काठमाडौं : हेर्दा बच्चाको खेलौनाजस्तो पाना। यसमा टाँसिएको छ, ससाना प्लास्टिक स्टिकर। एकै पानामा सयौं स्टिकर अटाउने। हेर्दा जति साना छन् यी स्टिकर, काम भने उत्तिकै कडा गर्छन्। यी स्टिकर कुनै खेलौना होइन, लागूऔषध एलएसडी हो। यो नेपालमा पहिलोपटक ठूलो मात्रामा बरामद भएसँगै यसको रहस्य प्रहरीले खोलेको छ।
प्रहरीले १० हजार १ सय ३० पिस एलएसडीसहित ५ जना विदेशी र १२ जना नेपालीलाई पक्राउ गरेसँगै यसको रहस्य खुलेको हो। यसको प्रत्येक स्टिकर बजारमा दुई हजारमा बिक्री हुन्छ। लागूऔषध अम्मलीले यसलाई उक्काएर जिब्रोको मुनि राख्छन्। मुखमा केही खाएको छु भन्ने महसुस नै हुन्न। प्रहरी अधिकारी भन्छन्, ‘निकै छिटो समयमा यी स्टिकरमा भएको लागूऔषधले मानिसलाई लठ्ठयाउँछ। झमझम बनाउँछ।’
कोरोना महामारीको लकडाउनपछि नेपाली बजारमा एलएसडीको कारोबार बढेको प्रहरीको अनुसन्धानले देखाएको छ। ठूलो मात्रामा यो लागूऔषध इटालियन नागरिक डेभिड मिनाडियाबाट बरामद भएको छ। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले उनलाई यही असार ६ गते ठमेलको सातघुम्तीमा रहेको रेस्टुरेन्टबाट पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता चक्रराज जोशीका अनुसार डेभिड पछिल्लो दुई वर्षमा ४÷५ पटक नेपाल र भारत आवत्जावत गरेको देखिन्छ। उनले स्थलमार्ग हँुदै एलएसडीलाई नेपाल ल्याएर बिक्री गर्ने गरेको खुलेको छ। उनको साथबाट एम्फेटामाइन, चरेस र विदेशी रुपैयाँसमेत बरामद भएको छ।
प्रवक्ता जोशी भन्छन्, ‘उनीसँग कारोबार गरिरहेका केही नेपालीहरूमाथि प्रहरीले निगरानी गरिरहेको छ। नेपाली नागरिककै सहयोगमा उनले भारतीय बजारबाट एसएसडीलाई नेपाल भित्र्याएको देखिन्छ। यो स्टिकर हेर्दा लागूऔषध हो भन्ने नै लाग्दैन। सामान्य कागजको पानाजस्तो देखिन्छ। यसकारण पनि उनी यसअघि नेपाल आउँदा जोगिएको हुन सक्छ।’ लागूऔषध नियन्त्रण ब्युरोका अनुसार पछिल्लो केही दिनमा देशभर लागूऔषध कारोबार गर्ने कार्यमा संलग्न भएको कसुरमा १२ जना प्रहरी नियन्त्रणमा परेका छन्।
पक्राउ परेका १२ जनाबाट प्रहरीले ३.७ ग्राम कोकिन, १०० ग्राम खैरो हिरोइन, ४०.८५ ग्रामको एम्फेटामाइन, ६ केजी ८६० ग्राम चरेस, १० हजार १ सय ३१ पिस एसएसडी, ४ केजी ७ सय ५० ग्राम गाँजाको धुलो, १६ बोतल कोडिन पनि बरामद गरेको छ। उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूले प्रहरीले लागूऔषधसहित नियन्त्रणमा लिएको हो। बरामद भएको लागूऔषधको बजार मूल्य २ करोड ३३ लाख १५ हजार २ सय ५० रुपैयाँ छ।
पक्राउ पर्नेमा भारत बिहारका हेमन्तकुमार भगत, जर्मन नागरिक पल वे्रस्ट, चितवनका महेश चौधरी, काठमाडौंका सुगम मैनाली, काठमाडौंका मुखिया गुरुङ, विराटनगरका राज गौतम, चेक रिपब्लिकका मार्टिन सेरेना, धादिङका दावा तामाङ र नरबहादुर तामाङ, झापाका सुमन लिम्बू रहेका छन्।