नेपालका ऋषिमुनिहरूले आफ्नो त्याग र तपस्याबाट आर्जेको धार्मिक शक्तिपीठहरूद्वारा देशको पहिचान छ। त्यसैले यिनको रक्षाका निम्ति सरकार चुक्नु हुँदैन।
थुम्को वा टाकुराबाट उपत्यकाको मनोरम दृश्य अवलोकन गर्ने स्थानमा रहेको संस्कृतिको धरोहर चाँगुनारायाण मन्दिर विश्व सम्पदा सूचीमा सन् १९७९ मा सूचीकृत छ। नेपाल विश्वमा यस्तै पहिचान बोकेको देश हो, जहाँ सयांै पहिचानयुक्त पुराताŒिवक सम्पदाहरू छन्। विश्व सूचकांकमा यसको गर्विलो इतिहास छ। गोपाल वंशावलीमा उल्लेख भएअनुसार चाँगुनारायण पूर्वलिच्छविकालमा राजा हरिदत्त बर्माले बनाएको भनेर उल्लेख छ।
लिच्छविकालमा उनले उपत्यकामा चार नारायण इचंगुनारायण, बिशंखुनारायण, शेषनारायण र चाँगुनारायणको निर्माण गरे। ‘च’ भनेको ‘चप्पा’ र ‘गु’ भनेको ‘वन’ भन्ने हुन्छ। बोलीचाली र भाषा अप्रभंश हँुदै जाँदा चाँगुनारायण भन्न थालिएको हो। राजा हरिदत्त बर्मा दोस्रो र तेस्रो शताब्दीमा काठमाडौं उपत्यकाको राजा थिए। चाँगुनारायण मन्दिर नारायणको अवतारमा भगवान् विष्णुलाई समर्पित दुइटा छाना भएको मन्दिर हो।
गोपालराज वंशावलीबाहेक अन्य इतिहासकारले लिच्छवि वंशको नाम उल्लेख गरेका छैनन्। अन्य इतिहासकारले यसलाई सूर्यवंशी र चन्द्रवंशीको रूपमा मात्र उल्लेख गरेका छन्। तर, नेपालमा प्रारम्भिक लिच्छवि वंशले शासन गरेको अनगिन्ती लिखित प्रमाणबाट थाहा हुन्छ। स्रोत सामग्रीको अभावका कारण लिच्छवि अघिको नेपालको इतिहास अन्धकारमय काल नै रहन्छ। इतिहासकार कर्कपाट्रिकका अनुसार लिच्छविहरूले किराँतहरूलाई पराजित गरेर नेपालमाथि आफ्नो शासन सुरु गरे भनी लेखेका छन्।
पहिलो शिलालेख मानदेवको
नेपाली इतिहासको इसाई युगको प्रारम्भिक वर्षदेखि आठ शताब्दीको अन्त्यसम्मको अवधि लिच्छविकाल मानिन्छ। क्रिप्सनल आधारमा लिच्छविहरूले ईस्वी पाँचौं शताब्दीदेखि नेपालमा शासन गरेको पाइन्छ, आठौं शताब्दी ईस्वीको अन्तिम चौथाइसम्म। चाँगु स्तम्भको शिलालेख र जयदेव द्वितीयको पशुपति शिलालेखमा लिच्छवि शासकहरूको वंशावली समावेश छ। र, यसले नेपालका प्रथम ऐतिहासिक शासक मानदेवका पूर्ववर्तीहरूको लामो इतिहासलाई उजागर गर्छ। नेपालको इतिहासमा पहिलोपटक मानदेवले शिलालेख जारी गरेका थिए। उनले पहिलो लिच्छवि सिक्का ‘मनका’ जारी गरे। र, उनको नामको सम्झनामा मानव विहार निर्माण गरे। त्यो नै लिच्छवि शक्तिको केन्द्रबिन्दु बन्यो। उनको शासनकालमा १४ शिलालेख जारी भएका थिए। त्यो शिलालेख मिति संवत् ३८६ तिरको हो। जसका अनुसार उहाँ धर्मदेवका पुत्र, शंकरदेवका नाति र वृषदेवका नाति हुन् भनी प्रमाणित गरेको छ।
ऋषिकेश शाहको ‘एन्सेन्ट एन्ड मेडिएभल’ सन् १९९२ को प्रकाशित पुस्तकमा उल्लेख भएका तथ्यलाई आधार मान्ने हो भने मानदेवको समय सम्बत् ३८६–४१३ (ई.सं. ४६४–५०५) सम्मलाई लिइएको छ। राजा मानदेवको अभिलेख जसलाई प्रमाणिक अभिलेख मानिन्छ। जसमा उनले पश्चिम नेपालका सामन्त र मल्लपुरीलाई लडाइँमा हराई त्यहाँबाट आर्थिक संकलन गरेको र चाँगुनारायण मन्दिरलाई दान चढाएको पाइन्छ। अनि, विजय उत्सव मनाई १०८ जना ब्राह्मणलाई जग्गा र सम्पत्ति दान गरेको कुरा उनको शकसम्बत् ३८६ को अभिलेखमा कुँदिएको छ। मल्लकालमा नेपाल सम्बत् सोभन्दा अघि शकसम्वत् र राणाकालमा विक्रम सम्बत् चलेको इतिहास भेटिन्छ।
चम्पक नारायणबाटै चाँगुको इतिहास
शकसम्बत् ३८६ कै अभिलेखमा उनले आफ्नो वंशावली भनी बुवा धर्मदेव, बाजे वृषदेव र जिजुबाजे शंकरदेव हुन् भनी उल्लेख गरेका छन्। वंशावलीनुसार उनीहरूको आफ्नै रीतिरिवाज धर्म, कर्म र कार्यविधि हुन्थे। सोहीअनुसार आफ्नो कामकाजमा लागि पढ्थे। जिजुबाजे शंकरदेवले यस्तो थिति बसालिदिए। यसको हस्ती वा भावी जिम्मेवार सन्तानमा जाने र उनैले यसको रक्षा गर्ने वातावरणको सिर्जना गरिदिए। उनले आफ्ना भाइभारदार नातागोतालाई पनि त्यसैका बारेमा जिम्मेवारी दिए। त्यसैअनुरूप बाजे वृषदेवले त्यो अवस्थालाई आत्मसात् गर्दै अघि सारे। अनि, त्यो हँुदाहँुदै बुवा धर्मदेवले पनि आफ्ना क्रियाकलापलाई सोहीअनुसार अघि बढाउँदै लगे।
चाँगुनारायणलाई प्राचीन कालमा चम्पकनारायण भनिन्थ्यो। सोही मन्दिरका कारण चाँगुको इतिहास रहेको तर्क इतिहासकार बाबुराम आचार्यको छ। चाँगुनारायणको मन्दिर मूलतः लिच्छवि वंशको समयमा दोस्रो शताब्दीमा बनेको थियो। यो वि.सं. १७०२ मा ठूलो आगोपछि पुनर्निर्माण गरिएको थियो। यो मन्दिर काठमाडौं उपत्यकाका चार नारायण मन्दिरमध्ये एक हो। चार मुख्य दिशामा उभिएका यी मन्दिरहरू लिच्छवि राजा विष्णु गुप्तको शासनकालमा बनेको मानिन्छ।
चाँगुनारायणको दैवी शक्तिको रूपमा लक्ष्मी र सरस्वतीलाई मानिन्छ। किनभने यिनीहरू ज्ञान र धनकी महिमा हुन्। यिनको आराधनाले नै मानवमा हरेक कुरा सम्भव हुन्छ भन्ने धार्मिक विश्वास गरिन्छ। जहाँ शक्ति छ। जहाँ ज्ञान छ। भक्तिभावद्वारा ज्ञानको मूल फुटाउन सकिन्छ भन्ने धार्मिक विश्वास नेपाली समाजमा पाइन्छ। मन्दिरको मूल ढोकाको अगाडि रहेको शिलालेखमा नेपाल सम्बत् ८१४ उल्लेख छ। सो अभिलेखमा १७औं शताब्दीको अन्त्यतिर राजा भूपालेन्द्र मल्लले राजकाजको बेलामा ऐतिहासिक वस्तुको संरक्षण गर्ने उद्देश्यका साथ मन्दिरको जीर्णोद्धार गर्न लगाइएको उल्लेख गरिएको तथ्य त्यहाँ भेटिन्छ। उक्त स्थानमा राजा भूपालेन्द्र मल्ल र आमा ऋद्धिलक्ष्मी मल्लको हात जोडेर बसेको मूर्ति देखिन्छ।
मन्दिरबारे किंवदन्ती
प्राचीन कालमा चाँगुनारायण घना जंगलले घेरिएको थियो। जहाँ पशुबस्तुहरू चरण गर्थे। साथै जंगली जनावारहरूको बसोबास गर्ने थलो थियो। नेवार थरका गोठाला थिए। जसले आफ्नो गाईको दूध एकजना ब्राह्मणकहाँ दैनिक लैजाने गर्थे। गाईले एक्कासि दूध दिन छोडेपछि गोठालो (ग्वाला) अचम्ममा परेर। के भयो ? किन यस्तो भयो ? भनेर गाईको पिछा गर्न थाल्यो।
गाईको दैनिकी बुझ्दै जाँदा गाईले जंगलको एउटा रुखमुनि आफ्नो कल्चौडाबाट दूध चढाउने गरेको भेटे। त्यसपछि उनको मनमा शंका पैदा भयो। किन यसो भयो ? त्यो कुरा उनले ब्राह्मणलाई बताए। ब्राह्मणले ग्वालालाई त्यो रुख काट्न लगाए। रुख काट्दा रुखबाट एक्कासि रगतजस्तो देखिने रातो वस्तु आउन थाल्यो। र, उक्त रुख विष्णु भगवान्ले गर्ने क्रियाकलाप जस्तै गरेर विष्णु भगवान्को अवतारको रूपमा देखा प¥यो। त्यो कार्य ब्राह्मणले देखे र उनले भने, ‘यो रुख होइन, विष्णु भगवान्को शिर हो। त्यो शिर हामीले काटेको हुनाले रगत आएको हो। यो रुख नभई विष्णुको अवतार हो।’ तश्पश्चात् भगवान्को स्वरूप चाँगुनारायण मन्दिरको स्थापना गरिएको कुरा १६औं शताब्दीको हिमवत्खण्डको पाठ ७ मा उल्लेख छ।
अर्को किंवदन्ती अनुसार, पाँचौं शताब्दीको अभिलेखमा राजा मानदेवले ‘डोलाद्रीका हरि’ भनी लेखिएको छ। उक्त अभिलेखमा शिवपुरीको शिरको भागलाई मृगेन्द्र शिखर भनिएको छ। चाँगुनारायणको डाँडालाई कुनै पनि नाम दिएर उल्लेख गरेको भेटिँदैन। पाँचांै शताब्दीमा उल्लेख भएअनुसार एक समय दानव र भगवान्बीच युद्ध भयो। त्यसबेला विष्णु भगवान् त्यस डाँडामा लुकेको र त्यो कुरा दानवले थाहा पाई डाँडा हल्लाएको हुँदा डोलागिरी नामकरण गरिएको हो भन्नेको जमात पनि छ। नेवारी भाषामा डोला भनेको हल्लाउनु हो, गिरी भनेको अचल वस्तु। मुख्यतः दुई किंवदन्तीका आधारमा चाँगुनारायणको परिभाषा गरिएको छ।
छिन्नमस्ता मन्दिर
चाँगुनारायण मूल मन्दिरको पूर्वदक्षिणपट्टिको भागमा रहेको मन्दिर छिन्नमस्ता महादेवको हो। पौराणिक अभिलेखअनुसार छिन्नमस्ता मन्दिर लिच्छवि कालभन्दा अघि नै बनेको र उक्त मन्दिरमा ३/४ वटा देवीका मूर्तिहरू ई.पू. पहिलो शताब्दीको मानिन्छ।
विष्णु भगवान्ले शिवको खुबै आराधना गरेपश्चात् शिवको प्रकट भई चार किल्ला गाढे। दानवले ती किल्ला हल्लाउन सकेनन्। फेरि शिवमाथि आक्रमण गर्दा शिवले पार्वतीको आराधना गरे। उक्त दानवलाई कुनै पनि पुरुषले मार्न नसक्ने वर पाए। पार्वती उपस्थित भई आफ्नो शिर छेदन गरिन्। त्यसैको नामले छिन्नमस्ता मन्दिर स्थापना भएको पौराणिक कथा छ। भूतप्रेतहरूलाई रगत खुवाई उक्त दानवलाई मारेकाले शिर छेदन गरेबापत छिन्नमस्ता नामकरण गरिएको तथ्य भेटिन्छ।
किंवदन्तीअनुसार १७औं शताब्दीमा एकपटक पाँच जनाले खड्कद्वारा सयांै दानवलाई परास्त गरे र बलि चढाए। त्यसकारण उक्त नाम दिएको हो भन्नेहरू पनि छन्। यो मन्दिर पूर्णरूपमा छिन्नामस्ता देवीलाई समर्पित छ। चाँगुका बासिन्दाले उनलाई देवी कालीको स्वरूपको रूपमा सम्मान गर्छन्। उनको अस्तित्व पुरातन समयभन्दा पहिले रहेको मानिन्छ। उनी तान्त्रिक देवी भएकाले यज्ञ स्वीकार गरिन्। तर, उनको त्यागको कारणले देवीको रूपमा पनि मान्ने गरिन्छ।
अर्को किंवदन्तीअनुसार हिंस्रक डाकिनी र वर्णिनीलाई खुवाउन आफैंलाई काटेको भन्ने पौराणिक कथा पनि छ। उनको हरेक छविले त्यो एपिग्राफिक कथा देखाउँछ। जहाँ उनले आफ्नो टाउको एक हातमा राख्छिन्। र, अर्कोतर्फ स्किमिटर। साथै, उनको घाँटीबाट रगतका तीनवटा थोपा निस्किए। डाकिनी, वर्णिनी र आफूलाई उनले त्यो रगत खुवाउँछिन्। फलस्वरूप मानवको रक्षा गर्छिन् भन्ने विश्वास छ। मन्दिरमा एउटै छाना छ। जसको अगाडि दुई साना तलेजु घण्टी छन्। ढोकाको दुवै छेउमा दुइटा झण्डा र अभिभावक छन्।
किलेश्वर महादेव
प्राकृतिक शिवलिंग जल्लरीजडित मन्दिर हो। राजा अंशुबर्माले लिच्छविकालीन सुनको अभिलेखमा यो मूर्ति जीर्ण भएकाले मैले यो मूर्तिमा नयाँ सुनको कवच चढाएँ भनी लेखेको पाइन्छ। यसले राजकाजमा बसेकाहरूले धर्मकर्ममा कतिको विश्वास गर्दा रहेछन् भन्ने गतिलो उदाहरण हो यो। यस मन्दिरको विशेषता भनेको लिच्छविकालीन राजाका दुई सय वटा अभिलेख छन्। ती अभिलेख काठमाडौं उपत्यकामा भेटिएका हुन्। जसमध्ये ७ वटा यसै मन्दिर परिसरमा छन्।
इतिहासलाई आधार मान्ने हो भने १७औं शताब्दीमा काठमाडौं र भक्तपुरबीच यस ठाउँलाई अधीनमा लिन लडाइँ परेको थियो। त्यतिबेला यो ठाउँ ल्हासासँग व्यापार गर्न सजिलो थियो। १७औं शताब्दीमा पोर्चुगलले भारत कब्जा गर्दा यस मन्दिरमा पनि लडाइँको तयारीका लागी बनाइएका एक सयभन्दा बढी खुँडा र तरबार छन्। ती हातहतियारले नेपाली कला, संस्कृति र धार्मिक आभास बोकेको पाइन्छ। तिनको बनोट नितान्त फरक देखिन्छ। आफ्नै शैली, ढाँचा र आकृतिका छन् ती। जहाँकहीँ सजिलै उपलब्ध नहुने गरी निर्माण गरेको पाइन्छ। वि.सं. १९३४ मा रणोद्दिप सिंह (जंगबहादुरको भाइ) का पालामा यो मन्दिरको चौघेरा बनाइएको हो। त्योभन्दा अघि गढी र किल्लामात्र थिए।
पहिले चारवटा ढोका रहेका थिए। मूलढोका पश्चिमतर्फ १०८ खुड्किला रहेको (प्राचीनद्वार ग्राम ढोकासम्म) छ। हाल त्यो १०८ खुड्किलामा सर्वसाधारणका लागि ढुंगामा कुँदी बनाएको पाइन्छ। त्यसले के जनाउँछ भने त्यस बेलाका कलाकारसँग वैज्ञानिक ज्ञान र त्यसको प्रयोग कसरी गर्न सकिन्छ भन्ने जानकारी थियो। मन्दिरको पूर्वतर्फबाट प्रवेश गर्नुभन्दा पहिले त्यहाँ
मुख्यतः रैथाने दुई जातिको बसोेबास देखिन्छ। ती समुदायमा भट्ट र नेवार पर्छन्। उक्त बस्ती हिँडेर सकिएलगत्तै गेटबाट छिर्नेबित्तिकै गणेशको मन्दिर देखिन्छ। उक्त मन्दिरको शिलालेखमा राजा आनन्ददेवले चाँगुनारायणलाई खुसी पार्न कृष्णको मूर्ति राखेको भन्ने उल्लेख छ।
राजाले भगवान्प्रतिको आस्था कति र कस्तो राख्दा रहेछन् भन्ने कुरा यी सन्दर्भबाट जानकारी हुन्छ। यो सानो र दुईतले मन्दिरलाई किलेश्वर महादेवको मन्दिर भनिन्छ। यस मन्दिरलाई मानिस प्रायः पशुपतिनाथको मन्दिर भन्ने गर्छन्। पहाडको रक्षाका लागि भगवान् शिवले त्यहाँ बसोबास गर्ने जनविश्वास छ। चाँगुनारायण मन्दिरसँगै भएकाले यो मन्दिर पनि निकै पुरानो कला र वस्तुकलाले भरिपूर्ण देखिन्छ। झ्यालको पछाडिको भाग र माथिल्लो भागले सुन्दर मन्दिरको पहिचान दिन्छ। ५३१ काठका टुक्रा र ४२२ जोइन्ट र सात टन सालको काठ प्रयोग गरी यो मन्दिर बनाइएको छ। यसरी किलेश्वर महादेव इतिहासमा उल्लेख छ।
चाँगुनारायणको मुख्य आकर्षण
चाँगुनारायण मन्दिरको मुख्य आकर्षण भनेको कलात्मक रूपमा कँुदिएका काठकला र यसको आकृति हो। नारायणको अवतारमा भगवान् विष्णुलाई समर्पित दुइटा छाना भएको मन्दिर हो। मन्दिरलाई नारायणका दस अवतारले सजाइएको छ। सदियौं पुराना ढुंगाको सिंहले मन्दिरको चारै ढोकाको रक्षा गर्छ। गरुड, आधा मानव र आधा पक्षी भएको यो मन्दिरको आकर्षण हो। गरुडको जीवन आकारको ढुंगाको मूर्ति मन्दिरको पश्चिम मुखको अगाडि घुँडा टेकेको त्यसको अर्को पहिचान हो। मूर्तिको पछाडि शिलालेख छ। शिलालेखले लिच्छवि वंश र काठमाडौं उपत्यकाको इतिहासमा महत्त्वपूर्ण जानकारी दिन्छ। मन्दिरको मुख्य प्रवेशद्वारको अगाडि अलंकृत पिँजरामा राजा भूपालेन्द्र मल्ल र उनकी रानीको जोडा मूर्तिहरू छन्।
मन्दिरको उत्तरमा गरुडमा विराजमान विष्णुको मूर्ति छ। यो मूर्तिकला नवौं शताब्दीतिरको हो। यो पनि मन्दिर क्षेत्रभित्रको अर्को आकर्षण हो। मन्दिरको साँचो र रत्न आँगन वरिपरि बिन्दु भएका धेरै पुराना मूर्तिकला छन्। आधा पुरुष र आधा सिंह अवतारमा रहेको नृसिंह नामको विष्णुको मूर्ति याद गर्न छुटाउन नहुने अर्को आकर्षण हो। यो मूर्ति ४६४ ईस्वी संवत्मा स्थापना गरिएको हो। अर्को मूर्तिले विक्रान्त ब्राह्मणको रूपमा विष्णुलाई देखाउँछ। ६ हातधारी बौना मूर्तिपछि विशालमा परिणत भयो भनिन्छ। यी तस्बिरहरूको छेउमा एउटा सानो कालो ढुंगाको स्ल्याब छ। जसमा १० टाउको र १० हात भएको विष्णु देखाइएको छ। सुन्दर तरिकाले नक्सांकन गरिएको छ। यो १७०० वर्ष पुरानो हो। चाँगुनारायण मूर्ति र मूर्तिहरूको संग्रहबाट परिचित भए तापनि चाँगुनारायण काठ, ढुंगा र धातुका सुन्दर शिल्पका लागि पनि उत्तिकै प्रसिद्ध छ। त्यहाँ कपडा र कागजजस्ता केही सामग्रीमा मानव, जनावर, फूल, चरा र पौराणिक आकृतिहरूको आकारमा चित्र कोरिएका भेटिन्छन्। यिनीहरू नै चाँगुनारायणको मुख्य आकर्षण हुन्।
भट्ट परिवारको इतिहास
नेपाल सम्बत् ७७९ मा कर्णनाटकबाट पशुपतिनाथका पुजारी शिवनारायण भट्ट नेपालमा आएका थिए। पशुपतिनाथको पूजा गर्न आएका उनले पशुपतिनाथ हुँदै किलेश्वर महादेव, साँखुको ज्योति लिंगेश्वर महादेवको पूजा गर्ने गरी पुजारीको लालमोहोर पाएका थिए। सो लालमोहोर कान्तिपुरका राजा भुपालेन्द्र मल्लले दिएका थिए।
सुवर्णपत्र, दानपत्र र ताडपत्र (बाँसको चोयामा लेख्ने) र लालमोहर गरी दक्षिण ब्राह्मणलाई दानपत्र दिएको देखिन्छ। नेपाल सम्बत् ८११ मा किलेश्वर महादेव र ८१५ साँखु ज्योति लिंगेश्वर महादेवलाई कसैले पनि खोस्न नपाउने गरी लालमोहर दिएको देखिन्छ। पुजारीको बीचमा झगडा परेमा राजाले किनार गर्ने गरी उक्त दानपत्र दिएको इतिहास छ। पशुपतिनाथको खान्की (तलब स्वरूप) गरी किलेश्वर महादेवलाई दिइएको वंशावलीमा पनि उल्लेख गरिएको छ।
मोहनप्रसाद खनालद्वारा लिखित चाँगुको इतिहास नामक पुस्तकमा यो कुरा उल्लेख गरिएको पाइन्छ। उक्त पूर्ण दस्तावेजमा भट्टहरूको इतिहास भन्ने किताबमा पनि लेखेको भेटिन्छ। नेपाल सम्बत् ८५५ मा पशुपतिनाथको पुजारी कृष्ण भट्टलाई कान्तिपुरका राजा जयप्रकाश मल्लले ल्याएको पाइन्छ। पछि पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको बेला एकीकृत गर्न सजिलो होस् भनी भट्टहरूलाई चाँगुमा बसोबास गर्न लगाएको इतिहास छ। त्यसबेलादेखि कृष्ण भट्टका छोरा गणपति भट्ट, उनका छोरा हिमानन्द भट्ट र उनकी छोरी प्रणापति भट्ट किलेश्वर महादेवका पुजारी भएका थिए। प्रणापतिको विवाह भएलगत्तै हाल किलेश्वर महादेवकी पुजारीमा रघुनाथ भट्टकी आमा प्रणा भट्ट कार्यरत छन्। यसरी चाँगुनारायणमा भट्ट परिवारको इतिहास रहेको पाइन्छ।
पाँच हजार वर्षको नेवारी इतिहास
जब चाँगुनारायणको उत्पत्ति भयो। त्यसबेला त्यहाँ नेवार थरका ग्वालाहरू थिए। ती ग्वाला नै कालान्तरमा चाँगुनारायणसँग सम्बन्धित भई उत्पत्तिकालदेखि नै हालसम्म नेवार समुदाय नै यस स्थानमा बसोबास गर्दै आएको हो भन्ने गरिन्छ। नेवार जाति होइन, सुमदाय हो। यहाँ ब्राह्मण, वैश्य, शुद्र जातिहरूको बसोबास हुँदै आएको छ। चाँगुनारायणमा झन्डै पाँच हजार वर्षदेखि नै यी जातजाति यस स्थानमा बसोबास गर्दै आएको तथ्य भेटिन्छ। भगवान् कृष्ण नेपाल प्रवेश गरेदेखि नै ती ग्वालाहरू उहाँको दर्शन गर्न गएका थिए भन्ने किंवदन्ती पनि छन्। नेपाल महात्म्यमा उल्लेखित ब्राह्मणहरूले गाई पाल्थे र नेवारहरू पनि चाँगुनारायणको वरपर बस्थे भन्ने पाइन्छ।
विश्व सम्पदा सूचीमा सूचीकृत
चाँगुनारायण आफ्नै विशेषताका कारणले विश्व सम्पदा सूचीमा पर्न सफल भएको हो। यसको मुख्य कारण धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक र कलाकृतिले भरिपूर्ण हुनु हो। नेपालको पहिचान झल्काउने सबैभन्दा पुरानो मन्दिर पनि यही हो। जहाँ राज्य सत्तादेखि कला र संस्कृतिको उद्गम स्थान भएकाले यसको महŒव बढी भएको पाइन्छ। अर्को मुख्य कारण भनेको वर्षमा लाग्ने मुख्य दुई मेला र जात्राका कारणले पनि विश्वको ध्यान खिचेको हुनुपर्छ। मेलामा भिन्दै खालको नागपञ्चमी, कृष्णाष्ठमी, तिज, कुम्माड, नवामी, हरिबोधिनी, एकादशी, पूर्णिमा, माघशुक्ल द्वादशी आदिमा मेला लाग्ने र कला संस्कृति भिन्नै भएकाले पनि यो मन्दिर विश्वका भक्तजनहरूको आकर्षणको केन्द्रबिन्दु हुने गर्छ।
मुख्य जात्रा वैशाख महिनामा हुन्छ। चाँगुनारायण, किलेश्वर, छिन्नमस्ताका खटहरूद्वारा जात्रा गरिन्छ। ती जात्राहरू सात दिनसम्म सञ्चालन हुने गर्छन्। खट बोकेर मन्दिर परिक्रमा गर्ने र पूजापाठ गर्ने गरिन्छ। भक्तजनहरूले भाकल गरेअनुसार देवीको पूजा खटमा नै गर्ने चलन छ। किलेश्वर महादेवमात्र नभई काठमाडौं जिल्लाका इन्द्रायणी, ब्रह्मखेल, डाँछी, थली, नयाँगाउँ र आलपाटे आदि स्थानमा चाँगुबाट देवीको खट लगेर जात्रा सुरु गरिन्छ।
प्राचीन जातिहरू दुई भागमा विभाजन भएर जात्राहरूमा सहभागी हुने चलन छ। ब्राह्मण राजोपाध्यायहरू र पुजारी भँडेल (ग्वालहरू) यी समूहहरू हुन्। यी दुई समुदायबीच अविछिन्न रूपमा सदियौंदेखि सहसम्बन्ध चलिआएको पाइन्छ। मन्दिरका मूल पुजारी चक्र धरानन्दका अनुसार चाँगुनारायणको मुख्य अर्को रोचक कुरा के छ भने, यहाँ पूजा गर्न कुनै पनि जुठो लाग्दैन। यतिसम्म कि आफन्तको मृत्यु हँुदा पनि यहाँका पुजारीले पाठपूजा गर्नै पर्ने हुन्छ। यी र यस्ता विशेषताले चाँगुनारायण विश्व सम्पदा सूचीमा सूचीकृत भएको पाइन्छ।
भरिपूर्ण भएर पनि ओझेलमा
पुर्खाले सञ्चय गरी राखेका अद्भुत वस्तुहरूको अध्ययन गर्ने हो भने युवा पिँढीलाई त्यसतर्फ लाग्न उत्प्रेरित गर्छ। त्यस्तै सम्पदाको निर्माण गर्न प्रेरित गर्छ। तिनको संरक्षण, संवद्र्धनतिर लाग्नु आजको आवश्यकता पनि हो। दलाई लामाले चीन छोड्दा भनेका थिए, म चीन छोड्दा पनि, जहाँ भए पनि जता गए पनि मेरो संस्कृति र संस्कार कहिले भुल्ने छैन। यो नै मेरो जीवनको मूल ध्येय हो। यसले के शिक्षा दिन्छ भने संस्कृतिबिनाको मानव समाज र व्यक्ति अपुरो र अधुरो हुन्छ।’
त्यसैले विश्व सम्पदा सूचीमा परेको यसले देशको पहिचान दिलाएको छ, त्यो मन्दिरको संरक्षण गर्नु हामी सबैको दायित्व हो। त्यसका लागि जिम्मेवार निकायले खाका तयार पार्नुपर्ने होइन र ? हामी सबैको ध्यान जानुपर्ने होइन र ? विश्वविख्यात इतिहासका ज्ञाता एचए डेबिटले पनि यही कुरामा जोड दिएका छन्। नेपालका ऋषिमुनिहरूले आफ्नो त्याग र तपस्याबाट आर्जेको धार्मिक शक्तिपीठहरूद्वारा देशको पहिचान छ। त्यसैले यिनको रक्षाका निम्ति हामी कहीँ पनि चुक्नु हँुदैन। किन हालसम्म राज्यको मूलधारमा यो कुरा ल्याउन सकेनौं ? त्यसको छानबिन र खोज गरौं। चाँगुनारायणलाई विश्वमा चिनाउन नेपाल र नेपाली कहाँ चुक्यौं ? कसरी चुक्यौं ?
स्रोत : चक्र धरानन्द राजोपाध्याय, अनिश भट्टसहित स्थानीय व्यक्तिहरू।
तस्बिर ः नेपाल पर्यटन बोर्ड
तस्बिरहरू ः गोविन्द नेपाली