्षा पहिलो प्राथमिक्ता : सामाजिक विकासमन्त्री पोखरेल
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गप्रसाद पोख्रेलले प्रदेश सरकारले गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता दिएको बताएका छन्।
एसओएस बालग्राम सुर्खेतले आयोजना गरेको अन्तर्राष्ट्रिय एसोएस दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले यस्तो बताएका हुन्।
मन्त्री पोखरेलले प्रदेश सरकारले बालबालिकालाई केन्द्रमा राखी नीति तथा योजना निर्माण गर्ने गरेको बताए। उनले भने, 'हामीले हरेक योजना बनाउँदा बालबालिकाहरूलाई केन्द्रमा राख्नुपर्छ। कर्णालीमा अभिभावकविहीन बालबालिकाहरूलाई गुणस्तरिय शिक्षा दिएर उज्वल भविष्य निर्माण गर्न एसओएस बालग्राम सुर्खेतले गरेको काम अनुकरणीय छ।'
एसओएस बालग्राम सुर्खेतसँग सहकार्य गरेर कर्णालीका सबै जोखिममा रहेका बालबालिकाहरूलाई शिक्षाको पहुँचमा ल्याउने उनले बताए।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख निलकण्ठ खनालले बालबालिकाहरूलाई वैकल्पिक गुणस्तरीय स्याहारकाका साथै पारिवारिक सबलीकरण गर्न एसओएस बालग्राम सुर्खेतले ठूलो सहयोग गरेको बताए।
उनले भने, 'एसओएस बालग्राम सुर्खेतले बालबालिकाहरूलाई शिक्षा मात्र नभई समाजमा न्यून आय भएका परिवारहरूलाई आयआर्जन मूलक सीप विकास कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस पवित्र कार्यमा नरपालिकाले पनि सहकार्य गर्नुछ। वीरेन्द्रनगर नगरपालिकाले बनाएको १० वर्षे योजना बमोजिम एसओएस हर्मन माइनर विद्यालयले कार्यक्रम गर्न प्रारम्भ गरेको छ। यसबाट अन्य विद्यालयहरूले पनि सिक्नुपर्ने अवस्था आएको छ।
वीरेन्द्रनगर नगरपालिका पूर्व नगरप्रमुख देवकुमार सुवेदीले एसओएस बालग्राम सुर्खेत कर्णालीको शैक्षिक क्रियाकलाप र सिकाइको केन्द्र रहेको बताए। उनले भने, 'परिवारको महत्त्व कति छ भन्ने कुरा स्वयं भोगिरहेकालाई मात्र अवगत हुन्छ। अभिभावकविहीन भएर जोखिममा रहेका बालबालिकाहरूलाई राम्रो स्याहारका साथै गुणस्तरिय शिक्षाको पनि सुनिश्चितता भएको छ।'
बालग्राम निर्देशक गोपालप्रसाद घिमिरेले सबैको सहयोगले कर्णालीका जोखिममा रहेका बालबालिकाहरूको उज्वल भविष्य निर्माण गर्ने कार्यमा आफूहरू लागिरहेको बताए।
बालग्रामले यस अवसरमा अन्तर विद्यालय हर्मन माइनर ब्याडमिन्टन कप, स्टाफ भलिबल, महिला स्टाफ बास्केट बल, पुरुष टेबल टेनिस, पूर्व विद्यार्थी शिक्षक फुटबल, आमा आन्टीहरूको हाजिरजवाफ, बालबालिकाको कक्षागत खेलहरू चेस, क्रिकेट फुटबल लगायतका मनोरञ्जनात्मक खेलहरू पनि आयोजना गरेको थियो।