साहित्यमा फुलेको सिउँडी

समीक्षा

साहित्यमा फुलेको सिउँडी

कवि गोकर्ण मल्लले प्रकृतिका सुन्दर छटासँग, पल्लवित पुष्पसँग, झरना र खोलानालासँग बात मार्दै कविता रचेका छन्। उनका कवितामा आकाश, जून, बादल, फूल, नदी आदिजस्ता बिम्बको बारम्बार प्रयोग भएको छ।

आफ्ना प्रिय सन्तानका लागि एउटा पिताले केसम्म गर्न सक्छन् भन्ने कुराको ज्वलन्त उदाहरण हो यो पुस्तक। जीवनको उत्तरार्धतिर लागेका पितालाई आफ्ना छोराछोरीले हामीलाई हजुरको एउटा कृति उपहार दिनुहोस् अरू केही चाहिन्न भनेपछि सन्तानको इच्छा पूरा गर्न लेखिएको कविता संग्रहको नाम हो सिउँडीको फूल। हाम्रो समाजमा पैत्रिक सम्पत्तिको नाममा जायजेथा जे छ त्यसलाई बाआमाले बाँडेर दिने र छोराछोरीले त्यो प्रसादको रूपमा ग्रहण गर्ने (अंश) चलन देखेर हुर्किएका हौं हामी।

तर यो किताबमा छोराछोरीले कुशेऔंसीका दिन पिताजीको मुख हेर्ने बेलामा हामीलाई केही चाहिँदैन एउटा कृति लेखेर उपहार दिनुहोस् भनेर मागेको कुरा सरिता मल्लको भूमिका पढेपछि मैंले थाहा पाएँ। भनाइ नै छ नि... सन्तान थरीथरीका। मेरा एकजना पुरुष मित्रले मसँग गरेको गुनासो मैले झलक्क सम्झिएँ। उनले भन्थे; मेरा छोराछोरीले मेरो रचना कहिल्यै सुनिदिएनन्, मैले लेखेको राम्रो नराम्रो भनिदिने मेरो घरमा कोही छैन। साहित्यानुरागी आफ्नो समीपमा नहुँदा त्यो बेला म आफूलाई एक्लो महसुस गर्छु। यो रहस्यमय संसारमा सबैका आ–आफ्नै दुःख छन् बरै।

ती मित्रले यो किताब पढे भने हर्षका आँसु कति बगाउँदा हुन्। चितवन निवासी गोकर्ण मल्लका जस्तै साहित्य बुझ्ने सन्तान प्रत्येक मातापितालाई प्राप्त हुन् भन्ने मेरो कामना छ। तर, एउटा प्रश्नले मलाई अब सधैं खेदिरहने भयो... घरका सबै सदस्य मिलेर लेख्न नघच्घच्याएको भए यी पुस्तक प्रकाशित हुन्थे कि हुन्थेनन् होला। बिचरा, त्यो लेखक हृदयले यो आनन्दको शीतल अनुभूति गर्नै नपाइकन यो संसारबाट बिदा लिन्थ्यो होला... ! 

हेर्नुहोस् न, साहित्यको महकलाई बतासले कताकता उडाइलाने रहेछ। त्यति टाढा बस्ने गोकर्ण मल्लको नाममा यदि कृति प्रकाशित भएका थिएनन् भने, न त मैले उहाँको नाम सुन्थेँ न उहाँले नै मलाई चिन्नुहुन्थ्यो। कवितामा रुचि भएका प्रिय मनहरू सम्झँदै मल्लकृत सिउँडीको फूल मैले पढेँ। यो पुस्तक नपढेका मेरा तमाम् मित्रहरूको लागि मैले तयार पारेको पुस्तक चर्चा उपहारस्वरूप टक्र्याउँदैछु, स्विकार्नोस् ल !

हावाको सुगन्ध, बतासको स्पर्श, पानीको स्वादजस्तै हो कविताको बास्ना पनि। यो बास्ना धेरैलाई मन नपर्न सक्छ। कविता सबैका लागि होइन, बुझ्नेलाई सबैभन्दा मिठो परिकार जस्तो हो कविता। नबुझ्नेलाई शब्दहरूको एउटा थुप्रो मात्र। लेखक गोकर्ण मल्लको अघिल्लो कृति शुभारम्भका पाइलाहरू उत्तिकै सशक्त थियो।

गोकर्णको कविता फाँट पनि त्यत्तिकै मलिलो रहेछ, आख्यानात्मक सिर्जना जस्तै। संग्रहमा २७ वटा कविताहरू छन्। कविता प्रायः लामा छन्। यी कविताहरू स्वच्छन्द किसिमका छन्। कविभित्रका अनेकौं अव्यक्त भावहरू कविता बनेर व्यक्त भएका छन्। यी कतिपय कविताले सन्तानप्रतिको सम्झना, स्नेह व्यक्त गरेका छन् भने आफ्नो धर्म, संस्कृति, दर्शन, नैतिकता, देशको राजनीतिक अवस्था, सामाजिक अवस्था, प्रकृतिप्रेम र राष्ट्रप्रतिको प्रगाढ माया स्पष्ट रूपमा झल्काएका छन्।
 

काव्यात्मक आवाजमार्फत प्रकृतिको अनुपम सौन्दर्यको वर्णन गरिएको एउटा कवितांश यस प्रकार छ :
छन् उज्याला सुन्दर आभा मोहक
नाचिरहेका लयमा मदमस्त
छन् निरन्तर उमंगमा
शिर जुधाई आपसी स्पर्शमा
लहरिन्छ मन रोमाञ्चित हुँदै
देख्दा नाचेका पुष्पहरू हावाका झोकासँगै
कुन शब्द रोजुँ भन्न, कति खुसी तिनीहरू
हराइरहेँ एकान्तमा आफैं बरु
बिर्सेर सबै भयो चंगा
कहाँ छ र शान्ति यहाँभन्दा ??
(बादल भएर घुम्दाघुम्दै)

कथा पढेजस्तो सलल बग्ने, तुरुन्तै बुझिने कविता हुँदैनन्। कवितालाई कविताकै बान्कीमा हेर्न धैर्य चाहिन्छ। जुनसुकै समयमा समाजलाई जगाउन, सचेतना फैलाउन कवितामार्फत नै अनेकौं विचार सम्प्रेषित हुँदै आएका छन्। कविता स्वस्फूर्त प्रकट हुन्छ। यसलाई कुनै सीमा र परिधिभित्र बाँधेर राख्न 
सकिन्न। कवि मल्लका धेरै कविताले नेपाली जनताको आवाज उठाउने काम गरेका छन्। नेपालीले गाँसका निम्ति अन्य मुलुकमा गएर रगत पसिना बगाउँदै पठाएको रेमिट्यान्समा मोज गर्नेहरूका नाममा लेखिएको के मलाई खुसी लाग्छ त ?

समय, काल, परिस्थिति फेरिए पनि आफ्नो मौलिकपन कहिले फेरिँदैन। सूर्य र चन्द्रमाको जस्तै आकाश र धर्तीको पहिचान कहिले हराउँछ र ! साहित्यका धेरै विधाहरूमध्ये मलाई मन पर्ने विधा चैं कविता नै हो। थोरै शब्दमा धेरै अर्थ बुझाइरहेको हुन्छ एउटा अब्बल कविताले। अर्थ नै लगाउन नसकिने कविताले पनि मनमा आफ्नै किसिमको आनन्द दिन्छ। फर्सीको जरा एउटा त्यस्तै रहस्यमय कविता हो। मोहन कोइरालाको यो कविता, देवकोटाको पागल कविता म बुझ्दिनँ तर पनि बेलाबेलामा पढेर बुझेजस्तो गर्दै एक्लै रमाउँछु। मलाई मन परेको एउटा रहस्यमय कविता सिउँडीको फूल कविताको एक अंश –

अझै हाम्रो आकाश एउटै छ भन्ने सुन्दा नी
तिमीप्रति अझै सकारात्मक सोच राख्दछु,
त्यसैले,
तिमी आउँछौ भने
सहरले धरालाई ओढनी दिएझैं
धराले सगरलाई चकटी दिएझैं
मेरो काँडाको तिखो उज्यालो
मेरो पात र फूलका रङ निर्दोषीपन त्यो
उपहारमा दिन्छु तिमीलाई शुभकामना
तिम्रो शुभ होस् भन्दै चढाउँछु मेरो 
फूल शिवलिङमा।

साहित्यकार अझ विशेष गरेर कविहरू धेरै संवेदनशील हुन्छन्। उनीहरू जीवनलाई विविध कोणबाट विश्लेषण गर्छन्। प्रकृतिसँग हाँस्न बोल्न सक्ने भानुभक्त, मोतीराम, माधवप्रसाद, लेखनाथ, देवकोटा... आदि। यी हाम्रा आदरणीय कविहरूका कविताले कसलाई पो नछोलार ! त्यस्ता बेजोड रचनाहरू आजसम्म रौनक छरेर बाँचिरहेका छन्। उत्कृष्ट सिर्जनाको, रचनात्मक कार्यको कुनै न कुनै समयमा अवश्य कदर हुनेछ। जसरी आज हामीले पुराना स्रष्टालाई स्मरण गर्दैछौं। त्यसैगरी भोलिको नयाँ पुस्ताले अब्बल दर्जाका साहित्यिक कृतिको पक्कै चर्चा गर्नेछ।

कवि मल्लले प्रकृतिका सुन्दर छटासँग, पल्लवित पुष्पसँग, झरना र खोलानालासँग बात मार्दै कविता रचेका छन्। उनका कवितामा आकाश, जून, बादल, फूल, नदी आदिजस्ता बिम्बको बारम्बार प्रयोग भएको छ। पहिलो कविता बादल भएर घुम्दाघुम्दै देखिस्तब्ध भएको छु सम्म पढेर ल्याउँदा आफ्नै किसिमको कथ्य, भाष्य र लयमा आधारित लामा कविता धेरै छन्।

प्रकृतिलाई बिम्ब बनाएर लेखिएका अधिकांश कवितामा बन, जंगल, रुख, पात, विभिन्न किसिमका जंगली बोटबिरुवा र अनेकौं किसिमका फूलका नामहरूले गर्दा कतै जंगलमा पो छु कि जस्तो, साँच्चै ती विभिन्न खालका फूलको बास्ना आफंैले सुँघेजस्तो आभाष भएको थियो मलाई। यस्ता कविताले समाजमा प्रकृतिको महत्त्व के कति छ भन्ने कुरा स्पष्ट हुन्छ। बोल्दछ पिपल कवितामा कविले पिपललाई मानवीय जीवनसँग तुलना गरेका छन्। मानिसको जीवनमा इच्छा र सपनाका लहरहरू उठिरहन्छन् एउटा सपना पूरा हुँदैमा मानव चोला शान्त हुँदैन यो ता क्रमशः आइरहन्छ, गइरहन्छ। एउटा पूर्ण भएपछि अर्को सपनाका लागि ऊ तत्पर रहन्छ। त्यसैले त जीवनमा जति हन्डर खाए पनि मान्छे आफ्नो गन्तव्यस्थलतर्फ नरोकिकन लम्किरहेको हुन्छ अन्तिम श्वाससम्म पनि।

साँच्चै मान्छेका सबै सपना कहाँ पूरा हुन्छन् तर पनि भविष्य जहिल्यै आशावादी नै हुन्छ। हामी भोलिको आशामा बाँचेका हुन्छौं, यो आशा टुट्यो भने जीवन रहँदैन। त्यसैले जस्तोसुकै अवस्थामा पनि सकारात्मक सोच बोकेर हामी अगाडि बढ्नुपर्छ। उनका कविताले यी सन्देश छर्छन्।

कवि मन धेरै भावुक हुन्छ रे, सानो कुराले पनि मन विचलित बनाउँछ रे। कवि मल्लको रुन त सजिलो हुँदो रहेछ शीर्षकको कविता पढेपछि कविलाई भन्न मन लाग्यो : रुनु, हाँस्नु पनि जिन्दगीका कथाभित्र आउने हिस्साहरू हुन्। सधैं सुख मात्र भए सुखको अनुभूति कसरी गर्ने, दुःख भोगेपछि पो सुखको महत्व थाहा हुन्छ नि। 

कविलाई रुन सजिलो लागेको कविता थोरै 
हजुरको लागि राख्दैछु–
हाँस्न त सजिलो रहेनछ
बरु रुन पो सजिलो रहेछ
कारण
रुनका लागि चाहिने आँसु न हो
त्यसको मूल त म भित्र छँदैछ
घाउको पाप्राहरू उप्काउनेहरू छँदै छन्
आँखामा धूलो छरिदिनेहरू छँदै छन्
घात–प्रतिघात त कति हो कति
सम्झ्यो कि बलिन्द्र धारा झर्छन् कति
तसर्थ
रुन त सजिलो रहेछ
किनकि
एक्लै कहीँ कतै हाँस्न नहुँदो रहेछ
अँध्यारो–उज्यालोमा एक्लै हाँस्न नहुँदो रहेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.